कुर्सीमा मुख मिठ्याउनेहरु यस्ता छन्
15-October-2015

काठमाडौँ -नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएपछि सरकारको वरिपरी रहेर आफ्नो दुनो सोझयाउने र शक्तिको दुरुपयोग गर्ने भन्दै उनैका कार्यकर्ताहरु अघि सरेका छन् । हुन त अघिल्लो सरकारमा रहेर पनि एमालेका नेता तथा कार्यकर्ताले कमाउ धन्दा चलाएकै थिए । वामदेव गौतम, राधा ज्ञवाली, chairपुरुषोत्तम पौडेललगायतले शक्तिको दुरुपयोग गरेर कमाउ धन्दा चलाएकै थिए । अख्तियारको कारवाहीमा परेका एमालेका नेता तथा मन्त्रीहरुको हर्कत फेरी पनि सुरु भएको छ । आजको जनआहवान साप्ताहिक लेख्छ–

वामदेव गौतमले पुनः मन्त्री बनाउनुपर्ने भनेर राखेको प्रस्ताव त्यसैको पछिल्लो उपज हो । काँग्रेसका मन्त्री तथा नेता आफू मात्रै खाँदैनन् कार्यकर्तालाई पनि खुवाउँछन् । एमालेका भने योजनावद्ध रुपमा कमाउ धन्दा चलाउँछन् र कुनै पनि संकेत नराखिकन धन्दा चलाउने उनीहरुको पुरानै तरिका हो । तर ज्ञवाली, पौडेल र वामदेवहरु त्यसभन्दा फरक देखिए ।

भूकम्पको समयमा गृह मन्त्रालय सम्हालेका गौतमले मच्चाएको लुट धन्दामा सरकारी संयन्त्र नै प्रयोग गरेका थिए । प्रहरी अधिकृतको सरुवा बढुवादेखि प्रमुख जिल्ला अधिकारीको सरुवा बढुवामा समेत पैसाको खेलोफड्को गर्ने वामदेव गौतमहरु सत्ता र शक्तिबाट बाहिर रहनै नसक्ने व्यक्तिका रुपमा परिचित छन् । अहिले पात्र फेरिएको छ, प्रवृत्ति फेरिएको छैन । एमालेका नेता तथा कार्यकर्ता पुनः कमाउ धन्दालाई नयाँ रुपमा नयाँ आवरणमा अगाडि बढाउन लागिपरेका छन् । केपी ओलीको नाम लिएर विशेषत उनकै गुटका मान्छेहरु कमाउ धन्दालाई संस्थागत गर्ने अभियानमा लागेका छन् ।

प्रधानमन्त्रीको कोटरीमा ५० जनासम्म नियुक्त गर्न पाइने व्यवस्था छ । त्यसमा सचिव, सहसचिव ,उपसचिव तथा अधिकृत तहका धेरै व्यक्तिहरु नियुक्त गर्ने प्रावधान छ । सोही प्रावधान अनुसार एमालेका नेता तथा कायककर्ताहरु लुछाडमछाड गर्दै लागिपरेका छन् । एमाले सचिव प्रदीप ज्ञवाली प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकार बन्ने भन्दै हल्ला गर्न थालेका छन् । एमाले सांसद राजन भट्टराई विदेश मामिला सल्लाहकार बन्न लालायित छन् यस्तै गायिका अन्जान शाक्य पनि मुख मिठ्याएर बसेकी छिन् । प्रेस सल्लाहकार बनाइएका प्रमोद दाहाल भन्दा अरु वरिष्ठ भएपनि बालकोटको आर्शीवाद परेका कारण उनले सो पद पड्काएपछि एमाले निकटमा पत्रकारहरुमा भाँडभैलो उत्पन्न भएको छ ।

