गगन थापाले भने– अब सडक र सदनबाटै प्रतिपक्षी देखाइदिन्छौँ (भिडियो सहित)
3-February-2019

काठमाडौँ- नेपाली कांग्रेसका सांसद गगन थापाले प्रतिपक्ष देखेर अब सरकार आश्चर्यचकित पर्ने बताएका छन्।

केपी ओली नेतृत्वको दुई तिहाइ समर्थनप्राप्त सरकारविरूद्ध आइतबार संसदमा थापाले प्रतिपक्ष नदेख्ने सरकारलाई अब सडक र सदनबाट प्रतिपक्षी देखाइदिने बताए।

'प्रतिपक्ष देखिएन भनेको होइन? सडक र सदनबाट प्रतिपक्ष कहाँ छ भनेर देखाउँछौं,' सांसद थापाले भने, 'सरकारलाई प्रतिपक्ष देखाएर आश्चर्यचकित बनाउने पालो हाम्रो हो।'

सरकारले आफ्ना नेता गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नामका अस्पताल विघटन गर्ने बाटोमा पुर्यााएर गल्ती गरेको र संसदमा विरोधपछि सरकारले गल्ती सच्याएको थापाले बताए।

'अस्पतालबाट नेताको नाम मेट्न सक्ला तर शान्ति प्रक्रियामा खेलेको भूमिका मेट्ने कसैको आँट छ?,' उनले भने, 'नेताको नाम राख्यो राखेन भन्ने प्रश्न होइन। प्रश्न सरकारको नियतको हो। जहाँ नबोल्नुपर्ने हो, त्यहाँ बोल्छ जे नगर्नुपर्ने हो त्यही गर्छ, सरकारको व्यवहार ठीक ठाउँमा ल्याउँछौं।'

सरकारको अक्षमता र अहंकारले एक पछि अर्को काण्ड र घटना निम्त्याएको थापाको दाबी छ।

कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको घटनामा सरकार असंवेदनशील भएको थापाले आरोप लगाए।

'शान्ति सुरक्षाको संकल्प गरेर आएको सरकार निर्मला बलात्कारपछि हत्यामा यस्तो असंवेदनशील छ। मोरङमा रुकमती दासको सामूहिक बलात्कारपछि हत्या भएको छ। असंवेदनशीलता र गैरजिम्मेवारपन देखाउने सरकारले त्योभन्दा फरक व्यवहार देखाउँछ भन्ने कुराको अपेक्षा गर्न सकिन्न,' थापाले भने।

भेनेजुयलाबारे बोलेर सरकारले नेपालमा नयाँ संकट निम्त्याएको थापाको आरोप छ।

'प्रधानमन्त्रीजी भन्दै हुनुहुन्छ हाम्रो काम देखेर संसार आश्चर्यचकित छ। नेपालीहरूले नबुझ्ने भएर भन्नुभएको होला। तर देशभित्र घुमेर हेर्दा आश्चर्यचकित होइन। यस्तो वितन्त्रावादी तर्क बाक्छलवादी प्रवृत्ति देखेर जनता दिक्क भएका छन्, आक्रोशित भएका छन्,' थापाले भने। प्रधानमन्त्रीले भनेजस्तो देशको अर्थतन्त्रको अवस्था राम्रो नभएको थापाले बताए।

'अर्थतन्त्र संकटउन्मुख भएको छ। लगानी गर्न आउँछु भन्ने मानिस टाप ठोक्दैछन्। सबै व्यापारी उद्योगी निराश भएका बेला प्रधानमन्त्री भन्दै हुनुहुन्छ- धोक्रोका धोक्रो पैसा बोकेर संसार आउँदैछ। वास्तविकता र प्रधानमन्त्रीको कुरा सुनेर जनता आश्चर्यचकित छन्,' उनले भने। प्रधानमन्त्रीले भ्रष्टाचारी देख्दिनँ भनेकोमा पनि जनता आश्चर्यचकित र दिक्क भएको थापाले बताए।

'दायाँ भ्रष्टाचारी, बायाँ भ्रष्टाचारी। विमान किन्दा भ्रष्टाचार, दूरसंचारमा भ्रष्टाचार। यत्रतत्र भ्रष्टाचारी राखेर हेर्दा प्रधानमन्त्रीले म भ्रष्टाचारी हेर्दिनँ भन्दा मलाई डर लाग्न थालेको छ। प्रधानमन्त्रीले ऐना हेर्ने अवस्था बन्द होला!,' उनले भने।

प्रधानमन्त्रीको अनुहारमा दागैदाग भएकोले ऐना हेर्न पनि उनले आग्रह गरे।

'आम जनता चाहन्छन् प्रधानमन्त्रीज्यूले एक पटक ऐना हेर्नुहोस्। अनुहारमा दागैदाग लागेको छ त्यो मेटाउनुहोस्। हाम्रो प्रधानमन्त्री सफा देखिनुहोस्,' उनले भने, 'ऐना अगाडि उभिएर दाग देखिँदै गर्दा प्रधानमन्त्री ऐनाको फोहोर मेटा भन्दै हुनुहुन्छ। सत्य, बम्हा मै हुँ। मेरो अनुहारमा दाग हुन सक्दैन भन्ने प्रधानमन्त्रीलाई छ।'

जनताको आक्रोशलाई सरकारसम्म पुर्याउने जिम्मेवारी प्रतिपक्षको भएकोले आवाज उठाएको उनले बताए।

सरकारलाई दुई तिहाइको दम्भ भएको आरोप उनको छ।

'हामीले दुई तिहाइको दम्भ भन्यौं। तर दुई तिहाइको दम्भ देख्न पाएका थिएनौं। अनाथ अपांगका लागि कानुन बनाउने अवसर प्राप्त भयो संसदमा दुई तिहाइ देखिएन। भूमिहीनलाई जग्गा दिउँ भन्ने संशोधन दर्ता भयो त्यो बेला पनि दुई तिहाइ देख्न पाइएन,' उनले भने, 'शिक्षामा, स्वास्थ्यमा राज्यको भूमिका बढाउँ भन्दा दुई तिहाइ देख्न पाइएन। यस्ता अनेक ठाउँमा दुई तिहाइ देख्न पाइएन।'

पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदा चिकित्सा शिक्षा अध्ययन प्रतिष्ठानको नाम परिवर्तन गरेर मनमोहन अध्ययन प्रतिष्ठान बनाउँ भन्दा नदेखेको दुई तिहाइ अहिले देखिएको उनले बताए।

'कमरेड मनमोहनका लागि दुई तिहाइ देख्न नपाए पनि कमरेड मार्सीमोहनका लागि दुई तिहाइ देख्न पाइयो सरकारलाई बधाई छ,' थापाले भने, 'सरकार बनाउने पार्टीलाई पनि बधाई छ।'

दुई तिहाइले डाक्टर गोविन्द केसीलाई उठाइदिएको भन्दै उनले प्रधानमन्त्रीको विश्वास ढलेको बताए।

'प्रधानमन्त्रीको विश्वास सुत्यो। ढल्यो। यो ढलेको विश्वासलाई कसले उठाइदिने हो?,' थापाको प्रश्न छ, 'प्रधानमन्त्रीको इमानमा डढेलो लाग्यो, पानी कसले हाल्दिने हो?'

साभार– सेतोपाटी डटकम

भिडियो

Write a Comment

Events
Random Picks