सुशीलले भने, ‘ऊ प्लेन आयो’
9-February-2016

२०३० साल जेठ २९ गते । वसन्त भट्टराई, दुर्गा सुवेदी र नगेन्द्र ढुंगेल, जसले विराटनगरबाट उडेको टुइनअटर विमानलाई कोसी ब्यारेजमाथिको आकाशबाट सिधै फर्काएर फारबिसगञ्जतिर पुर्याउँदै थिए। 

सुशील कोइराला फारबिसञ्जको एयरपोर्टमा विमान कुरेर बसिरहेका थिए। बिपी, गिरिजाप्रसाद सबैको योजनामा सम्पूर्ण तयारी सुशीलले गरेका थिए।

बिपी, गिरिजाप्रसाद प्रायः बनारस बस्थे । पञ्चायतविरुद्धको सशस्त्र संघर्ष थियो। सबै भूमिगतै थिए । विनोद अर्याल, जसलाई गिरिजाप्रसादले खुबै विश्वास गर्थे । उनी असल लडाकु पनि थिए पञ्चायतविरुद्धको संघर्षका बखत । 

हतियार किन्न कांग्रेसलाई पैसा चाहिएको थियो तर कहाँबाट जुटाउने भन्ने पक्ष महत्वपूर्ण थियो । अर्याललाई गिरिजाबाबुले भनेका थिए, ‘झापा, मोरङ, सुनसरीबाट कति पैसा जुटाउन सकिन्छ ?’

बैंकबाट पैसा लुट्ने योजना भित्रभित्रै बन्दै थियो । 

त्यो बेला पैसाको मेलोमेसोको सुइँको पाउने कमै थिए । तर भाइ मदन राष्ट्र बैंकको कर्मचारी भएका कारण विनोदलाई बेर नै लागेन। 

भोजपुरमा धेरै पैसा छ भन्ने कुरो आयो । विनोदले गिरिजाबाबुलाई त्यही सुनाए । तर गिरिजाले प्रसादले भने, ‘भोजपुरबाट "स्केप" हुन गाह्रो हुन्छ ।’ 

...

पैसा जुटाउने मामलामा योजना अगाडि बढ्दै नै थियो । विनोद विराटनगर, फारविसगञ्ज, नक्सलवाडी, दार्जीलिङ आवतजावत गरिरहन्थे । 

एक दिन । नक्सलवाडी अफिसमा थिए । गिरिजाबाबु राति १० बजेतिर त्यहीँ अचानक पुगे । 

‘पैसाको काम कत्ति गर्‍यौ?,’ गिरिजाबाबुले सोधे । 

‘हुँदैछ, मैले जानकारी लिइरहेको छु,’ विनोदले भने । 

‘हामीलाई चाहिएको एमाउन्ट भइसक्यो,’ गिरिजाबाबुले विस्तारै भने । 

विनोद तीनछक्क परे, किनकि जसलाई त्यो कामको जिम्मेवारी दिइएको थियो, ऊभन्दा गिरिजा प्रसाद एक कदम अगाडि रहेछन् । भित्रभित्रै प्लानिङ गरिरहेका रहेछन्। ‘भोक लाग्यो मलाई,’ त्यहीबेला गिरिजाबाबुले भने, ‘केही खानेकुरा पाइँदैन ?’ 

विनोद हत्तपत्त बाहिर निस्किए । चिनेजानेको भएका हुनाले त्यतै छेऊका एक जना बंगालीलाई दोकान खोल्न लगाएर खाजा खाए । 

‘लौ अब जाऊँ,’ गिरिजाले भने । कहाँ जाने के गर्ने भन्ने विनोदलाई थाहा थिएन, तर पैसाको व्यवस्था भयो भनेको हुनाले त्यही कामका लागि भन्ने बुझे । 

राति नै पूर्णिया आए, एकछिन त्यहाँ बसे । फेरि हिँडिहाले बनारस । 

भोलिपल्ट विहानै नुहाए । दुई तले घर थियो, बिपी दोस्रो तलामा बस्दा रहेछन् । 

बिपीले विनोदलाई डाके । गिरिजा तल्लो तलामा थिए । 

‘जाऊ, सान्दाजुले के सोध्नुहुन्छ भन्दिनू,’ निर्देशनात्मक तरिकाले गिरिजाले भने । 

त्यहीबेला गिरिजाबाबुले थोरै कुरा खुलाएका थिए । 

‘राष्ट्र बैंक विराटनगरमा एक करोड रुपैयाँ छ रे’ गिरिजाले भने, ‘तिम्रो भाइ मदन पनि इन्भल्ब छ ।’

गर्ने मान्छे तयार छ भने विनोदले इन्कार गरिरहन जरुरी ठानेनन् । 

‘ऊ तयार छ भने मैले भन्न केही छैन,’ विनोदले भने । 

‘सान्दाजुसँग त्यही किसिमले कुरा गर्नू,’ गिरिजाले भने । 

विनोद सरासर दोस्रो तलामा गए । बिपीले सामने बस्न भने । 

‘पैसाको के गर्यौं?,’ बिपीले छोटकरीमा सोधे । 

विनोदले अँ.. भन्दाभन्दै बिपी आफैंले भने, ‘रंगेलीमा पनि होला पैसा तर विराटनगर राष्ट्र बैंकलाई नै गर्ने हो ।’ 

...

