दुई तिहाईको सरकारले वैकल्पिक शक्तिको आवश्यकता झन् बढाईदिएको छ : रवीन्द्र मिश्र
31-May-2019

नवलपुर, १७ जेठ ।

साझा विवेकशील पार्टीका केन्द्रीय सँयोजक रवीन्द्र मिश्रले अहिलेको सरकार र प्रमुख प्रतिपक्षी दलका कारण वैकल्पिक शक्तिको आवश्यकता दिनप्रतिदिन बढिरहेको बताएका छन् ।

नवलपुरमा पार्टीको जिल्ला सँयोजक घोषणा तथा नागरिक सम्बोधनको क्रममा उनले जनता अहिलेको सरकारको रवैयाप्रति निराश भएको बताएका हुन् । ‘देशको स्थिती अहिले खराब अवस्थामा छ । र, वैकल्पिक शक्तिको आवश्यकता दिनप्रतिदिन झन् बढ्दै गएको छ ।’ उनले भने । वैकल्पिक राजनीतिको यात्रामा जोडिएर कल्याणकारी राज्यको परिकल्पना गर्ने हरेकलाई उनले साझा विवेकशीलमा आउन आह्वान समेत गरे । साथै यही यात्रामा जिल्ला सँयोजकको नेतृत्वमा आएर जोडिएका हरिप्रसाद गौतमलाई चुनौती थपिएको र त्यसलाई अवसरको रुपमा लिन उनले सुझाए ।

त्यस्तै पार्टीका प्रवक्ता समेत रहेका अर्का केन्द्रीय नेता डा. सूर्यराज आचार्यले अहिले सरकारको नेतृत्वमा रहेको पार्टी र सत्ताबाहिर रहेको नेपाली काँग्रेसले सुसँस्कृत राजनीति गर्छु भन्दै जनतामाझ भ्रम छरेको बताए । ‘६ करोड रुपैयाँको बजेट चाहिन्छ भन्दै कोकोहोलो गर्ने विधायकहरुले किन ६ अर्बको सही राजनीतिक हस्तक्षेप गर्न सक्छु भनेर सोँच्दैनन ?’ उनले प्रश्न गरे–‘यस्ता थुप्रै समस्याहरुले गाँजेको छ । र, हामी यही चिजलाई सुधार्नका लागि वैकल्पिक राजनीतिको अभियानमा छौँ ।’

त्यसैगरि अर्का केन्द्रीय सदस्य मुमाराम खनालले अहिले दुई तिहाईको सरकारले सहभागितामुलक लोकतन्त्रको वकालत गर्नुपर्नेमा ‘सहभागितामुलक लुटतन्त्र’ वकालत गरिरहेको आरोप लगाए । ‘यत्तिका शक्ति पाउँदा र स्थिर रुपमा सरकार चलाउन पाउँदा पनि यस्तो गर्नेले कसरी देशलाई सम्बृद्धितर्फ डो¥याउन सक्छन् ?’ खनालले भने–‘त्यसैले वैकल्पिक राजनीतिमा साझा विवेकशीलले उठाएर कल्याणकारी लोकतन्त्र नै अबको आवश्यकता हो ।’

त्यस्तै पार्टीकै अर्का केन्द्रीय सदस्य केशव दाहालले अबको अवस्थामा जनताले पनि सोँच्नुपर्ने बेला आएको बताए । ‘जनता सँधै यस्तै पाराले यी दलहरुलाई सत्तामा ल्याउन मात्रै प्रयोग हुने हो भने समस्या ज्यूँ का त्यूँ रहन्छ ।’ उनले भने–‘त्यसैले जनताले विकल्प खोज्न आवश्यक छ ।’

नवलपुरमा भएको जिल्ला सँयोजक घोषणा तथा नागरिक सम्बोधन कार्यक्रममा साझा विवेकशील पार्टीकै गण्डकी प्रदेश सँयोजक महेश भण्डारीले पार्टीले अब सिमान्तकृत समुदायको मुद्दालाई पनि आफ्नो मुल मुद्दामा समावेश गर्नुपर्ने धारणा पेश गरे । नवलपुरमा सँयोजक घोषणा गरिरहँदा उनले त्यहाँकै विभिन्न समुदायलाई सम्झिए र त्यस क्षेत्रको ऐतिहासिक महत्वलाई केलाए । भण्डारीले वैकल्पिक शक्तितर्फ जनतालाई आकर्षित गर्न पार्टीको केन्द्रीय समितिले अझै बढि रचनात्मक हुनुपर्ने बताए ।

कार्यक्रममा पार्टीकै कर्णाली प्रदेश सँयोजक गेहेन्द्रप्रसाद दाहाल, स्थानीय समाजसेवी कृष्णप्रसाद तिमिल्सेना, नवलपुरकै उद्योगी कृष्णप्रसाद गौतम लगाएतले बोलेका थिए । पार्टीको गण्डकी प्रदेश प्रशिक्षण विभाग प्रमुख टीएम पौडेलले स्वागत गरेको कार्यक्रमलाई कोपिला भण्डारीले संचालन गरेकी थिईन् ।

Write a Comment

Events
Random Picks