सरकारी कार्यक्रम बहिष्कार गरे प्रचण्ड र देउवाले
14-July-2016

काठमाडौं, असार ३० ।  नयाँ सरकार गठनको कसरतमा लागेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकारी कार्यक्रम बहिष्कार गरेका छन्।

कांग्रेस सभापति देउवा र माओवादी केन्द्रका अध्यक्ष दाहालले रक्षा मन्त्रालय र राष्ट्रिय सुरक्षा परिषद्ले बिहिबार काठमाडौंमा गरेको राष्ट्रिय सुरक्षा गोष्ठी बहिष्कार गरेका हुन्। रक्षा मन्त्रालय र राष्ट्रिय सुरक्षा परिषद्ले पूर्वप्रधानमन्त्रीको हैसियतमा देउवा र दाहाललाई निमन्त्रण गरेका थिए।

आयोजकले देउवा र दाहालका लागि मञ्चमा अलग्गै कुर्सीको व्यवस्था गरेका थिए। प्रधानमन्त्री केपी शर्मा ओलीले देउवा र दाहालले कार्यक्रम वहिष्कार गरेकामा दुःख व्यक्त गरे। उनले राष्ट्रिय सुरक्षा कुनै एउटा मन्त्रालयको मात्र चासोको विषय नभएकाले सबै पूर्व प्रधानमन्त्रीहरुलाई निम्ता गरिएको तर प्रमुख दलको नेतृत्वमा रहेका पूर्वप्रधानमन्त्री नै कार्यक्रममा अनुपस्थित हुनु चिन्ताको विषय भएको बताए। उनले राष्ट्रिय सुरक्षाका विषयमा सबैको समान धारणा बनाउन आवश्यक रहेको बताए।