भारतले होइन, हामीले नाकाबन्दी गरेका हौं : उपेन्द्र
26-September-2015

आस्विन ९, विराटनगर : संघीय समाजवादी फोरम नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले सीमामा आफूहरुले नाकाबन्दी गरेको बताउँदै भारतलाई दोष दिन नहुने बताएका छन् ।

बिराटनगरमा शनिबार भएको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष यादवले सीमापारी समस्या देख्ने सरकारले सीमावारी समस्या नदेखेको आरोप लगाए ।

‘समस्या सीमापारी होइन सीमावारी छ’, उनले भने, ‘यसलाई सेना र सशस्त्रबाट नभएर राजनीतिक रुपमा समाधान गरिनु पर्छ ।’

अध्यक्ष यादवले ‘विवाहमा निमन्त्रणा’ गर्न कार्ड पठाएजसरी बोलाउँदैमा सरकारसँग वार्ता हुन नसक्ने बताएका छन् ।

‘विवाहमा कार्ड पठाएजसरी बोलाएर हामी वार्तामा जाँदैनौं तर वार्ता नै नगर्ने भन्ने हाम्रो मनासय होइन’, यादवले भने, ‘सरकारबाट वातावरण बनाएर विगतमा मधेससँग भएका सम्झौता कार्यान्वयन गर्छु’ भन्ने प्रतिबद्धता आउनसाथ हामी वार्तामा जान्छौं ।’

वार्ताका लागि पहिलो प्रस्थान बिन्दु मधेसमा परिचालित नेपाली सेना र सशस्त्रको फिर्ता र ‘निहत्था’ जनतामाथिको दमनको अन्त्य हुने उनको जिकिर थियो ।

‘तराई–मधेसका मधेसी र थारु, पहाडका मगरात र लिम्बुवान, हिमालका जनजाति सबैले न्याय पाउने गरी सम्बोधन गर्छौ भनेर सरकारले भन्नु प्रतिबद्धता जनाउनु पर्छ,’ यादवले भने, ‘वार्ता सुरु भएपनि हामी आन्दोलन रोक्दैनौं, आन्दोलन भइरहन्छ र वर्ता पनि जारी रहन्छ ।’

यादवले संविधान पुनर्लेखन र संशोधन प्राविधिक विषय भएको बताए । उनले विगतका सम्झौता कार्यान्वयनमा राज्य सकारात्मक भए पुनर्लेखन वा संशोधन जे भएपनि आफूहरुलाई आपत्ती नहुने बताए । ‘जे भएपनि हुन्छ तर हाम्रा अधिकार सुनिश्चित हुनुपर्छ’, उनले भने ।

सरकारले वास्ता नगरे यादवले परिर्वतनशील शक्तिसँग सहकार्य गरेर आन्दोलनलाई थप उचाइमा पुर्‍याइने पनि बताउँदै यसका लागि गृहकार्य पनि सुरु भइसकेको बताए ।

यादवले यो आन्दोलन मधेसी, आदिवासी, जनजाति, महिला पिछडा वर्ग सबैको भएको बताए । ‘वार्ता गरेरै हामी समस्या समाधान गर्ने पक्षमा छौँ,’ उनले भने, ‘तर भाषण गरेर वार्तामा आउ भन्दै नौटंकी गरेर वार्ता हुँदैन ।’

राज्य घुँटा टेक्ने हो अथवा बेला छँदै समस्या समाधानमा गम्भीर भएर आउने हो त्यो उसकै व्यवहारमा भरपर्ने पनि यादवले बताए । भारत र चीन दुबैसँग नेपालको अत्यन्तै राम्रो सम्बन्ध रहेको बताउँदै यादवले सम्बन्ध बिग्रिएको भन्ने हल्ला गलत भएको बताए ।
 

Events
Random Picks