मन्त्री क्वार्टर त गज्जप हुँदोरहेछ : मन्त्री केसी
11-November-2015

बुधबार बिहानै अन्तरवार्ताका लागि पुल्चोकस्थित मन्त्रिनिवासमा पुग्दा सहकारी एवं गरीवी निवारणमन्त्री चित्रबहादुर केसी निवासबाट बाहिरिन हतारिँदै थिए । हतारिनुको कारणबारे मन्त्री केसीले भने-‘जाहानको हात भाँचिएर सिभिल हस्पिटलमा राखेको छ, रुङ्ने मान्छे कोही छैन, त्यसैले अस्पताल हिँड्न लागेको ।’

मधुमेह र उच्च रक्तचापको बिरामी रहेकी मन्त्रीपत्नी बाटोमा हिँड्दा हिँड्दै अकस्मात बेहोस भई लडेर हात भाँचिएपछि मन्त्री केसी मंगलबार मन्त्रालयसमेत जान पाएनन् । बुधबार पनि उनी अस्पतालमा बिरामी कुरुवा बन्नुपर्ने स्थिति बन्यो ।

सादगी नेताका रुपमा परिचित केसीसँग यस्तै तनावकै वीचमा छोटो कुराकानी भयो । कुराकानीका क्रममा उनले मन्त्रिनिवासमा पस्दा आफूलाई दरबारमा पसेजस्तो अनुभव भएको सुनाए । राष्ट्रिय जनमोर्चाका अध्यक्षसमेत रहेका मन्त्री केसीसँग अनलाइनखबरले गरेको व्यवहारिक कुराकानी:


मन्त्री बन्ने थाहा पाएपछि नयाँ लुगा सिलाउनुभयो ?

– लबेदा सुरुवाल सिलाएको छु । मैले यसभन्दा पहिला पनि दौरा सुरुवाल लगाएको छु । चाइना जाँदा, उत्तर कोरिया जाँदा । प्रधानमन्त्रीले पनि तपाई मन्त्री नै हुने हो भने दौरा सुरुवाल चाहिन्छ भन्नुभयो ।

बिग्रने बेलामा आफू बिग्रने, अनि कर्मचारीलाई दोष दिने ? यो कुरा म मान्दिँन

अब मन्त्रालय जाँदा सधैं दौरासुरुवाल नै लगाउनुहुन्छ ?

– म सामान्य पोशाकमै हुन्छु । औपचारिक कार्यक्रम हुँदा भने दौरा सुरुवाल लगाएर जान्छु ।

यसअघि बस्दै आएको घट्टेकुलोको डेरा र अहिले मन्त्री बनेपछि बसेको मन्त्री क्वार्टरमा के फरक छ ?

– पहिला बसेभन्दा यहाँ धेरै स्ट्याण्डर छ नि । कोठैपिच्छे सोफा छन् । टेलिफोन छ । तातोपानी छ । बाथरुम छ । घाम ताप्ने बेग्लै ठाउँ छ । त्यहाँ त गल्लीमा गएर घाम ताप्नुपथ्र्याे । यहाँ यस्तो हुँदोरहेछ र पो सत्तामा जानका लागि मान्छेले ८४ खेल खेल्दा रहेछन् !

अब तपाई पनि सत्ताको स्वादमा लोभिनु हुने भयो हैन उसोभए ? यत्रो सुविधा रहेछ मन्त्री क्वार्टरमा….

– मेरो बानी परेको छ । राजनीतिलाई आफ्नो भोगविलासको साधन बनाउने दिन मेरो गइसक्यो । अहिले पार्टीले यो निर्णय गर्‍यो, त्यही भएर म आएँ । म सत्तामा आएपछि मेरो रुप, रंग बदलिन्छ भन्ने मलाई लाग्दैन । म ढोटेढाँटे मान्छे त हैन नि । यत्रो वर्षसम्म सत्ताले आकर्षण गर्न सकेन । म सरकारमा आएको मेरो रहरका कारणले होइन, पार्टीको नीतिका कारणले पनि हो । त्यसकारणले जुन मान्छेहरुले यत्रो सादगी व्यक्ति, पैदल हिँडेको टेम्पोमा हिँडेको अब भेट्न सकिँदैन भन्छन् । तर, म केही भएको छैन । यो अस्थायी कुरा हो । सधैं पदमा बस्ने कुरा होइन ।

मैले पहिले पनि भन्ने गरेको छु, शक्ति र सत्ता केही व्यक्तिका लागि पार्टीहरु लागि परेकाले नै जनताले दुःख पाएका हुन् । त्यसकारण यी चिजबाट टाढा रहेने मैले पहिले जुन प्रतिज्ञा गरेको छु, र मेरो जुन अडान छ, त्यसप्रति आज पनि दृढ छु । बरु मैले सकिँन भने काम गर्दिन । तर, सत्ताको लोभमा म पर्दिँन भन्ने विषयमा म दृढ छु ।

पहिलोपटक मन्त्रिक्वार्टरमा पस्दा कस्तो लाग्यो ?