गिरिजाबाबुले प्लेनको कुरा गरेकाले विनोदले हल्का छनक पाइसकेका रहेछन् । 

बिपीले सर्रर नाम सुनाए, दुर्गा, बसन्त र नगेन्द्र । 

‘अरुमाथि धेरै विश्वास छैन, बसन्तले चाहिँ एटेम्प्ट गर्छ,’ बिपीले भने, ‘दुर्गाले गर्छ कि गर्दैन ?’ 

काम गर्ने, तर पैसा एकै रुपैयाँ तलमाथि गर्न नहुने निर्देशन बिपीको थियो । एउटा चिनो पनि बाँकी नरहोस् भनेका थिए बिपीले । 

भोलिपल्टै बनारसबाट जोगबनी हिँडे । विराटनगरमा पैसा ‘काउन्टिङ’ हुँदैछ भन्ने जवाफ आयो । त्यस्तै ३५ लाख भारु पैसा रहेको पत्ता लाग्यो । 

विनोदले तुरुन्तै गिरिजालाई त्यो कुरा सुनाए । उनले जति छ त्यति नै गर्ने हो अहिले पैसा जसरी नि जुटाउनु छ भने । 

अब भने त्यो पैसा कसरी हात लगाउने भन्ने विषयमा रफ्तारमा योजना बन्न थाल्यो । 

‘टुइनअटर आउँछ कि ठूलो आउँछ पत्तो लगाउनू,’ गिरिजा प्रसादले भनेका थिए । 

विनोदको कमाण्डमा सुवेदी, ढुंगेल र भट्टराई खटिए । दिनैपिच्छे विराटनगर विमानस्थल धाउन थाले । 

राष्ट्र बैंकबाट कहिले पैसा जान्छ त्यही दिन तीन भाइ जाने सल्लाह थियो । त्यसैले दिनैपिच्छे टिकट सारिरहन्थे । त्यो क्रम ५/७ दिनै चल्यो । 

त्यहीबेला फेरि गिरिजाले विनोदलाई डाके । मनहरि बरालका सामने सुशीललाई औंल्याउँदै बिपीले विनोदलाई भने, ‘उसले जहाँ भन्छ त्यहीँ प्लेन उतार्ने हो।’ 

सुशीलले ठाउँ पत्ता लगाइसकेका रहेछन्, फारबिसगञ्ज । जहाँ कच्ची एयरपोर्ट थियो । 

राति त्यस्तै १० बजेको थियो होला । गिरिजाबाबुले भने, ‘तिमीहरू ठूलो मिसनमा जाँदैछौ, त्यसको इञ्चार्ज विनोद हो ।’

तर बिपीलाई भने कहाँ प्लेन उतार्ने भन्नेमा हल्का चिन्ता लागिरहेको रहेछ । 

उनले विनोदलाई भने, ‘फारबिसगञ्जमा भएन भने बंगलादेश हुन्छ कि दार्जीलिङ, खर्साङ जता भए नि हुन्छ ।’

‘सबै मेनेज भइसक्यो,’ विनोदले भने । 

कोहीकोही रक्सी पनि खान्थे । त्यो दिन कसैलाई पनि रक्सी नखान सचेत गराइएको थियो । भोलिपल्ट चक्र बाँस्तोला पटनाबाट आइपुगे, बिपीको कार लिएर। ब्रज सिंह (बिपीका साथीका भाइ), विनोद, सुशील एउटा गाडीमा, बिपी, गिरिजा अर्को गाडीमा । 

कांग्रेसको त्यो संघर्षका बेला भारतीय प्रहरीले पनि त्यतिधेरै चेकजाँच गर्दैनथ्यो । सबै जना फारबिसगञ्ज पुगे । त्यो कच्ची रनवेमा गाडी यताउति घुमाउन थाले । 

त्यहीबेला एयरपोर्टका इञ्चार्ज आएर हप्कीदप्की गरे । 

‘रन वेमा के गरेको ? यहाँ गाडी कुदाउन पाइँदैन,’ उनले भने । 

तर विनोदसहितको टिमले त्यसलाई सहजपूर्वक लिएर भने, ‘हामी गाडी सिक्न आएको ।’ 

एयरपोर्टकै कर्मचारीले हुँदैन भनेपछि गाडी साइड लगाए । प्लेनको प्रतिक्षा गरिरहेका होलान् भन्ने कसैले भेऊ पाएन । 

...

