गगन थापाले भने– ‘आलुको पात र काउलीको जरा मिलाएर नेकपा’ (भिडियो सहित)
4-February-2019


जक्सन डटकम
पोखरा, माघ २१

काँग्रेस नेता गगन थापाले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी आलुको पात र काउलीको जरा मिलाएर बनेको बताएका छन् । ‘काउलीको जमिनभित्र रहने जरा काम लाग्दैन, आलुको जमिन बाहिर रहने बोट काम लाग्दैन थापाले भने, नेकपा पार्टी यसरी नै काम नलाग्ने कुरा मिलाएर बनेको छ ।’

काम नलाग्ने कुरा कुहिएर जाने भन्दै नेता थापाले नेकपाको हालन पनि यस्तै हुने चेतावनी दिएका छन् । ‘हिजो एमालेमा राम्रा पक्ष पनि थियो, खराब पक्ष पनि थियो, माओवादीमा पनि यस्तै थियो, अहिले दुबैका खराब पक्ष मात्र मिलेर नेकपा पार्टी बनेको छ, थापाले भने, यो पहिलेको पार्टी जस्तो होइन ।’

नेपाली काँग्रेसले सोमबार देशव्यापी आयोजना गरेको विरोध कार्यक्रम अन्तर्गत पोखरामा आयोजित विरोध सभालाई संवोधन गर्दै नेता थापाले एमाले र माओवादी भित्रका खराब आचरण मिलेर नेकपा बनेको समेत आरोप लगाए । 

प्रधानमन्त्री केपी ओलीको कडा आलोचना गरेका नेता थापाले राष्ट्रपतिदेखि सभामुखको समेत आलोचना गरे । 

‘संघीयता मन नपराउने प्रधानमन्त्री, गणतन्त्र मन नपराउने राष्ट्रपति, संसद मन नपराउने सभामुख छन्, थापाले भने, अनि अनि कसरी चल्छ ?’ 

संघीय लोकतान्त्रिक गणतन्त्रको विकल्प खोज्न नहुने भन्दै नेता थापाले यही व्यवस्थालाई संस्थागत गर्न पनि काँग्रेसले लड्नुपरेको बताए ।

थापाले सरकार कसको पक्षमा रहेको भनेर जनताले सोध्ने बेला आएको बताएका छन् । सत्तारुढ दल नेकपा संस्थागत भ्रष्टाचारमा लागेको र काण्डै काण्ड मच्चाएको आरोप लगाउँदै नेता थापाले माफियाका लागि सरकारले दुई तिहाई बहुमतको प्रयोग गरेको दाबी गरे । 

‘भुमीहिन दलितका लागि घर बनाउने कानुन बनाउनुपर्छ भनेर गयौँ, सुकुम्बासीलाई जमिन दिउँ र १० बर्षपछि बेच्न पाउने अधिकार दिउँ भन्यौँ, सरकारले मानेन, थापाले भने, सरकार मजदुर, सुकुम्बासीका लागि आएन, एउटा मेडिकल कलेज चलाउनुपर्छ त्यो पनि नाफा कमाउन भनेर दुई तिहाई शक्ति लिएर आयो ।’ 

सरकारले जनताको शिक्षा र स्वास्थ्यका लागि केही गर्न नचाहेको थापाको भनाई छ । एउटा मेडिकल माफियाका लागि गोविन्द केसीलाई मार्न तयार भएको, संसदमा अवरोध राख्न र प्रतिपक्षसँग भिड्न तयार भएको उनले बताए । 

सरकार किसान, मजदुर उद्योगी, व्यापारी, युवा उद्यमीका लागि नबोलेको भन्दै थापाले प्रतिप्रश्न गरे, ‘यो सरकारको प्राथमिकता के हो ?’

कार्यक्रममा पुर्वमन्त्री यज्ञबहादुर थापाले सरकार नसच्चिए काँग्रेसले आन्दोलनको घोषणा गर्ने चेतावनी दिए । यो त सुसेलेको मात्र हो, सिट्टी बजाएको छैन, नेता थापाले भने, हामीले आन्दोलन गर्न प¥यो भने सरकारको विकल्प खोज्नुपर्ने हुन्छ ।

काँग्रेस कास्कीका सभापति कृष्ण केसीले पोखरा महानगरको गाडी जलाएर हिरासतमा रहेका विद्यार्थीलाई रिहा गर्न माग गरे ।

तस्बिर   : अर्जुन गिरी
भिडियो :  सिद्धार्थ गौतम

Write a Comment

Events