‘राजतन्त्र फर्काउन जनता सडकमा उत्रिनेवाला छन्’
10-January-2016

शिवसेना नेपाल घोषितरुपमा हिन्दुवादी र राजावादी पार्टी हो । ०४७ सालमा संस्थाको रुपमा जन्मेको यो संगठनले ०५७ सालमा पार्टीको रुप लिएको थियो । ‘धार्मिक नीतिभित्र रहेर राजनीति गर्ने’ उद्देश्य राखेको पार्टीले यसबीचमा अपेक्षित प्रगति भने गर्न सकेको छैन ।

भारतमा रहेको शिवसेना पार्टीसित नाम मिले पनि आफूहरुबीच कुनै सांगठनिक सम्वन्ध नरहेको बताउँछन् अध्यक्ष अनिल बस्नेत । ‘दुवै संगठनले हिन्दू धर्ममा आस्था राख्ने भएकाले एक किसिमको भावनात्मक सम्वन्ध हुनु त स्वभाविक हो, नाम मिल्नु संयोग मात्रै हो,’ उनले भने । प्रस्तुत छ, बस्नेतसित गरिएको संक्षिप्त कुराकानीः

नेपालबाट राजतन्त्र खारेज भएको यतिका वर्ष भइसक्यो । तपाईंहरु अझै पनि श्री ५ महाराजधिराज र युवराजधिराज भनेर सम्वोधन गर्दै हुनुहुन्छ, किन ?

नेपालको संविधानबाट राजसंस्था हटाइएको कुरा हामीलाई पनि थाहा छ । तर, संविधानबाट हटे पनि जनताको मनबाट राजसंस्था हटेको छैन र कदापी हट्दैन । जनता र राजाबीचको सम्वन्ध कसैले तोड्न चाहेर तोडिँदैन । राजसंस्थाप्रति हाम्रो विश्वास र सम्मान पहिले जस्तो थियो अहिले पनि त्यस्तै छ । त्यसैले हामीले गर्ने सम्वोधनमा पनि परिवर्तन भएको छैन ।

नेपालमा राजसंस्था फर्काउने प्रयास पनि गर्नुहुन्छ कि ?

निश्चितरुपमा हाम्रो पार्टीको घोषित नीति भनेकै हिन्दू राज्य र राजतन्त्रात्मक व्यवस्था हो । हामी वैदिक सनातन धर्मलाई टेकेर नेपालमा राजसंस्था पुनस्र्थापित गराउन चाहन्छौं ।

राजसंस्था पुनस्र्थापित गराउने योजनाहरु चाहिँ के-कस्ता छन् ?

छोटो समयमै नेपाली जनता गणतन्त्रबाट वाक्क बनिसकेका छन् र पुरानो राजसंस्था नै ठीक थियो भन्ने निस्कर्षमा पुगिसकेका छन् । अहिले देशको अवस्था यति बिगि्रसकेको छ कि नेताहरुले चाहेर पनि सम्हाल्न सक्दैनन् । अब त्यो दिन चाँडै आउँदैछ, यो व्यवस्थाप्रति जनताको निराशा र आक्रोशको पारो माथि चढेर विष्फोटको रुप लिने छ । दसौं लाख जनता निर्णायक संघर्षमा उत्रिनेछन् । त्यसपछि राजसंस्थाको पुनरागमन कसैले रोकेर रोकिदैन ।

शिव सेना आफैंले चाहिँ सडकमा उत्रेर संघर्ष गर्ने योजना छैन ?

जनताको संघर्षलाई नै हामीले नेतृत्व दिने छौं । अहिले हाम्रो संगठन सुषुप्त ढंगले अघि बढिरहेको छ । निकट भविष्यमै हामी आक्रामक ढंगले उत्रिने तयारीमा छौं । यसका लागि केही समय पर्खिनुपर्छ ।

हतियार पनि उठाउनुहुन्छ कि तपाईहरु शान्तिवादी हो ?

