भुगोल, जनता र परिवेश एउटै तर उम्मेदवारै पिच्छे एजेण्डा फरक
8-November-2019


गौरव त्रिपाठी
पोखरा, २२ कात्तिक

मंसीर १४ गते हुने उप निवार्चनमा भोली दलहरुले आफ्नो उम्मेदवारको घोषणा सँगै आज गच्छे अनुसारको भव्य उपस्थितीका साथ निर्वाचन कार्यालयमा आफ्नो उम्मेदवारी दर्ता गरे । निर्वाचन कार्यालय कास्कीका अनुसार २५ जनाको उम्मेदवारी दर्ता भएको छ ।

साना राजनीतिक दल, स्वतत्त्र उम्मेदवार देखि ठुला दलले पनि कास्कीको क्षेत्र नं २ को निर्वाचनलाई राजनीतिक प्रतिष्ठाको चुनाव भन्दै कम्मरै कसेर आफ्नो पक्षमा माहोल बनाउन लागेका छन् । उम्मेदवारी दर्ता पछि हामीले  केहि दलका प्रतिनिधी उम्मेदवारहरुलाई प्राथमिकताका आधारमा तीनवटा चुनावी एजेण्डाका बारेमा सोधेका थियौ । 

विद्या भट्टराई, नेपाल कम्युनिष्ट पार्टी 

नेकपाका स्वर्गीय रविन्द्र अधिकारीको ह्याटिक क्षेत्रमा सोहि परिवारकी सदस्यका रुपमा रहेकी रविन्द्रकै श्रीमती विद्या भट्टराईले उम्मेदवारी दर्ता गराएकी छन् । निर्वाचन आयोगले जारी गरेको समय सिमा भित्र रहेर दोश्रो नम्बरमा आफ्नो उम्मेदवारी दर्ता गराएकी भट्टराईले स्वर्गीय रविन्द्र अधिकारीको योगदानको कदर गर्दै उनी प्रति जनताको विश्वास कम हुन नदिने पहिलो एजेण्डाका रुपमा प्रस्तुत गरेकी छन् ।

दोश्रो एजेण्डाका रुपमा रविन्द्रले सोचेका तर पुरा गर्न नपाएका कामलाई पुरा गर्ने रहेको छ । त्यस्तै गरी तेश्रो एजेण्डाका रुपमा निर्वाचन क्षेत्रको समृद्धिका लागि कुनै कसुर बाकीँ नराख्ने गरी कास्की कै बुहारीका रुपमा आफुलाई स्थापित गर्ने रहेका छन् ।

रोम बहादुर भण्डारी, राप्रपा

राप्रपाका केन्द्रिय सदस्य रोम बहादुर भण्डारीलाई निर्वाचनमा उठाउने निधोगरे अनुसार नेपाली पञ्चे बाजा र गाईलाई निर्वाचन कार्यालय सम्मै लगेर उम्मेदवारी दर्ता गरे । राष्ट्रिय प्रजातन्त्र पार्टी कमल थापा समुहका उनि गाई संरक्षण र हिन्दु राज्यको स्थापना पहिलो एजेण्डा सहित चुनावी मैदानमा उत्रिएका छन् ।

उनी देशमा बढ्दो भ्रष्टाचार नियन्त्रण सँगसँगै भ्रष्टाचारीलाई हदै सम्मको कारवाही गर्नुपर्ने पनि उनको अर्को महत्वपुर्ण एजेण्डा रहेको छ । त्यस्तै गरी तेश्रो नम्बरमा उनले जनअपेक्षा अनुसारका काम गर्ने एजेण्डा पनि प्रस्तुत गरे ।

खेमराज पौडेल (गुरु), नेपाली काँग्रेस

कास्कीको सबैभन्दा पाका उम्मेदवार खेमराज पौडेल, गुरु पार्टीले आफ्नो योग्दानको कदर गरेको बताउँछन् । उनी काँग्रेसका सभापती शेरबहादुर देउवा र विपीका पनि सहकर्मी हुन् । उनी आफ्ना एजेण्डाका बारेमा भन्छन्–यो उप निवार्चन हो यहाँबाट जितेर सरकार बनाउने पनि हैन तर, सरकारलाई सहि दिशामा हिडाउँने चै पक्कै हो ।

म जनताको घर दैलोमा जादा यो दुई तिहाइको सरकारले गरेका नराम्रा कुराहरु सरकारको ज्यादती र आम नागरीकलाई बनाएको निराशा बनाउनुको कारण खोज्दै जनता सगँ मत माग्ने छु । पोखरा महानगरपालिकामा भएका हाम्रा ११ वटा वडा हेर्नुहोस् त ? महानगरका वडा यस्तै हुन् आवश्यक पुर्वाधार समेत छैनन् म महानगपालीकाका वडा हुन् भन्न योग्य बनाउने छु ।

म क्षेत्र गत रुपमा बसेर हाम्रा साझा मुद्दामा जनताको भावना अनरुप देशलाई सहि दिशा तर्फ लान पहल गर्ने प्रमुख ऐजेण्डा रहेका छन् । 

रजनी के.सी , साझा पार्टी

दुई महिना अगाडी मात्रै नेपाली काँग्रेस पार्टी परित्याग गरेर साझा प्रवेश गरेकी रजनी केसी पुर्व मिस पोखरा समेत भएकी थिईन् । उनका एजेण्डालाई प्राथमिकताका आधारमा यसरी भनेकी छिन् ।  अहिलेको परीपाटीमा संसद विकास कोष भनेको नीतिगत भ्रष्टचार हो यो रोक्नु पर्छ ।

