मधेसी मोर्चालाई प्रचण्डको प्रस्तावः संविधान संशोधन विधेयक दर्ता गर्छु, म्यान्डेट दिनुस्
31-October-2016

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधन विधेयक दर्ता गर्ने भन्दै सहमति दिन मधेसी मोर्चा र संघीय गठवन्धनलाई आग्रह गरेका छन् ।

प्रचण्ड र सत्तारुढ कांग्रेसका शीर्ष नेताहरुले गठवन्धनका नेताहरुसँग वार्ता गरेर संविधान संशोधनमा सरकारले गरेको तयारीबारे जानकारी गराएका छन् ।

प्रधानमन्त्री प्रचण्डले कात्तिक मसान्तभित्र विधेयक दर्ता गर्ने भन्दै म्यान्डेट दिन आग्रह गरेका छन् । वार्तामा सहभागी रामसपाका महासचिव केशव झाले अनलाइनखबरसाग भने, प्रधानमन्त्रीले सरकार संविधान संशोधन विधेयक दर्ता गर्ने तयारी छ, सहमति दिनुस् भन्नु भएको छ ।

के छ सरकारी प्रस्ताव ? 

बैठकमा प्रधानमन्त्री प्रचण्ले संशोधन प्रस्तावको कुनै लिखित गठवन्धनका नेताहरूलार्इ दिएनन् । तर, यसअघि भने अनुसार नै चार विषयमा संशोधनको तयारी रहेको बताए

 

सीमांकन, नागरिकता, भाषा र राष्ट्रिय सभाको प्रतिनिधित्वबारे संशोधन गर्ने सरकारको गृहकार्य छ । सीमांकनमा प्रदेश नम्बर ४, ५ र ६ को सीमांकन हेरफेर गर्ने प्रस्ताव छ । यसो गर्दा प्रदेश नम्बर ५ नवलपरासीदेखि बर्दियासम्मको हुनेछ भने गुल्मी, अर्घाखाँची र पाल्पा प्रदेश नम्बर ४ मा थपिनेछ भने रूकुम, रोल्पा र प्युठान प्रदेश नम्बर ६ मा थपिनेछ ।

 

यस्तै सीमांकनबारे अन्तिम निर्णय गर्न ५ वर्षे म्याद दिएर संघीय आयोग गठन गर्ने प्रस्ताव रहेको स्रोतले बताएको छ । आयोगको टीओआर भने फराकिलो राख्ने र यसले सबैका माग सम्बोधन गर्न सक्ने प्रधानमन्त्रीको प्रस्ताव छ ।

यस्तै नागरिकताबारे अन्तरिम संविधानमा भएको व्यवस्थालाई निरन्तरता दिने र भाषा आयोगले दिएको सुझावलाई संविधानको अनुसूचीमा राख्ने प्रस्ताव प्रचण्डको छ । राष्ट्रय सभामा प्रत्येक प्रदेशबाट न्यूनतम ३ सदस्य र बाँकी जनसंख्याका आधारमा हुने व्यवस्था गर्न सकिने प्रधानमन्त्रीले बताएको एक नेताले जानकारी दिए ।

के भने मोर्चाका नेताहरूले ? 

प्रधानमन्त्रीको प्रस्तावमा मधेसी मोर्चा र गठवन्धनका नेताहरूले सकारात्मक जवाफ दिएका छन् । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले संशोधन प्रस्ताव दर्ता गर्न अनुरोध गरे भने केही नेताले संशोधन दर्ता भएपछि त्यसको विषयवस्तु हेरेर थप धारणा बनाउने बताएका छन् ।

बैठकपछि कांग्रेस नेता एवं गृहमन्त्री विमलेन्द्र निधिले संविधान संशोधन विधेयक यसै महिनाको अन्तिमसम्ममा दर्ता हुने भन्दै  प्रधानमन्त्रीले सहमति मागेको जानकारी दिए ।

तमलोपाका नेता हृदयेश त्रिपाठीले संविधान संशोधन विधेयक दर्ता गर्न सहमति दिएको बताए । यद्यपि त्यसको विषयवस्तुबारे भने विधेयक हेरेपछि धारणा बनाउने बताएका छन् ।

Write a Comment