' एमालेले जनतामा भ्रम फैलाए , कुनैपनि हालतमा हामीले तीनैवटा निकायको चुनाव जित्नैपर्छ ' : देउवा
12-November-2016

२७ कात्तिक, पोखरा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अब तीन वटै चुनाव कांग्रेसले जित्नु पर्ने भन्दै गाउँ पस्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् ।

पोखरामा शनिबारबाट सुरु भएको नेपाल तरुण दलको अधिवेशन उद्घाटन गर्दै देउवाले भने-‘जनतालाई भ्रम फैलाउने काम एमालेले गरेको छ, कुनैपनि हालतमा हामीले तीनैवटा निकायको चुनाव जित्नैपर्छ, यो नेपाली कांग्रेसको अन्तिम मौका हो ।’

सबैभन्दा गतिशील शक्ति तरुण दल र नेविसंघ भएको भन्दै उनले अब जिल्ला दौडाहामा लाग्न निर्देशन समेत दिए ।

साथै तरुण दलको नेतृत्व सर्वसम्मत बनाउन पनि भनेका छन् । सबैलाई समेटेर सन्तुलित ढंगले नयाँ कार्यसमिति चयन गर्न उनले सुझाव दिए । तरुण दलमा महत्वपूर्ण भूमिका खेलेका युवाहरुलाई कांग्रेसले उचित जिम्मेवारी दिइने देउवाले बताएका छन् ।

कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले असन्तुष्ट दलहरुलाई शान्त पारी चुनावको बाटा खुलाउनुपर्ने बताए । साथै उनले उनले मधेसी मोर्चा तथा संघीय गठबन्धनमा आबद्ध दलहरुलाई संविधान संशोधनका लागि लचिलो हुन आग्रह गरेका छन् ।

प्रमुख तीन दल कांग्रेस, एमाले र माओवादीले असन्तुष्ट दलहरुलाई राष्ट्रिय एकता र अखण्डता कायम हुनेगरी संविधान संसोधन गर्नुपर्नेमा उनले जोड दिए ।

उनले सभापति देउवाप्रति संकेत गर्दै एक्लै पार्टी चलाउने प्रयास गरे सफल नहुने चेतावनी दिएका छन् । सभापतिले एकता अभियान चलाए आफू अप्ठ्यारोमा परेपनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कांग्रेस महामन्त्री शशांक कोइरालाले देश र पार्टीमा युवा पुस्तालाई उचित स्थान दिएर देशविकासमा अग्रसर बनाउनुपर्ने धारणा व्यक्त गरे ।

यस्तै कांग्रेस नेता तथा गृहमन्त्री विमलेन्द्र निधिले प्रदेश सीमांकन, नागरिकता, राष्ट्रिय सभा र भाषाबारे संविधान संशोधनको तयारी भइरहेको जानकारी दिए । उनले हिन्दी भाषा पहिल्यैदेखि तराई क्षेत्रमा सम्पर्क भाषाको रुपमा रहेको भन्दै यसलाई विवादमा ल्याउनु उचित नहुने बताए ।

कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले सबै दलको सहमतिमा संविधान संशोधन गरिनुपर्ने बताए ।

तरुण दलले पोखराको व्यस्त चोक मध्येको एक चिप्लेढुङ्गा मानवअधिकारचोकमा बाटो पूरै रोकेर उद्घाटन सत्र गरेको हो । तरुण दलको नयाँ नेतृत्वको लागि ११ वर्षपछि भइरहेको अधिवेशनको दोश्रो दिन आइतबार बन्दसत्र शुरु हुनेछ । बन्दसत्र पोखरा सभागृहमा हुने तरुण दलले जनाएको छ ।

सोमबार भने नयाँ नेतृत्वको लागि चुनावी कार्यतालिका छ ।

शब्द : अनलाईन खबर बाट
फोटो : अरुण गिरी, बिप्सन के. सी र अनिश गुरुङ / जक्सन डट कम

see more photos : http://jukson.com/event/542