प्रधानमन्त्री प्रचण्डद्वारा सम्पत्ति विवरणभन्दा बाहेक आफूसँग थप कुनै सम्पत्ति नभएको दाबी
17-December-2016

चितवन, पुस २ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सार्वजनिक गरिएको सम्पत्ति विवरणभन्दा बाहेक आफूसँग थप कुनै सम्पत्ति नभएको दाबी गर्नुभएको छ । प्रधानमन्त्री प्रचण्डले आफ्नो सम्पत्ति विवरण बारे अनावश्यक टिकाटिप्पणी नगर्न आग्रह गरे । 
चितवनको शिवनगरमा दाजुभाइबीच अंशबण्डा पर्दा डेढ बिगाहा जग्गा पाएको तर पार्टीको निर्णयअनुसार सबै बेचेर पार्टीलाई बुझाएको बताउँदै उनले अंशबण्डा गर्दा श्रीमतीको नाममा भरतपुरमा एक कठ्ठा जग्गा परेको बताए । त्यो बाहेक अहिले अरु सम्पत्ती नभएको उनको दाबी छ । अग्ला भवन बन्ने वित्तिकै प्रचण्डको लगानी भन्ने गरेको भन्दै प्रभानमन्त्री दाहालले भने, ‘भर्खरै उद्घाटन भएको चन्द्रागिरी केबलकार पनि प्रचण्डकै लगानीमा बनेको हल्ला चलेको छ ।’
अर्को एक प्रसंगमा उनले संसदमा दर्ता भएको संविधान संशोधनको प्रस्ताव प्रक्रियामा अगाडी बढ्ने बताए । शनिबार बिहान भरतपुरमा प्रेस सेन्टरले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रधानमन्त्री दाहालले संविधान संशोधनको प्रस्ताव अगाडि नबढाएसम्म निर्वाचन सम्भव नभएकाले यसको विकल्प नभएको बताए ।
संविधान संशोधन, महाअभियोग र चुनाव घोषणाको काम प्याकेजमै गर्ने प्रयास भइरहेको बताउँदै उहाँले संधिवान संशोधन निर्वाचनकै लागि भएको बताए । संविधान संशोधनको विरोध गर्नुको कुनै तुक नभएकोले सबै मिलेर संविधान कार्यान्वयन तर्फ लाग्नु पर्ने बताउँदै प्रधानमन्त्री दाहालले देशलाई अनिर्णयको बन्दी बनाउन नहुने, संशोधन प्रस्ताव अब टेबलमा गई टुङ्गो लाग्ने बताए ।

Events
Random Picks