तिवारी हत्याका आरोपी मनोज, जो युवा संघकै पूर्वकोषाध्यक्ष हुन्
20-December-2016

'डन' र अपराधीलाई संरक्षण गर्दा एमालेभित्रै असुरक्षा

५ पुस, काठमाडौं । सोमबार अपरान्ह गोली हानी हत्या गरिएका युवा संघका रुपन्देही अध्यक्ष दूर्गा तिवारीको छवि राजनीतिक एवं व्यवसायिक प्रकृतिको थियो । तर, एमालेबाटै संरक्षण गरिएका केही आपराधिक पृष्ठभूमिका व्यक्तिकै कारण निर्दोष तिवारीले ज्यान गुमाउनुपरेको एमालेभित्रै विश्लेषण गर्न थालिएको छ ।


सोमबार हत्या गरिएका युवा नेता तिवारी एमालेका माधव नेपाल गुट कार्यकर्ता थिए । उनको हत्यामा संलग्न भएको आशंका गरिएका मनोज पुन मगरचाँहि युवा संघकै रुपन्देहीका पूर्वकोषाध्यक्ष हुन् । र, उनी त्यसबेला केपी ओली समूहमा थिए ।

महेश बस्नेत युवा संघको केन्द्रीय अध्यक्ष भएका बेला मनोज युवा संघको नेतृत्वमा ल्याइएका व्यक्ति हुन् ।

आफैं उद्योग व्यवसाय गरेर राजनीतिमा अघि बढिरहेका तिवारी युवा संघको जिल्ला अध्यक्ष बनेकोमा मनोज पुनलाई मन परेको थिएन ।

सुरुमा रुपन्देहीका कार्यवाहक जिल्ला अध्यक्षमात्रै बनेका तिवारीलाई पूरै कार्यकालका लागि जिल्ला अध्यक्षको जिम्मेवारी दिने बेलामा पनि ओली पक्षका युवामा असन्तुष्टि देखिएको थियो ।

स्रोत भन्छ- ‘हत्या गरिएका तिवारी कलिलै उमेरमा आत्मनिर्भर बनेका युवा थिए । आफ्नै व्यवसायबाट टिकेर राजनीतिमा अघि बढेको देखेपछि ‘डन’ प्रवृत्तिका परनिर्भर व्यक्तिहरुको नजरमा उनी तारो बनेका थिए ।

तिवारी वैदेशिक रोजगारीको सिलसिलामा कोरिया पुगेर फर्किएपछि ईंटा उद्योगमा सञ्चालनमा लागेका थिए । उनी माधव नेपाल पक्षका युवा संघका नेता राजु गुरुङको समूहमा थिए । गुरुङको नाम विभिन्न ठेक्कापट्टामा समेत जोडिने गरेको छ ।

एमाले संरक्षित ‘डन’

युवा संघका पूर्वकोषाध्यक्ष मनोज पुन र दूर्गा तिवारी गाउँले अर्थात् देवदहकै बासिन्दा हुन् । पुनको समूहलाई गुण्डागर्दीमा संलग्न ‘ग्याङ’का रुपमा लिइने गरे पनि उनी एमालेको भातृ संगठन युवा संघको कोषाध्यक्ष बनाइएकाले एमालेबाटै संरक्षित थिए ।

जतिबेला युवा संघमा चरी र बाहुन डनहरुको बिगबिगी थियो, त्यहीबेला जिल्लामा मनोजको समूहले एमालेको ब्यानरमा आफूलाई राम्रैसित संरक्षण गरेको थियो ।

गत फागुनमा युवाहरुको एक समूहले नकाब लगाएर तिवारीमाथि गोली प्रहारको असफल प्रयास गर्‍यो । त्यो हत्याको प्रयास राजनीतिक उद्देश्यले प्रेरित रहेको बुझाइ तिवारी पक्षको थियो । अर्थात् त्यो घटना युवासंघकै पूर्वकोषाध्यक्ष मनोजको समूहले गराएको र आफ्नो गुटलाई संगठनमा स्थापित गर्न तिवारीमाथि धावा बोलिएको माधव नेपाल पक्षका कार्यकर्ताहरुको दाबी थियो ।

तिवारीमाथि पहिलो आक्रमणमा दुई जना फरार रहे भने केही व्यक्तिहरु पक्राउ परे । यो घटनापछि युवा संघमा लागेर सुरक्षित महसुस गरिरहेका ‘डन’ले आफूलाई असुरक्षित महसुस गर्न थाले । र यही घटनापछि मनोज पुन प्रहरीबाट पक्राउ पर्ने डरले ‘भूमिगत’ बने । उनले बेलाबखत तिवारीलाई धम्की दिने गरेको स्रोत बताउँछ ।

युवा संघका नेता राजु गुरुङ समूहसँग मनोजको राम्रो सम्बन्ध थिएन । राजुले दूर्गा तिवारीलाई संरक्षण गरेका थिए, जसलाई मनोजले आफ्नो बाटाको काँडा ठानेका थिए । तिवारीको राजनीतिक व्यक्तित्व यसरी अघि बढ्दै थियो कि कुनै पनि दिन उनले युवा संघमा राजुलाई ‘क्रस’ गर्ने सम्भावना थियो ।

राजु गुरुङ माधव नेपाल गुटमै भए पनि उनको छवि नेताभन्दा बढी ठेकेदारको जस्तो बनिरहेको छ । तर, दूर्गा तिवारी राजनीतिक छविका कार्यकर्ता थिए । यद्यपि उनीहरु दुबै एउटै गुटमा थिए । उनीहरुवीच व्यवसायिक कारोबारसमेत थियो । राजुले पशुपति मुरारकाको अर्घाखाँची सिमेन्टको कच्चापदार्थ ढुवानी गर्ने चुनढुंगाको समेत ठेक्कामा हात हालेका छन् ।