यस्तै विभिन्न मन्त्रालय र संस्थानहरुमा राजनीतिक नियुक्तीका लागि भन्दै एमालेका नेता तथा कार्यकर्ता पनि मुख मिठ्याउँदै सिंहदरबार प्रवेश गर्न थालेका छन् । एमालेले बहुमत ल्याएर सरकार बनाएजसरी एमालेका नेताहरुको फुर्तीफार्ती देख्न लायक बनेको छ । सरकारको प्रमुख वैशाखीको रुपमा एमाओवादी छ । तर उसलाई थाहा नदिइकन कतिपय निकायमा भटाभटी नियुक्त गर्ने तयारी एमालेको छ । राधा ज्ञवालीसँग स्वार्थ नमिलेका ऊर्जा सचिव राजेन्द्रकिशोर क्षेत्री मालदार मन्त्रालयको सचिव बन्ने योजनामा रहेका छन् । यस्तै अर्थ मन्त्रालयको सचिव पड्काउने दाउमा धेरै सचिवहरु बालकोट र प्रधानमन्त्री कार्यालय पुगेर जि हजुरी गर्न भ्याइसकेका छन् । विमलेन्द्र निधिले मरिहत्ते गरेर भौतिक पूर्वाधार मन्त्रालयमा ल्याएका सचिव गजेन्द्र ठाकुरको एउटा मात्रै मिशन भनेको काठमाडौँ तराई द्ूर्त मार्ग जसरी भएपनि भारतलाई दिनु नै रहेको छ ।

विजय गच्छदार सो मन्त्रालय सम्हाल्न आएपछि त उनलाई के खोज्छस् कानो आँखो भनेजस्तै भएको छ । गच्छदारले मन्त्री पदको बहाली गर्दै गर्दा सो परियोजना अगाडि बढाउने बताएका छन् । निधिले भारतीय कम्पनीसँग २० करोड लिएको भन्दै काँग्रेसका नेताहरु गाड कोराकोर गर्न थालेका छन् । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा गोविन्दराज पोखरेललाई समेत प्रभावमा पारेर निधिले सो रकम बाँडफाँड गरेका थिए । निधिलाई प्रभावमा पारेको भारतीय दलाल समूह ओलीलाई प्रभावमा पारेर द्रुत मार्ग हात पार्न लागिपरेको छ । गच्छदारसँग पटक पटक छलफल गरेको सो समूहले ओली र एमालेका नेताहरुलाई पनि भेटिसकेको छ ।

यस्तै, सम्झौता हुन बाँकी रहेका कर्णाली चिसापानी जलविद्युत् आयोजना र सप्तकोशी उच्च बाँधलाई समेत जसरी भएपनि आफ्नो हातमा पार्ने दाउका साथ भारतीय राजदूत देखि व्यापारीसमेत एमालेका प्रभावशाली व्यक्तिलाई प्रभावमा पार्न लागिपरेका छन् । एमाओवादी छाडेर हाल नयाँ शक्तिको चर्चा गर्दै हिडेका डा बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा जुवा खेले भन्दै विप्पा सम्झौता गराउन सफल भारत यतिबेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय एयर मार्शल राख्ने योजनामा समेत रहेको छ ।

त्यसका लागि एमालेका उपमहासचिव विष्णु पौडेल , प्रदीप नेपाल मार्फत लविङ गर्न थालेका छन् । एमालेका नेता तथा कार्यकर्ताको चुरीफुरी हेर्दा दुई तिहाई नै मत प्राप्त गरेर सरकार चलाएजस्तो गरी प्रस्तुत हुन थालेका छन् । अघिल्लो पटक काँग्रेसका नेताहरुको चालढाल त्यस्तै थियो । संविधान जारी गरेर पाएको बाहबाही एउटै निर्णयमा ध्वस्त भएको काँग्रेसको चरित्र फेरी पनि सिंहदरबारमा केही पाइन्छ कि भन्दै दौडिरहेको देखिन्छ ।

चित्रलेखा यादव र उनका पति श्रीकृष्ण यादवले चलाएको उठती धन्दामा पीडित भएकाहरु प्रधानमन्त्री कार्यालय अगाडि बसेर सराप्दै बसेका छन् । पैसा लिइ नियुक्त गरिन भन्दै सराप्दै बसेका छन् ।