भारतले दशगजा मिचेर बाँध बनाउन थालेपछि नेपाली उत्रिए विरोधमा
28-July-2016

शिवहरि भट्टराई (इमेज)

राजविराज, साउन १३ । सप्तरीको सीमावर्ती क्षेत्र तिलाठीमा भारतले दशगजा मिचेर एकतर्फीरुपमा बाँध निर्माण गर्न थालेपछि नेपालीहरु विरोधमा उत्रिएका छन् ।

दुई देशबीचको दशगजा क्षेत्र नै मिचेर नेपाली भूमि डुबानमा पार्ने गरी बाँध निर्माण सुरु गरेपछि उक्त बाँध भत्काउन गएका नेपाली र भारतीयबीच विहीबार झडपसमेत भएको छ ।

नेपाली पक्षले सीमावर्ती क्षेत्रमा बाँध निर्माण नगर्न आग्रह गर्दागर्दै गत शनिबारदेखि भारतीयहरुले बालुवाका बोरा राखेर बाँध बनाइरहेका छन् ।

माथिको आदेश भन्दै १ सय ५० जना भारतीयहरु दैनिक बाँध बनाउन तल्लिन रहेकोमा विहीबार भने नेपालीहरुको विरोधका कारण निर्माणको काम रोकिएको छ ।

सीमा क्षेत्रमा रहेका सशस्त्र प्रहरीले र स्थानीयले कुनैपनि हालतमा बाँध बनाउने काम अघि बढ्न नदिने बताएपछि तनाव उत्पन्न भएको छ ।

उक्त बाँध निर्माण भए नेपालतर्फ खाँडो खोलाको निकास थुनिने छ, जसका कारण नेपालका तिलाठी, रम्पुरा मल्हनिया, सकरपुरा, विषरिहया, कोइलाडी र बरसाइनलगायतका कम्तिमा १२ ओटा गाविस डुबानमा पर्नेछन् ।

१५ वर्षअघि भारतीय पक्षले एकपक्षीयरूपमा खाँडो खोलाको बहाव थुनिने गरी दशगजामा बाँध निर्माण सुरु गरेको थियो ।

गत शनिबार खाँडो खोलाको बाढीले उक्त बाँध भत्काइदिएको थियो ।

 

Events
Random Picks