मुलुकको अखण्डता र स्वाधिनतालाई जोगाउनका निम्ति हामी आफ्नो ज्यानको बाजी राखेर हिँडेका छौं । हतियार उठाउनु ठूलो कुरा होइन । तर, देशले रगत माग्यो भने हामी पछि पर्ने छैनौं ।

नेपालमा गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता विदेशीले ल्याएका हुन् भनिन्छ । तपाईंलाई पनि त्यस्तै लाग्छ कि ?

यो त खुला सत्य नै हो नि । धेरै लामो तयारी अनुसार यो सबै भएको छ । जुन पार्टी र नेताहरुले आन्दोलनको नेतृत्व गरे, उनीहरु सबै विदेशीको दलाल सावित भइसकेका छन् । दलाल भन्दा उनीहरुलाई अप्रिय लाग्ला । तर, यथार्थमा उनीहरु दलाल नै हुन् । नेताहरु किनबेच पनि भएका छन् । यो कुरालाई इतिहासले प्रमाणित गर्नेछ ।

शिवसेना नेपाल धार्मिक झुकाव भएको पार्टी पनि हो । पछिल्लो समय राष्ट्रपतिले जानकी मन्दिर भ्रमण गर्दा उब्जेको विवादलाई कसरी लिनुभएको छ ?

यो दुर्भाग्यपूर्ण हो । हिन्दू धर्मले कतै पनि विधवालाई मन्दिरमा टेक्न रोक लगाएको छैन । देवता सबैका हुन् । जात वा लिंगका आधारमा पनि मन्दिरमा कसैलाई निषेध गर्न मिल्दैन । अछुत भनिने जाति पनि मन्दिरमा गएर पूजा गर्न पाउँछ । हिन्दु धर्मग्रन्थमा कतै पनि जातपातको कुरा छैन । व्यक्तिगत रुपमा सोध्नुहुन्छ भने म कहिले पनि जातपात मान्दिँन । अछुत भनिएका जातको व्यक्तिहरुसित सँगै बसेर खाएको छु । जातको आधारमा कोही दलित हुँदैन ।

पशुपति मन्दिरमा गैरहिन्दुले किन प्रवेश पाउँदैनन् त ?

गैरहिन्दूको कुरा अलिकति फरक छ । हामी गाईलाई लक्ष्मी मान्छौं र पूजा गर्छौं । गौमांस खानेहरुलाई मन्दिर जस्तो पवित्र स्थलमा प्रवेश दिइनु कदापि उचित हुँदैन ।

पशुपतिमा नाकाबन्दी पीडितका लागि निशुल्क खाना खुवाउँदै हुनुहुन्छ, यो विशुद्ध समाजसेवाको भावना हो कि लोकपि्रयता कमाउने चेष्टा ?

विकुल पनि देश र जनताप्रतिको दायित्ववोधले गर्दा हो । हेर्नुस, हामीले यस्तो काम पहिलोपटक गरेका होइनौं । राष्ट्रमा संकट परेको बेला हामी जहिले पनि अघि सरेका छौं । गत वैशाखमा भुकम्प आउँदा हामीले दैनिक २०-२५ हजारलाई खाना खुवाएकै हौं ।

अहिले पनि नाकाबन्दीका कारण धेरै काठमाडौंवासीको चूल्हो बलेको छैन । हुनेखानेहरु त जसरी पनि व्यवस्था गर्न सक्छन्, तर तल्लो वर्गका जनता भोकभोकै बाँच्नु परेको छ । कुनै पनि नागरिकले खान नपाएर भोकै पर्नु नपरोस् भन्ने सोचाइले हामीले निशुल्क भोजनशाला सुरु गरेका हौं । यसलाई नाकाबन्दी जारी रहँदासम्म निरन्तरता दिने प्रण गरेका छौं ।

from : onlinekhabar.com