मधेसीपछि जनजाति नेतालाई दिल्लीको निम्तो
22-September-2015

५ असोज– नेपालमा संविधान जारी भएकामा असन्तुष्ट दक्षिण छिमेकी भारतले जनजाति नेताहरुलाई दिल्ली बोलाएको छ । परराष्ट्र मन्त्रालयले जनजाति आन्दोलनका अगुवालाई छलफलका लागि भन्दै दिल्ली बोलाएको हो । भारतले यसअघि तराई केन्द्रित दलका नेतालाई दिल्ली बोलाएको थियो ।

संविधानमा आफूहरुका माग नसमेटिएको भन्दै जनजाति नेताहरु समेत असन्तुष्ट छन् ।  भारतीय अधिकारीहरुको निम्तोमा आदिवासी जनजाति महासंघका पूर्वअध्यक्ष पासाङ शेर्पाले यो बीचमा दुईपटक सम्म भारत भ्रमण गरिसकेका छन् ।

स्रोतका अनुसार आदिवासी जनजाति नेताहरु पद्मरत्न तुलाधर, डा. कृष्ण भट्टचन, मल्ल के सुन्दर, पर्शुराम तामाङ र संघीय समाजवादी फोरमका नेता आङकाजी शेर्पालाई दिल्लीको निम्तो आएको छ । यद्यपि शेर्पाले त्यसबारे आफूहरुलाई थाहा नभएको दाबी गरे ।
‘पार्टीका नेताहरुलाई खबर आएको भए थाहा भएन’, शेर्पाले भने, ‘मलाई कसैले बोलाएको छैन ।’ यद्यपि शेर्पाले आफूलाई बाइपास गरेर आएको संविधान भारतले अस्विकार गर्नु स्वभाविक भएको जिकिर गरे ।
‘सात सालमा राणा फाल्न, ३० वर्षे पञ्चायतको अन्त्य गर्न र राजा फाल्न सहयोग गरेको भारतले आफ्नो चासो सम्बोधन नगरेकामा दुःख मान्नु स्वभाविक छ’, ‘शेर्पाले भने, ‘जनसंख्या, भूगोल र आर्थिक रुपमा समेत सम्पन्न छिमेकीलाई चिढ्याएर नेपाललाई फाइदा हुँदैन ।’

पूर्वराजा ज्ञानेन्द्र र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतलाई चिढ्याउँदा सत्ताच्युत हुनुपरेको भन्दै शेर्पाले प्रमुख दलका नेताहरुको अदुरदर्शी सोचका कारण मुलुक गम्भीर संकटमा धकेलिएको टिप्पणी गरे ।

भारतलाई बाइपास गरेर अगाडि जान खोजे मुलुकका लागि दुर्भाग्य हुने भन्दै उनले नेताहरुले ताली खानका लागि राष्ट्रियताको भाषण गरेको उल्लेख गरे । भारतलाई उत्तेजित बनाउन पपुलिष्ट कुरा गरेर नेताहरुले हस्तक्षेप निम्त्याउन खोजेको जिकिर शेर्पाको छ ।

मधेस केन्द्रित दलका माग सम्बोधन नगरी संविधान जारी गरेको भन्दै भारतले तीव्र असन्तुष्टि जनाएको छ ।

Events
Random Picks