सानका साथ मर्छु, टाङमुनि छिर्दिनँ : प्रधानमन्त्री अोली
2-June-2016

जेठ २१ काठमाडौं–प्रधानमन्त्री केपी ओलीले कसैले तत्काल ‘प्रधानमन्त्री पद छाड्’ भनेर हप्काउने वा तर्साउँदैमा आफू पदबाट नहट्ने बताएका छन् । मानवअधिकार एलाइन्सद्वारा बिहीबार आयोजित कार्यक्रममा आफ्नो तर्सिने बानी नभएको पनि बताए ।

नाफाको जिन्दगी देशका लागि खर्चन्छु

देशलाई शिरमा राखेर भन्छु, मैले सधैँ भन्ने गरेको पनि छु– यो मेरो नाफाको बाँकी जिन्दगी देशका लागि खर्चिनेछु । केही गर्न सकिनँ भने पनि आँटका साथ बाँच्छु, सानका साथ मर्छु । कसैले मलाई मार्छ भने पनि टाङमुनि छिर्ने छैन, हाम्रो देशको विकास हामीले नै गर्ने हो ।

जन्मिदैँ पद लिएर आएको होइन

दलहरूबीच धोकापूर्ण होइन, पारस्परिक विश्वासका आधारमा सम्बन्ध विकास गर्दै जानुपर्छ । दलहरू दलीय स्वार्थ होइन, राष्ट्रिय स्वार्थलाई ध्यानमा राखेर चल्नुपर्छ । म जन्मँदा प्रधानमन्त्री भएर जन्मेको होइन र मर्दा पनि प्रधानमन्त्री पद लिएर जाने होइन । देश र जनताको सेवा गर्दै यहाँ आएको हुँ, मलाई कमाउनु छैन, कसैका लागि कमाइदिनु पनि छैन, भ्रष्टाचार पनि गर्नुछैन । देश बनाउने समय पाएको छु, जति दिन प्रधानमन्त्री हुन्छु २४ सै घन्टा देश विकासमा लाग्छु ।

समस्या हल हुन्छन् भने धर्ती छाड्न पनि तयार छु

मैले प्रधानमन्त्रीको पद छाड्दा देश र जनताको भलो हुन्छ, समस्या हल हुन्छन् भने कुर्सीमोह छैन, बरु धर्ती नै छाड्नुपरे पनि छाड्न तयार छु । काँध फेर्न मात्रै छोड्नु भनेको हो भने केपी ओलीको काँध गलिसकेको छैन, किन फेर्नुपर्‍यो ? आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

Write a Comment