एक घन्टा कुरे । प्लेन आउने सुरसार छैन । 

पश्चिमतिरको आकाश हेरेर बसिरहेका थिए । केही समयपछि जहाज आउँदै गरेको विनोदले देखेछन् । तर पाइलटले एक चोटीमा ल्याण्ड गर्न सकेनन् । जहाज फर्कियो । 

अब भने शंका लाग्न थाल्यो । सबै आश्चर्यमा परे । 

‘मिसन फेल त भएन ?, कि कसैले चाल पायो ?,’ सबै गम्भीर भए । 

मनहरि बराललाई त्यतिबेलै सन्का छुटेछ । 

‘पैसा आउँदैछ, हाइज्याक गरेर आउँदैछ, सब तिमीहरू पागल भयौ, फँसिने भइयो,’ बरालले रिसाउँदै भने, ‘गिरिजा पनि पागल नै हो, तिमीहरू पनि पागल हौ ।’ 

बराल रिसाउँदै गनगनाइरहेका थिए । त्यहीबेला सुशील बोले । 

‘ऊ प्लेन आयो,’ सुशीलले भने । 

विनोदले कमिज फुकाले । दाहिने हातले कमिज फहराए । 

केही बेर नकट्दै पाइलटले ल्याण्ड गरे । पंखा घुमिरहेको थियो । जहाज रोकिएको थिएन । भित्र तीनै जनाले पाइलटलाई जता लान्छौं त्यतै हिँड्न भनेर पहिले नै आफ्नो कब्जामा लिइसकेका थिए, त्यहीबमोजिम निर्देशन गरिरहेका थिए । 

उनीहरूको योजना थियो, ‘पैसा निकाल्नेवित्तिकै प्लेन हिँडोस् ।’ त्यसैले इञ्जिन बन्द गरिरहन जरुरी थिएन । 

सिँढी थिएन । त्यसैले अग्लो मान्छे भित्र छिर्न चाहिएको थियो । 

विनोदले मनहरिलाई अह्राए, ‘तिमी जाऊ ।’ 

मनहरि अगाडि बढे । ठिक त्यतिबेलै प्लेनको ढोका खुल्यो । मनहरि चढे । 

तीन वटा बक्सा थिए, दस–दस लाख रुपैयाँ भारु पैसाका । 

सबै अलर्ट भए । प्लेनमा रहेका तीनै जना र मनहरि मिलेर पैसा झारे । 

यात्रुहरू रोइकराइ गरिरहेका थिए, किनकि कोसी ब्यारेज माथिको आकाशमै ‘प्लेन हाइज्याक्ड’ भनिसकेका थिए । 

‘तपाईंहरूलाई केही हुँदैन, यो प्लेन तुरुन्तै विराटनगर कि काठमाडौं गइहाल्छ,’ अपहरणकारीहरूले सम्झाइरहेका पनि थिए । 

...

दस मिनेटभन्दा बढी समय बस्न अफ्ठेरो थियो । किनकि त्यहाँको पुलिस स्टेशनबाट पहरी आउन त्यति नै मिनेट लाग्थ्यो । यदि प्रहरी आएर समाएको भए सबै जना जेल पर्थे, न पैसा हात लाग्थ्यो न पञ्चायतविरुद्धको संघर्ष नै अघि बढ्थ्यो । 

तीन वटा जीप तयारी अवस्थामा थिए । सबै जना मिलेर एक–एक वटा बक्सा जीपमा हाले । त्यसपछि सिधै फारबिसगञ्ज गए । 

सरकारी छाप लागेका थिए बाकसमा । भारतीय प्रहरीले चेकजाँच गर्दा त्यो खुल्छ भनेर बाकस चाहिँ फारबिसगञ्जको नहरमै फाल्दिए, बोरा बोरामा पैसा हाले । 

कता भाग्ने भन्ने थाहा थिएन । 

त्यहीबेला गिरिजाबाबुले भने, ‘दार्जीलिङतिर लाग्ने हो ।’ 

गाडीलाई तीव्र रफ्तारमा दौडाउन भनिएको थियो । कम्तीमा ११० को स्पीड होस् । चालकले त्यही किसिमले गाडी दौडाएका थिए । बागडोग्रा पुगे । त्यहाँ गाडीमा तेल हाले । दुर्गा सुवेदी बिपीको साथीका भाइको गाडीमा हिँडे । 

विनोद, नगेन्द्र, वसन्त सिधै दार्जीलिङ हानिए । जहाँ चक्रप्रसाद बाँस्तोला बस्थे । त्यो दस लाख त्यहीँ फटाफट निकाले । 

...

पञ्चायतविरुद्धको सशस्त्र संघर्षका बखत सुशील कोइराला धेरै भारत बसे । उनले लामो समय जेलजीवन पनि बिताए । भारतमै अध्ययन गरे । कांग्रेसको बहुचर्चित ‘प्लेन हाइज्याक’ काण्डका एक व्यक्ति कोइराला पनि हुन्, उनले विमान उतार्नेदेखि लिएर हरेक ठाउँको योजना बनाएका थिए । 

‘उहाँले नै हो लोकसन पत्ता लगाउनुभएको,’ प्लेन हाइज्याक काण्डकै अर्का व्यक्ति दुर्गा सुवेदी भन्छन्, ‘विनोद अर्याल इञ्चार्ज हुनुहुन्थ्यो, त्यो योजनाको सम्पूर्ण तयारी सुशीलजीले गर्नुभएको हो ।’