– सानो कोठामा बस्ने मान्छे, यहाँ त ठूलो दरबारमा बसेजस्तो लागेको छ । मलाई त अचम्मै लागेको छ ‘कोठैपिच्छे शोफा छन्, पर्दा छन्, टेलिफोन छन् । यस्तो ठाउँमा त म अहिलेसम्म आएकै थिइँन । त्यही भएर यस्तो चिजले मलाई स्थायीरुपमा आकर्षण गर्दैनन् । यो गुम्ला कि, यो छोड्नुपर्ला कि भनेर जनता र राष्ट्रको स्वार्थलाई बन्धकी राखेर जहाँ आएर बसेको छु, यसमा आइरहने मेसो र बारम्बार आउने मेसो म बनाउन सक्दिँन । मेरो स्वभावले पनि दिँदैन, आदतले पनि दिँदैन, पार्टीको नीतिले पनि दिँदैन म त्यसो गर्दा नि गर्दिँन । यो कुरामा जनता ढुक्क भए हुन्छ ।

घट्टेकुलोमा बस्दा ढिँडो खान्छु भन्नुहुन्थ्यो, अब त मसिना चामलको भात खाने होला हैन ?

सहकारीका नाममा ठग्नेलाई दण्ड जरिवाना गर्ने आधार के छन्, त्यो हेर्नुपर्‍यो । यस्तो गल्ती गर्नेलाई कारबाहीको व्यवस्था ऐनमा हुनुपर्‍यो ।

– हैन । घट्टेकुलामा जुन आँटो, ढिँडो किनेको थिएँ, त्यही लिएर आएको छु । मेरो खान्कीमा कुनै परिवर्तन भएको छैन । नेपाली जनताले यत्रो दुःख पाउनुपर्ने, ४०/५० हजार नेपाली जनता विदेशमा गएर पसिना बगाउनुपर्ने, अनि हामी चाँहि सत्ताको रस्वस्वादन गरेर नेपाली जनतामाथि शासन गर्न थाल्यौं भने हामीलाई नेपाली जनताले गरेको विश्वास, गरेको समर्थन के काम लाग्यो ? त्यसो हुनाले हामीले त्यसो कहिल्यै गर्नुहुँदैन ।

मेरो फेरिएको के हो भने सुरक्षाका हिसाबले म हिँड्दा, डुल्दा सरकारी गाडीमा हिँडेको छु । त्यसबाहेक म पटक्कै बदलिएको छैन । बरु सर्वसाधारण जनतासँग पहिलाको जस्तो भेट हुन छाडेको छ ।

म पैदल हिँड्दा धेरैसँग भेट हुन्थ्यो । धेरैले मलाई गुनासा सुनाउने गरेका थिए । त्यसबाट चाँही म चुकेको छु । त्यसले गर्दा मलाई नमीठो लाग्छ । कहिलेकाहीँ त म बाहिर निस्किएर बोल्न खोज्छु । तर, सुरक्षाका कारण त्यसो गर्न मिल्दो रहेनछ ।

हिजो म जहानको एक्सिडेन्ड भएकाले सिभिल हस्पिटल गएँ । त्यहाँ क्यान्टिनमा गएर सबैसँग बसेर चिया, चिउरा खाएँ । त्यसो भएकाले म परिवर्तन भएको छैन । जनतासँगै छु ।

तर, यहाँ आएपछि जनतासँगको सम्पर्कबाट टुटेको छ । म त कस्तो यो आइसोलेट टापुमा आएको छु कि जस्तो लाग्छ । त्यस्तो महसुस भा छ । छुट्टैखालको केही भएको छैन । म त जनताको बीचमा बसेको मान्छे हो । त्यहीँ हुर्केको मान्छे हुँ । जनतालाई छोडेर अलग बस्न र टिक्नै सक्दिँन ।

तर, जस्तोसुकै मन्त्रीलाई पनि बिस्तारै कर्मचारीहरुले बिगार्छन् र भ्रष्ट बनाउँछन् भन्ने सुनिन्छ नि ?

