मधेस आन्दोलन अब के होला ?
24-January-2016

जलेश्वर–मधेशमा विगत पाँच महिनादेखि जारी आन्दोलनको स्वरुप दोधारमा परेको छ । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा तथा समावेशी मधेशी गठबन्धन लगायतका आन्दोलनरत पक्षहरुले आफ्नो पक्षमा जनसमर्थन रहेको दाबी गर्दै आएपनि आन्दोलनरत दलहरुको केहि कार्यले भने महोत्तरीमा जनसमर्थन घटाएको देखिन थालेको छ ।

यिनै कार्यले अहिले नाकामा समेत शुन्य उपस्थिति,बजार खुल्ला तथा तस्करी फस्टाएको बुद्धिजिवीहरुको बुझाई छ ।

मोर्चामाथीको विश्वास गुम्ने थालनी भने आन्दोलन सुरु भएकै वेला आन्दोलनरत दलहरुको बन्द हुदा समेत जनकपुरका व्यापारीहरुको आलुको ट्रक पास गरिएको देखि भएको बुद्धिजिवीहरुको ठम्याई छ । तत्पश्चात प्रधानमन्त्री चयन प्रकृयामा भाग लिएर मोर्चाले जनसमर्थन गुमाउने दोस्रो खुडकिला टेके । जुन दलको नेतृत्वको पालामा उत्कर्षमा पुग्दै गरेको आन्दोलनका क्रममा पचास जतिको मृत्यु भयो त्यसै दललाई समर्थन गर्नु कतिको उचित थियो ? त्यो आन्दोलनरत पक्षले सम्भवत त्यतीवेला सोचेनन् । त्यसैको परिणाम स्वरुप जनता आन्दोलनबाट टाढिदै र स्थानिय स्तरमा पसल,व्यापारहरु खुल्दै गए ।
हालै मोरंगको रंगेलीमा प्रहरीको गोली प्रहारवाट ३ को मृत्यु र दर्जनौ घाईते भएछि जनकपुर लगायतका मधेशका अधिकांश क्षेत्रमा तनाव भएपनि महोत्तरीमा नाम मात्रको विरोधले दलहरुमाथीको विश्वसनियता गुमेको बुझिन्छ ।

वर्तमानमा छिटफुट वाहेक महोत्तरी पुर्णरुपमा खुल्ला रहेको अवस्थामा आन्दोलनको परिणाम प्रति जनता शसंकित हुन थालेका छन् ।

मोर्चाले तेस्रो निर्णय तिस हजार किसानको हवाला दिदै ट्रक नाकाबाट पास गराएपनि त्यो किसान भन्दा पनि एभरेष्ट चिनी मिलको हकमा वढी भएको साथै निर्णयमा पारदर्शिता नदेखिएकोले निर्णय विवादित हुन पुग्यो । तत्पश्चात गठबन्धनले समेत प्रेस विज्ञप्ती जारी गरि मोर्चाको निर्णय प्रति खेद जनाएपनि चिनीमिलको ट्रकहरु निर्वाधरुपमा आउनुले पनि दलहरुको नियतमाथी नै प्रश्न चिन्ह खडा गर्यो ।
महोत्तरीमा आन्दोलनमा जनसहभागिता मधेशवादी दलको समर्थनमा नभई आन्दोलन दवाउन प्रसासनले गरेको दमनको विरोधमा रहेको सवैले वुझ्नु पर्ने हो ।
सरकारले स्वयम नै स्थानियहरुको घरमा प्रवेश गरि लाठी चार्ज गरेको कर्र्फयुको समय औषधी लिन आएको लाई समेत कुटपिट गरेको जस्ता घटना घटाएपछि प्रसासनको विरोधमा आम जनसमुदाय सडकमा आएको स्थानियहरु बताउछन् ।
अझै पनि आन्दोलनरत पक्ष र सरकार दुवैले विगत ५ महिनाको आन्दोलको विश्लेषण गरेर अगाडी बढेन भने देश अर्कै दिशातिर नमोडिएला भन्न सकिन्न ।

Source:Ratopati.com

Events
Random Picks