शेरबहादुर र प्रचण्डलाई बालुवाटार बोलाए प्रधानमन्त्री ओलीले
18-July-2016

नयाँ सरकार गठनबारे छलफल गरिने

३ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डलाई छलफलका लागि बालुवाटार बोलाएका छन् ।

प्रधानमन्त्रीले देउवा र प्रचण्डलाई सोमबार अपरान्ह ५ बजे बालुवाटार बोलाएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले अनलाइनखबरलाई बताए । ‘प्रधानमन्त्रीले देउवा र प्रचण्डलाई बालुवाटारमा छलफलका लागि बोलाउनुभएको छ,’ अधिकारीले भने, ‘अहिले देखिएका संवैधानिक जटिलताबारे छलफल गर्न शीर्ष नेताद्वयलाई प्रधानमन्त्रीले बोलाउनुभएको हो ।’

प्रधानमन्त्री ओलीले आइतबार बेलुका बालुवाटारमा संवैधानिक कानूनका ज्ञाताहरुसँग परामर्श गरेका थिए । प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध अविश्वासको प्रस्ताव पारित भयो भने नयाँ सरकार कसरी गठनहुन्छ भन्नेबारे प्रधानमन्त्रीले कानूनविदसँग आइतबार छलफल गरेका हुन् ।

सो परामर्शका क्रममा कानूनविदहरुले प्रधानमन्त्रीलाई तीनवटा विकल्प सुझाएका थिए । नयाँ सरकार गठनका लागि संविधानको धारा २९८ (२) मा रहेको ‘एक साताभित्र’ भन्ने प्रावधान संशोधन गर्नुपर्ने विज्ञहरुको सुझाव छ । त्यसो हुन नसके संसद अधिवेशन अन्त्य गरेर बाधा अड्काउ फुकाउनुपर्ने र तेस्रो विकल्प राजनीतिक सहमतिका आधारका संसदले प्रस्ताव पारित गर्नुपर्ने वकिलहरुले प्रधानमन्त्रीले सुझाव दिएका थिए ।

स्रोतकाअनुसार प्रधानमन्त्रीले सत्ता हस्तान्तरण गर्नका लागि नयाँ सरकार गठन कसरी गर्ने भन्ने विषयमा देउवा र प्रचण्डसँग छलफल गर्न लागेका हुन् ।

स्रोत : अनलाइनखबर