कांग्रेसले मन्त्रालय छाड्दा राप्रपा अध्यक्ष थापाको सत्तारोहण रोकियो
28-December-2016

१३ पुस, काठमाडौं । प्रमुख सत्तारुढ घटक नेपाली कांग्रेसले परराष्ट्र मन्त्रालय छाड्न नमानेपछि राप्रपा अध्यक्ष कमल थापाको सत्तारोहण रोकिएको छ । पार्टी एकीकरण लगत्तै उपप्रधानमन्त्री र पूर्ववर्ती सरकारका दुई मन्त्रालयसहित सरकारमा जान खोजेका थापालाई कांग्रेसले रोकेको हो ।
कमल थापाको सत्ता यात्रामा कांग्रेस तगारो बनेपछि संविधान संशोधन विधेयक लगायत सरकारका निर्णयहरुप्रति थापाले निरन्तर अशन्तुष्टि र सहमति जनाउँदै आएका छन् । उनले संविधान संसोधन विधेयकको विपक्षमा मतदान गर्ने समेत बताइसकेका छन् ।
राप्रपा सत्ता गठबन्धनको तेस्रो ठूलो दल हो । उसको संसदको गणितको शक्ति पनि माओवादीको भन्दा आधा छ । यसअघि राप्रपा र राप्रपा नेपाल एकीकरण हुनुअघि राप्रपाले २ मन्त्रालय पाएको थियो ।
अहिले राप्रपाको सीट संख्या ३७ छ । राप्रपामा कि त पार्टी अध्यक्ष थापा सरकारमा जानुपर्ने कि त दुई मन्त्रीलाई पनि फिर्ता बोलाएर विपक्षमा बस्नुपर्ने दबाव बढिरहेको छ । यो जानकारी सत्ता गठबन्धनका नेताहरुलाई समेत गराइएको छ ।
स्रोतका अनुसार राप्रपाले उर्जा र स्थानीय विकास मध्य एक र परराष्ट्र मन्त्रालय दावी गरेको छ । माओवादी पक्षले एउटा मन्त्रालय उनलाई दिन सकिने संकेत गरिसकेको छ । सम्भवतः माओवादीले स्थानीय विकास छाड्नेछ ।
तर, कांग्रेसले परराष्ट्र मन्त्रालय छाड्न मानेको छैन । यसबीचमा शेरवहादुर देउवा र विमलेन्द्र निधीले राप्रपा नेताहरुलाई कमल थापाको साटो अर्को नेतालाई मन्त्री बनाएर पठाउन आग्रह गरेका छन् ।

 

Events
Random Picks