मधेसी मोर्चाका नेतालाई दिल्ली बोलाएर भारतले यस्तो दबाब दिदैछ
5-December-2015

काठमाडौं, २० मंसिर– दिल्लीस्थित नेपाल मामिला जानकारहरूका अनुुुसार भारतले मधेसी दललाई सिमानाको अवरोध हटाएर आन्दोलनको स्वरूप बदल्न दबाबपूर्ण सुझाव दिनेछ । त्यसअघि नै भारतले उपप्रधानमन्त्री कमल थापामार्फत संविधान संशोधन विधेयक संसद्बाट यथाशीघ्र पारित गर्न सुझाव पठाएको छ । विधेयक पारित भइसकेपछि मोर्चालाई सीमाको अवरोध हटाउन थप दबाब दिने मुडमा दिल्लीमा छ । त्यस्तो भए नाकाबन्दीको दोषबाट मुक्ति पनि हुने र नेपालसँगको राजनीतिक इन्गेजमेन्ट सहज हुने उसको बुझाइ छ ।

नेपालका दल र मधेसी मोर्चा छलफलबाटै मधेसका जायज माग पूरा गरून् भन्ने भारत चाहन्छ । मधेसी दलहरूले एकीकृत नेपाल र संविधानको फ्रेमवर्कमा बसेर समस्याको समाधान गर्नेबाहेकका विकल्प भारतको हितमा नहुने उसको बुझाइ छ । यसबारे भारतीय संस्थापन पक्षले मोर्चाका नेताहरूलाई विस्तृत सुझाव दिनेछ ।

भारत मोर्चाका सहयोगले संविधान संशोधनको विधेयक पारित गर्ने वातावरण बनाउन चाहन्छ । र, लगत्तै नाकाबन्दी फिर्ता गर्ने उसको योजना छ । त्यसो हुँदा सरकार, मधेसी मोर्चा र मधेसी दलहरूको ‘विनविन’ अवस्था हुने उसको ठहर छ ।

पूरै तराई दुई प्रदेश बनाएर अहिले नै सीमांकनको मामिला टुंगिन सम्भव नहुने भारतको निष्कर्ष छ । अहिले प्राप्त उपलब्धि उपभोग गर्दै बाँकी विषयमा छलफल गर्दै जानुपर्ने सुझाव उसले मोर्चाका नेताहरूलाई दिने जानकारहरू बताउँछन् ।

–नयाँ पत्रिकाबाट

Events
Random Picks