संविधान जीवनमा भोग्न पाउनुपर्छ– मुख्यमन्त्री पिएस
12-February-2019


जक्सन डटकम
पोखरा, माघ २९

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा (पिएस) गुरुङले अधिकारका कुरा संविधानमा लेखेर मात्र नहुने बताएका छन् । ‘अधिकारका कुरा संविधानमा लेखेर मात्र हुँदैन, जनताको जीवनमा देखिनुपर्छ, उनले भने, त्यही भएर नै सिँहदरबार गाउँ गाउँमा ल्याइएको हो ।’

गाँस, बास र कपास संविधानमै नैसर्गिक अधिकारका रुपमा स्थापित भएको भन्दै मुख्यमन्त्री गुरुङले भने, ‘सरकारले कसैलाई भोकै राख्न पाउँदैन, राज्यले व्यक्तिगत स्वतन्त्रता र सम्पत्तीको सुरक्षा गर्नैपर्छ ।’

लमजुङको भोटेवडार स्थित सयपत्री आवासिय माविको ३४ औँ बार्षिकोत्सबमा बोल्दै मुख्यमन्त्री गुरुङले उक्त कुरा बताएका हुन् । अब राजनीतिक अधिकार पाइएन भनेर हड्ताल गर्ने दिन सकिएको उनको भनाई छ । अधिकार जीवनमा रुपान्तरित गर्न तिनवटै तहका सरकारले धेरै काम गर्नुपर्ने उनले बताए । 

आर्थिक सामाजिक परिवर्तनका आम नागरिकको तहबाटै प्रयास हुनुपर्ने मुख्यमन्त्री पिएसको धारणा छ । ‘हाम्रो मानसिकता नै गलत छ, संस्कार बाधक छ,’ उनले भने, ‘बाहिर गएर जे काम गर्न पनि हुने यहाँ केही पनि गर्न नहुने भनेर नसोंच्नुस् ।’ 

अर्को प्रसङ्गमा मुख्यमन्त्री गुरुङले अहिलेको शिक्षा प्रणालीले मुलुकको विकास र समृद्धीको लक्ष्य हाँसिल गर्न नसकिने बताए । ‘हाम्रो शिक्षाले खाली प्रमाणपत्र मात्रै वितरण गर्छ, अरु केही गर्दैन, अब जीवनउपयोगी शिक्षा चाहिन्छ ।’

सरकारले शिक्षा क्षेत्रमा सबैभन्दा धेरै लगानी गरेपनि बौद्धिक पलायन, पुँजी पलायन र जनशक्तिको पलायन नरोकिनुको कारण गलत शिक्षा निति रहेको उनको भनाई छ । सरकारले राष्ट्रवादको नारा जति लगाए पनि युवा– विद्यार्थीलाई पलायन हुनबाट रोक्न नसकिने उनले बताए । 

शिक्षाको गुणस्तर बढाउने ठाउँमा राजनीतिक भागवण्डा रहेसम्म शिक्षाको गुणस्तर र परिवर्तन हुन नसक्ने उनले ठोकुवा गरे । गण्डकी सरकारले बनाउने प्राविधिक शिक्षालय र गण्डकी विश्वविद्यालय भागवण्डा र राजनीतिकरण हुन नदिने उनले प्रतिवद्धता समेत जनाएका छन् । 

शिक्षा क्षेत्र सरकारको विषय बन्नुपर्ने उनको धारणा छ । ‘स्कुलमा लगानी गर्ने होइन, सबै निजी स्कुल गुठीमा रुपान्तरण गरेर नाफा कमाउने धन्दाबाट मुक्त गर्नुपर्छ, मुख्यमन्त्री पिएसले भने, नाफा कमाउन जलविद्युत, उद्योग धन्दामा लगानी गर्न प्रोत्साहन गर्नुपर्छ ।’

 

Write a Comment