त्यसो त मनोज पुन र दूर्गा तिवारीका वीचमा पनि विगतमा केही ‘बिजनेस स्वार्थ’हरु जोडिएको प्रहरीको प्रारम्भिक दाबी छ, जसको पुष्टि गर्ने आधारहरु बाहिर आइसकेका छैनन् ।

अपराधीलाई संरक्षण गर्दा आफैंलाई असुरक्षा

नेकपा एमालेमाथि ‘डन’हरुलाई संरक्षण गरेको आरोप निकै पहिलेदेखि नै लाग्दै आइरहेको हो । विगतमा चरी डनलाई अध्यक्ष केपी ओलीले नै संरक्षण गरेको आरोप पनि लागेको थियो । विशेष गरी महेश बस्नेत युवा संघको अध्यक्ष भएका बेला संघमा धेरै ‘डन’ हरु प्रवेश गरेका थिए । बस्नेतले डनलाई सुधार्ने भन्दै एमालेमा भित्र्याए पनि पछि उनी पेशेबर अपराधीहरुलाई सुधार्न नसकिने निश्कर्षमा पुगेका थिए ।

तर, एकपटक पार्टीमा प्रवेश गरेका डनहरुले आफू सुधि्रनु त परै जाओस् पार्टीभित्रैका नेता कार्यकर्तालाई सिध्याउनेसम्मको हर्कत गर्ने दृष्टान्तका रुपमा तिवारीमाथिको आक्रमणलाई हेर्न थालिएको छ ।

अहिले पनि विभिन्न जिल्लामा एमालेको युवा संघभित्र ‘ग्याङ फाइट’ गर्ने समूहहरुको बोलबाला घटेको छैन ।

गत वर्ष मीनभवनमा युवा संघका केन्द्रीय नेता अशोक चन्द निर्घात पिटिए । उनलाई पिट्नेहरु अरु कोही नभएर युवा संघकै केपी ओली गुटका कार्यकर्ताहरु थिए ।

त्यसो त एमाले मात्रै होइन, नेपाली कांग्रेस र माओवादीभित्र पनि डनलाई संरक्षण गर्ने प्रचलन एउटा राजनीतिक विकृतिका रुपमा देखा पर्ने गरेको छ । प्रहरीद्वारा इन्काउन्टरमा मारिएका घैंटेलाई कांग्रेस नेताहरुले संरक्षण गरेका थिए भने दीपक मनाङ्गेजस्ता पुरानो पुस्ताका डनहरु पनि राप्रपा लगायतका पार्टीबाट संरक्षित हुँदै आएको देखिन्छ । माओवादी पार्टी पनि यो विकृतिबाट मुक्त छैन ।

तिवारी हत्याको घटनाले राजनीतिक दल र संगठनभित्र मौलाइरहेको अपराधीकरणबारे गम्भीर रुपमा सोच्न दलहरुलाई घच्घच्याएको छ ।

मनोज पुन नै हत्यारा हुन् त ?

तिवारीको हत्यामा जरी मनोज पुनको नाम अगाडि आएको छ, त्यसको अहिलेसम्म पुष्टि भइसकेको छैन । स्वतन्त्र रुपले पुष्टि नहुँदासम्म कसैलाई हत्यारा भनिहाल्न सकिँदैन । प्रहरी र एमालेभित्रैका नेताहरुले मनोज पुनमाथि आशंका गरे पनि यसबारे थप अनुसन्धान हुन बाँकी नै देखिन्छ ।

इन्टरनेटको प्रयोगबाट गरिएको टेलिफोनमार्फत मनोजले हत्या स्वीकार गरेर प्रचार गरिए पनि हत्याराहरु अन्यत्रै लुकेर बसेका पनि हुन सक्छन् ।

र, उनीहरु एमालेभित्रै संरक्षित पनि हुन सक्छन् । वा मनोजको नाम मुछेर घटनालाई विषयान्तर गर्दै बाहिरै लुकेर बसेका पनि हुन सक्छन् । घटनालाई मनोजतिर देखाइदिएर अपराधीहरु जोगिन खोजेका हुन् भने त्यता पनि ध्यान दिन जरुरी छ ।

विषयान्तरको प्रयास र शंकाको सुई

यसैवीच युवा संघको स्थायी कमिटीको बैठकमा यो घटनालाई तराईको सशस्त्र समूहको ‘सार्प शुटर’को प्रयोग गरिएको भन्दै राजनीतिकरण गर्ने प्रस्ताव पनि नआएको होइन । तर, घटनालाई विषयान्तर गर्न नहुने भन्दै अर्को पक्षको विरोधका कारण ‘सार्प सुटर’ तिर देखाउने निर्णय युवा संघले गरेन । र, छानविन टोली बनाउने माग अघि सार्ने निर्णय युवा संघको बैठकले गर्‍यो ।

तिवारी हत्याबारे एमाले महासचिव ईश्वर पोखरेलकै हस्ताक्षरमा जारी गरिएको वक्तव्यमा प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री विमलेन्द्र निधीको समेत नाम जोडिएको थियो । तर, यसको अनुसन्धानको सुईचाँहि अहिलेसम्म युवा संघकै पूर्व कोषाध्यक्ष मनोजतिर सोझिइरहेको छ । र, यो हत्या राजनीतिक कारणले, अर्थात युवा संघभित्रैको राजनीतिक कारणले भएको हुन सक्ने आशंकाले मलजल पाइरहेको छ ।

आशा गरौं, युवा नेता एवं व्यवसायी तिवारीको हत्या युवा संघभित्रैको गुटगत झगडाबाट सिर्जित भएको प्रमाणित नहोस् ।


अनलाईन खबर बाट

Events
Random Picks