बर्खास्तमा परेका ज्ञवाली अदालन जाने
11-January-2017

पुस २७ काठमाडौं ।  सरकारद्वारा बर्खास्तमा परेका पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली अदालन जाने भएका छन् । सरकारले बर्खास्त गरेलगत्तै विज्ञप्ति निकालेर ज्ञवालीले आफूलाई अन्यायपूर्ण तरिकाले हटाइएको भन्दै कानुनी उपचार खोज्ने बताए ।

भूकम्पबाट प्रभावित संरचनाहरुको पुनर्निर्माण सम्बन्धी ऐन, २०७२ बमोजिम प्राधिकरणको कार्यकाल पाँच वर्ष रहेको र प्रमुख कार्यकारी अधिकृतको पदमा आफूलाई २०७२ साल पुस १० गतेको मन्त्रिपरिषद्को बैठकबाट ऐनको दफा ११ बमोजिम पाँच वर्षका लागि नियुक्ति गरिएको ज्ञवालीले दावी गरे  ।

पुनर्निर्माण र पुनर्स्थापनाको कार्यलाई द्रुत गतिमा आफूले अघि बढाईरहेको र अन्तर्राष्ट्रिय समुदायले समेत आफ्नो कामको प्रशंशा गरिरहेका बेलामा सरकारले अन्यायपूर्ण निर्णय गरेको ज्ञवालीको विज्ञप्तिमा उल्लेख छ ।पद मुक्त गर्ने सरकारको निर्णयबाट आफू आश्चर्यमा परेको उनले उल्लेख गरे ।

‘ठूलो मात्रामा क्षतिग्रस्त संरचनाहरुको पुनर्निर्माणको नतिजाहरु एकपछि अर्कै गर्दै आइरहेका बेलामा सरकारले मलाई राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्रमुख कार्यकारी पदबाट हटाएको भन्ने जानकारी प्राप्त भएकोमा आश्चर्य लागेको छ’ ज्ञवालीले विज्ञप्तिमा लेखेका छन्  ।

पूर्व निर्धारित कार्यक्रम र योजना अनुसार भूकम्प पीडित भई अनुदान प्राप्त गर्ने छनौट सूचीमा परेका ६ लाख २६ हजार ३६ घरधनीहरु मध्ये पुस २७ गतेसम्म ५ लाख ४७ हजार २ सय २९ घरधनीसँग अनुदान सम्झौता भई ४ लाख ७३ हजार ५ सय ५५ घरधनीको बैंक खातामा पहिलो किस्ताको अनुदान रकम जम्मा भइसकेको उनले उल्लेख गरे ।

दुई पटक स्पष्टिकरण सोधेको सरकारले स्पष्टिकरण चित्त बुझ्दो नभएको भन्दै ज्ञवालीलाई हटाएर राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष गोबिन्द पोख्रेलालाई सिइओ नियुक्त गरेको थियो ।