– बिग्रनेलाई बिगार्छन् होला । बिग्रने बेलामा आफू बिग्रने, अनि कर्मचारीलाई दोष दिने ? यो कुरा म मान्दिँन, मान्छे आफैंले गर्दा बिगि्रने हो । आफू बिगि्रएर कसैलाई दोष दिनुहुँदैन । आफू इमान्दार हुनुपर्छ । कर्मचारी पनि मान्छे हुन् । यस देशका नागरिक हुन् । सबै खराब हुन्छन् म भन्दिँन । उनीहरुलाई पनि राष्ट्रको चिन्ता छ । कोही कोही खराब होलान् । कर्मचारी पनि हाम्रो मन्त्री राम्रो होस् भन्ने चाहान्छन् ।

तपाईको मतलब, भ्रष्टाचार मन्त्रीबाटै हुने रहेछ हैन ?

– मन्त्री सामेल भएपछि न कर्मचारीले त्यो गर्ने हुन् । तपाई भ्रष्टाचार गर्न चाहानुहुन्न, देश र जनताप्रति दृढ हुनुहुन्छ भने कर्मचारीले कसरी त्यसो गर्न सक्छन् ?

विगतमा म मन्त्री नभए पनि मलाई किन्ने, बिगार्ने धेरै कुरा भएका थिए । तर, म त्यस्तो भइँन । आफू दृढ हुने हो भने त्यस्ता प्रयासलाई असफल गराउन सकिन्छ । र, त्यो असफल गराएपछि कसले बिगार्न खोजेको हो, के हो, भन्ने जनताले थाहा पाउँछन् । जनताले थाहा पाउलान् भनेर पनि बिगार्ने मान्छेले त्यो साहस गर्न पाउँदैनन् ।

तपाई सहकारी मन्त्री बन्नुभएको छ, अब सहकारी क्षेत्रमा के काम गर्ने विचार गर्नुभएको छ ?

म सांसद हुँदा पनि नाकाबन्दीको विरुद्धमा ज्ञानपनपत्र लिएर दूतावाससम्म गएँ । त्यहाँ राजदूतले हामीले लिएर गएको ज्ञापनपत्र एउटा पियनलाई बुझ्न लगाए । उनले हाम्रो अपमान गरे ।

– सहकारी समाजवादी अर्थतन्त्रको आधार पनि हो । सहकारी भनेको सबै भएर एउटाको मद्दत गर्ने अनि एउटा-एउटा भएर सबैको मद्दत गर्ने एउटा राम्रो प्रणाली हो ।

नेपालमा सहकारीको संख्या धेरै छ । कतिपयले सहकारीका नाममा संस्था दर्ता गराएर पनि फाइदा उठाएका छन् । अहिले त म नयाँ छु, सहकारीका ऐनहरु म अध्ययन गर्दैछु, त्यसलाई परिमार्जन, व्यवस्थापन गर्ने कुराको अध्ययन गर्दैछु । मैले सहकारीमा देखेको के हो भने प्रणाली राम्रो भएर पनि सहकारीका नाममा सीधासाधा मान्छे पनि ठगिएको सुनेको छु ।

म सहकारी मन्त्री नहुँदा पनि सहकारीका नामबाट ठगिएका केही मान्छेले मसँग सांसद हुँदा नै हारगुहार मागेका थिए । उनीहरुले संसदमा आवाज उठाउन माग गरेका थिए । सहकारीका नाममा ठग्नेलाई दण्ड जरिवाना गर्ने आधार के छन्, त्यो हेर्नुपर्‍यो । यस्तो गल्ती गर्नेलाई कारबाहीको व्यवस्था ऐनमा हुनुपर्‍यो ।

सहकारीको जालो धेरै झाँगिएको छ । तर, सहकारी सबै ठाउँमा व्यवस्थित छैन । उदाहरणका रुपमा बनेपाको एक सहकारीले पैसा देख्नै नपाएको मानिसलाई विभिन्न ऐन कानुनले बाँधेर उम्कन नसक्ने बनाएको छ । ओरेन्टियल सहकारीले पनि कैयौं मानिससँग पैसा लिएर ठूला साना सबै मान्छेलाई ठगेको कुरा प्रचारमा आइरहेको छ । त्यसैले सहकारीलाई व्यवस्थापन गर्ने, सहकारीबाट ठगिएका व्यक्तिलाई कसरी सहयोग गर्ने भन्ने कुराको अध्ययन गर्दैछु ।

म अँध्यारामा बन्दुक पड्काउने पक्षमा छैन । समग्र सहकारी व्यवस्थापनका लागि बनेका ऐन कानुनको अध्ययनमा मेरो समय बित्दै गएको छ । म चाँहि बहुसंख्या जनताको हित हुने गरी सरकारी सञ्चालन गर्नुपर्छ भन्ने पक्षमा छु । सहकारीका नाममा कोही ठगिनुहुन्न, यदि कोही ठगिएको भए पनि उसको कानुनी उपचार हुनुपर्छ भन्ने दृष्टिकोण राख्छु ।

उसोभए तपाई मन्त्रालयमा आएपछि सहकारीका नाममा ठग्नेहरुका दिन गए भन्दा हुन्छ ?

