कांग्रेस क्रियाशील सदस्यता : देशदेखि विदेशसम्म समस्या
16-December-2015

क्रियाशील सदस्यबाटै वडा, गाउँ, नगर र क्षेत्र हुँदै महाधिवेशन प्रनिनिधि चयन हुने कांग्रेसमा १० महिनामा बल्ल सदस्यताको विवाद टुंगो लागेको छ ।

तर, ६ लाख सदस्यता पुर्‍याउने दाबी पार्टीले गरे पनि १२ देखि १३औँ महाधिवेशनसम्म चार लाख ७० हजार ६ सय ५५ सदस्य पुगेका छन् । तर, महाधिवेशन हुने एक वर्षअघि नै सदस्यता वितरण र नवीकरण गर्नुपर्ने भए पनि अन्तिम अवस्थासम्म पनि सदस्यता दिइरहने, क्रियाशील र साधारण सदस्यताको दोहोरो व्यवस्थाले समस्या, विधानको व्याख्याअनुसार नहुनेजस्ता समस्या देखिएका छन् ।

गुटगत रूपमा केन्द्रीय नेतादेखि जिल्ला सभापति, क्षेत्रीय सभापतिले सदस्यता फारम वितरण गरेपछि देशभरका ६५ जिल्लाबाट उजुरी परेको थियो । झन्डै १० महिनापछि केन्द्रीय सदस्य नरहरि आचार्यको नेतृत्वमा रहेको समितिले बल्ल प्रतिवेदन तयार गरी बुधबारको केन्द्रीय समिति बैठकमा पेस गरेको छ ।

विवाद आएपछि ६ फागुन ०७१ मा केन्द्रीय समितिले आचार्य नेतृत्वमा रमेश लेखक र रामकृष्ण यादव सदस्य रहेको केन्द्रीय क्रियाशील सदस्यता छानबिन समिति गठन गरेको थियो । १० महिनामा ८४ वटा बैठक गरी समितिले प्रतिवेदन तयार गरेको हो । समितिले फरमुल्लाह मन्सुरलाई पर्सा, रमेश रिजाललाई रौतहट, रामकुमार चौधरीलाई सिरहा र प्रदीप पौडेललाई सप्तरीमा खटाएको थियो । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।