तेह्रथुमको संक्रान्ति बजारका आगलागी पीडितको लागि एक करोड रुपैयाँ उपलब्ध गराउने प्रधानमन्त्रीकाे घोषणा
3-January-2017

१९ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तेह्रथुम जिल्लाको संक्रान्ति बजारका आगलागी पीडितहरुको पूनर्बासका लागि एक करोड रुपैयाँ उपलब्ध गराउने घोषणा गरेका छन् । मंगलबार आगलागी भएको स्थानको निरीक्षणपछि प्रधानमन्त्री प्रचण्डले यस्ताे कुरा बताएका हुन् । 

उनले भने, ‘संक्रान्ति बजारमा दमकलको व्यवस्था गर्नेछु, खानेपानी समस्या समाधानका खानेपानी आयोजना सञ्चालन गर्ने, बजारको पूनस्र्थापना र व्यवसाय सञ्चालनका लागि बिना धितो सहुलियत ऋण उपलब्ध गराउने, संक्रान्ति बजारमा नेपाल बैंक, कृषि विकास बैंकको शाखा कार्यालय स्थापना गर्ने, एम्बुलेन्सको व्यवस्था गर्ने अवगत गराउँछु ।’

पुस १ गते संक्रान्ति बजारमा आगलागीमा २९ घर पूर्ण रुपमा र तीन आंशिक रुपमा जलेको थियो भने ५६ परिवार प्रभावित भएका छन् । सानो भएपनि संक्रान्ति बजार ऐतिहासिक महत्व बोकेको ठाउँ भएको भन्दै प्रधानमन्त्रीले यसको पूनर्निर्माण सरकारको प्राथमिकतामा रहेको बताए ।

प्रधानमन्त्रीले संक्रान्ति बजारको आगलागी स्थलको निरीक्षण गरेका छन् । निरीक्षणपछि प्रधानमन्त्रीसहित जिल्लाका सांसद र जिल्ला दैवीप्रकोप उद्दार समितिका सदस्यहरुको बैठकले क्षतिग्रस्त ३२ घर र ५६ परिवारका लागि एक करोड रुपैयाँ उपलब्ध गराउने निर्णय पनि गरेको छ ।

प्रधानमन्त्री प्रचण्ड नेतृत्वको भ्रमण दलमा कांग्रेस नेता कृष्णप्रसाद सिटौला, एमाले प्रमूख सचेतक भानुभक्त ढकाल, प्रधानमन्त्री कार्यालयका सचिव टंकमणि शर्मा लगायत उपस्थिति थियो ।

आगजनीबाट १४ करोड ८ लाख क्षति भएको क्षति मूल्याङ्कन गरिएको प्रमूख जिल्ला अधिकारी मेनुका न्यौपानेले जानकारी दिए । पीडितहरुलाई सरकारले प्रतिघर १० हजार राहत र अस्थायी टहरा बनाएको छ भने विभिन्न संघ संस्थाले खाद्यान्न लगायतका राहत सामग्री उपलब्ध गराएका थिए ।