कार्यकर्ता तान्दै बाबुराम
24-November-2015

काठमाडौं – एमाओवादी परित्याग गरी नयाँ शक्ति निर्माण अभियानको संयोजक बनेका बाबुराम भट्टराईले नयाँ पार्टी गठन गर्नुअघि माओवादीबाहेकका राजनीतिक दल र संगठनका नेताकार्यकर्ता तान्ने रणनीति बनाएका छन्। आफूलाई समर्थन गर्ने एमाओवादीका नेताकार्यकर्ताको काठमाडौंमा भएको दुईदिने भेलापछि भट्टराईले त्यस्तो रणनीति बनाएका हुन्।

सोही रणनीतिअनुसार आफूलाई समर्थन गर्ने एमाओवादीका नेताहरूको कार्यविभाजन गरिएको छ। संगठन विभाग प्रमुखको जिम्मेवारी देवेन्द्र पौडेललाई दिइएको छ।

स्रोतका अनुसार पुष्पकमल दाहाल नेतृत्वको एमाओवादी, मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीका नेताकार्यकर्तालाई देवेन्द्र पौडेलले र अन्य दलका नेताकार्यकर्ता र स्वतन्त्र व्यक्तिहरूलाई बाबुराम भट्टराईले नयाँ शक्ति अभियानमा सहभागी गराउने जिम्मा लिएका छन्। भट्टराईले भने अन्य दलका नेताकार्यकर्ता र स्वतन्त्र व्यक्तिहरूलाई नयाँ शक्ति अभियानमा सहभागी गराउने जिम्मा लिएका छन्।
रामचन्द्र झालाई मिथिला र भोजपुरा, गंगा श्रेष्ठलाई नेवाः र ताम्सालिङ, भक्तबहादुर शाहलाई भेरी-कर्णाली, नवराज सुवेदीलाई सेती-महाकाली, हिसिला यमीलाई अन्तर्राष्ट्रिय, रामकुमार शर्मालाई जातीय मोर्चा, कुमार पौडेललाई जनवर्गीय संगठन, देवेन्द्र पराजुलीलाई म्याग्दी र बागलुङसहित तमुवान, वामदेव क्षेत्रीलाई मगरात, अवध र थारुवान, राजेन्द्र किराँतीलाई किराँत, लिम्बुवान र कोचिलाको जिम्मेवारी दिइएको छ।

देवेन्द्र पौडेलका अनुसार माओवादी आन्दोलनभित्रबाट आउने र अन्य दलबाट आउनेहरुलाई मर्ज गरेर नयाँ पार्टी गठन हुनेछ । संघीय समाजवादी फोरमसँग् एकता गर्न लागेको हो भन्ने प्रश्नमा मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा भट्टराईले भने, ‘हामी अहिले पार्टीका रुपमा नभएकाले कुनै पार्टीसँग एकता गर्ने प्रश्न हुँदैन । जगदेखि नै नयाँ घर बनाउँछौं ।’ आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

Write a Comment

Events
Random Picks