प्रतिनीधी सभाको निवार्चन भएकोले आफुले जितेमा विभिन्न क्षेत्रमा भएका गलत प्रवृतीको नियन्त्रण गर्न कानुन बनाउने सबैलाई समान रुपमा लागु गराउने प्रमुख के।सीको प्रमुख ऐजेण्डा रहेको छ । क्षेत्रगत रुपमा मैले युवाहरुलाई स्वरोजगार बाट रोजगारी तर्फ लाने र निवार्चन क्षेत्रमा सडक बत्ति, व्यवस्थित पार्क निमार्ण, सुकुम्वासी बस्ती व्यवस्थापन र ढल व्यवस्थापन गर्ने चुनावी ऐजेण्डा रहेको छ । 

तेश्रो नम्बरमा मैले उठाउने मुद्दा भनेको सबै नेपालीका सन्तान बराबर हुन् । त्यसैले विभिन्न जन विरोधी विधेयक लाभको लागी निमार्ण हुने नियम कुनै हालतमा पनि पास हुन नदिन मेरो उम्मेदवारी हो । 

धर्मराज गुरुङ, समाजवादी पार्टी

पुर्व सैनिक क्षेत्रका धर्मराजको एजेण्डा भने अन्य प्रत्यासिको भन्दा फरक छ । बेलायती सेना निवृत्त गुरुङ गण्डकी प्रदेशलाई प्रदेशलाई  तमुवान प्रदेश हुनु पर्ने र तमुहरुको पहिचान खोज्ने आफ्नो प्रमुख ऐजेण्डा रहेको गुरुङ बताउँछन् ।

१२ कक्षा सम्मको  विद्यालय शिक्षा सबै निशुल्क हुनुपर्ने र आफ्नो पहल रेलवे र हवाई ईन्जिनियर अध्ययनमा विद्यार्थीलाई नेपालमै अध्ययन गराउने वातावरण  ईन्जिनियर हाइवए ईन्जिनियर अध्ययनको लागी पहल गर्ने र विदेशी भन्दा नेपाली उत्पादनलाई जोड दिने रहेको छ । व्यवसायिक कर समांयोजन पनि उनको तेश्रो प्रमुख एजेण्डा रहेका छन् । 

जमुना शर्मा, विवेकशील नेपाली दल

त्यति चर्चामा आउन नरुचाउने जमुना सामाजिक क्षेत्रमा स्वयमसेवीको रुपमा परिचीत नाम हो । प्रतिनिधी सभाको निवार्चनमा जमुना शर्माले आफ्नो उम्मेदवारी सुशाासन, दिगो विकास र मानव अधिकारको क्षेत्रमा काम गर्ने गरी आफ्नो प्रमुख एजेण्डा बनाएकी छन् ।

उनी भन्छिन्–“पहिले समाज भ्रष्टचार मुक्त बनाउनु पर्छ अनि मात्रै देशमा सुशासन हुन्छ ।” दिगो विकासको लक्ष्यले दोस्रो पुस्तालाई पनि देश भित्रै केही गर्ने जोस जागर र देश विकास गर्ने आट आउने उनको भनाइ छ । तेस्रो उनको एजेण्डा भनेको मानव अधिकारको क्षेत्रमा सबैको समान र स्वतन्त्र रहेको भन्दै अधिकार प्रदान गर्ने गरी आफु निवार्चनमा आएको बताइन् । 

टेकनाथ भण्डारी, नेकपा माले

तनहुँका स्थाई वासिन्दा कास्की क्षेत्र नं २ बाट प्रतिनिधी सभाको उपनिर्वाचनमा फुलमाला सहितको टोलीले निकै आक्रोशित मुद्रामा आफ्नो उम्मेदवारी दर्ता गरे । उनले आफ्ना एजेण्डालाई भन्दा पनि सरकारले गरेका कामको बेथीतीको बारेमा बढी समय खर्चे ।

उनले उठाएका तीन प्रमुख एजेण्डाहरुमा आधारभुत समुहको हित, जनसमस्या समाधान र राष्ट्रवादी एजेण्डालाई प्रमुखतामा राखेका छन् । यिनै एजेण्डाका आधारमा चुनाव जित्नेमा पनि उनी विश्वस्त छन् ।

गंगा मल्ल, राप्रपा संयुक्त 

राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्त ,हलो छापाका महिला उम्मेदवार गंगा मल्लले करिब १२ बजे तिर आफ्नो उम्मेदवारी दर्ता गरिन् । पञ्चेबाजा सहित निकै तामझाका साथ उनले आफ्नो उम्मेदवारी दर्ता गरेकी हुन् । उनले उम्मेदवारी दर्ता पछि आफ्नो पार्टीको स्थापनाकाल देखी नै पहिचानका रुपमा रहेको नेपाललाई हिन्दु राष्ट्रको रुपमा पुन स्थापना गर्ने पहिलो एजेण्डा रहेको धारणा राखिन् ।

त्यस्तै सबै क्षेत्रका नागरिकलाई समान अधिकारको प्रत्याभुतीका लागि आफ्नो उम्मेदवारी रहेको पनि उनको भनाई थियो । त्यस्तै आधा भन्दा बढी हिस्सा ओगटेको देशमा महिला उत्पीडनम परेको भन्दै महिला उत्थानका पक्षमा ससक्त उम्मेदवार भन्दै आफ्नो उम्मेदवारी रहेको जानकारी दिईन् । 

Write a Comment

Events