रंगेलीमा जे देखियो, त्यही लेखियो
21-January-2016

 

विराटनगर, ८ माघ– प्रधानमन्त्री ओलीकै उपस्थितिमा रंगेलीमा कार्यक्रम हुने भनेर व्यापक प्रचार गरिएको थियो । प्रमुख दल र मधेसीको वार्ता सहमतिमा नपुगेसम्म प्रधानमन्त्रीलाई मधेसमा कार्यक्रम गर्न नदिने भन्दै मोर्चाका कार्यकर्ताले कार्यक्रम विथोल्ने चेतावनी दिइरहेका थिए । यसैबीच उनीहरूले कार्यक्रमकै दिन आमहडताल आह्वान गरेका थिए ।

बिहीबार बिहानसम्म पनि प्रधानमन्त्री ओली नै जाने भन्ने प्रचार थियो । तर, अन्तिममा एमाले महासचिव ईश्वर पोखरेल रंगेली जाने कार्यक्रम बन्यो । उता पर्शुराम बस्नेतले कार्यक्रम सफल बनाउन व्यापक तयारी गरिसकेका थिए ।

युवा संघको आयोजना र मोर्चाको चेतावनीबीच सर्वसाधारण त्रसित थिए । कतिखेर के हुने हो भनेर सबै डराइरहेका थिए ।

युवा संघ र मधेसी मोर्चाले आ–आफ्नो शक्ति प्रर्दशन गरेर गाउँगाँउबाट कार्यकर्ता र सर्वसाधारण ओसारे । पाँच सय मिटरको दूरीमा प्रतिस्पर्धी सभा आयोजना भयो । युवा संघको कार्यक्रममा करिब एक हजार सहभागी थिए भने मोर्चाको सभामा गाँउगाउँबाट लाठी बोकेर आएका करिब पाँच सय कार्यकर्ता थिए ।

चेतावनी दिँदा पनि कार्याक्रम नरोकेको भन्दै मोर्चा कार्यकर्ता उत्तेजित हुँदै युवा संघको आमसभास्थलतर्फ बढेका थिए । प्रहरीले रोकेपछि झडप भयो । स्थिति नियन्त्रणमा लिन प्रहरीले केही सेल अश्रुग्यास प्रहार गरेको र त्यसपछि हवाइफायर गरेको थियो ।

हिंसात्मक घटनापछि युवा संघले कार्यक्रम केही क्षणमै सकेको थियो । तर, त्यतिन्जेलसम्म तीनजनाको ज्यान जाने गरी गोली चलिसकेको थियो ।
नयाँ पत्रिका दैनिकबाट

Write a Comment