– म नआएर अरु आएको भए पनि यो काम गर्नुपर्छ । यो जनताको अधिकारको कुरा हो । म नआएर अरु कोही आए पनि म त्यही आशा गर्थे । त्यसैले मेरो प्रयत्न रहन्छ । म कोशिस गर्छु । जनताले जुन आशा राखेका छन्, त्यसलाई पूरा गर्न म कोशिस गर्छु ।

यहाँले तराईको समस्या भारतका विषयमा गरेको टिप्पणीपछि भारतीय दूतावासले वक्तव्यमार्फत आपत्ति जनायो । त्यसबारे तपाईको प्रतिटिप्पणी केही छ ?

– म सांसद हुँदा पनि नाकाबन्दीको विरुद्धमा ज्ञानपनपत्र लिएर दूतावाससम्म गएँ । त्यहाँ राजदूतले हामीले लिएर गएको ज्ञापनपत्र एउटा पियनलाई बुझ्न लगाए । उनले हाम्रो अपमान गरे । त्यसकारणले भारतीय शासक पक्षले हामीलाई कतिसम्म अपमान गर्छन् भन्ने कुरा मैले त्यतिबेला नै थाहा पाएको थिएँ ।

अहिले मैले सही कुरा गर्दा उनीहरु आत्तिए, छटपटिए । नेपालमाथि चाँही राम्रो व्यवहार, सम्मानजनक व्यवहार, सार्वभौम सत्तासम्पन्न मुलुकमाथि गर्ने व्यवहार गरेको भए हामीले मैत्री सम्बन्ध खलबल पुर्‍याउने कुरै आउने थिएन । तर, बिरालाले मुसो अठ्याएझैं अठ्याउने अनि मुसाले च्याँ च्याँ पनि गर्न नपाउने त्यो उचित कुरा भयो र ? त्यो मत्स्य न्याय भयो ।

अहिले नाकाबन्दी गरेर भारतीय संस्थापन पक्षबाट नेपाली जनतामाथि घाँटी निमोठ्ने काम भएको छ । अन्तर्राष्ट्रिय अधिकार हो हाम्रो पारवहन सुविधा । तराईका केही मान्छेहरुलाई बोकेर उनीहरुको चाहनामा आफ्नो उद्देश्य पूरा गर्नका लागि भारतीय पक्षबाट जुनखालको खेल भएको छ, त्यो खेलप्रति कोही नेपाली जनता अनभिज्ञ छैनन् ।

त्यसकारणले दूतावासबाट जुन प्रतिक्रिया आयो, त्यो दिन जरुरी थिएन भन्छु । तर, उनीहरुको प्रतिक्रियाले जनताले अरु बढी थाहा पाएजस्तो लाग्छ ।

तपाईले भारतको विरोध गरेको विषयमा प्रधानमन्त्रीले स्पष्टीकरण लिएको चर्चा चलेको थियो नि ?

– त्यो गलत हो । उहाँले सोध्दै सोध्नुभएन । नाकाबन्दी खोल्न आग्रह गर्ने क्याबिनेटबाटै निर्णय भइसकेको छ । प्रधानमन्त्रीले किन सोध्ने ?

अन्त्यमा, तिहार कसरी मनाउँदै हुनुहुन्छ ?

तिहारका बेलामा जिल्ला जाने मनसाय पनि गरेको थिए । अहिले हड्ताल छ । मेरा ८/१० जना दिदीबहिनी छन् । उनीहरुले भेट्ने भनेको तिहारको बेलामा हो । अब दिदीबहिनीले के गर्छन्, मेरोमा आउँछन् कि उनीहरुका बोलाउँछन् । मेरी बहिनी यहीँ छे । त्यसले कहाँ जाने भन्छे, त्यहीँ जाने हो । कुराकानी गरेर स्थान तय गर्छौं । मेरैमा आउने भनी भने यहीँ भेला हुने हो, उसले उसकैतिर बोलाई भने म त्यतै जान्छु ।

- See more at: http://www.onlinekhabar.com

Events
Random Picks