कपिलवस्तु, माघ २० – कपिलवस्तुको निग्लिहवा गाविस जिल्लाको पहिलो बालमैत्री गाविस बनेको छ ।
सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले बुधबार गाविसलाई बालमैत्री स्थानीय शासनका सूचक पूरा गरेकाले बालमैत्री गाविस घोषित गर्नुभयो ।
गाविससका सचिव मुहानन्द खनालले गाविसले बालबालिकाका क्षेत्रमा उल्लेखनीय काम गर्दै बालमैत्री स्थानीय शासनका ३९ सूचक पूरा गरेको जानकारी दिनुभयो ।
गाविसका सबै बालबालिकाको विद्यालय र खोपमा पहुँच, बाल संरक्षण, बाल विकास, बाल सहभागिता र संस्थागत सबै सूचक पूरा गरिएको छ । यो गाविसबाट बालविवाह गर्ने प्रचलन पनि हटेको छ । हरेक क्षेत्रमा बालबालिकाको उत्साहपूर्ण सहभागिता रहेको बताइएको छ ।
गाविसले पाँच वर्षदेखि बाल अधिकार प्रवद्र्धनका क्षेत्रमा सुक्ष्म तरिकाले काम गर्दै आएको थियो । गएको हप्ता मात्र निग्लिहवा गाविस पूर्णभर्ना, पूर्णखोप र पूर्णसाक्षर गाविस घोषित भएको थियो । रासस