पत्रकार महासंघ कास्कीको अधिवेशन स्थगित
14-February-2017

३ फागुन, पोखरा । पत्रकार महासंघ कास्कीको मंगलबार हुने भनिएको अधिवेशन बिना कारण स्थगित भएको छ ।

प्रेस युनियनले जिल्ला अधिवेशन हुन नदिन दवाव दिएपनि कास्की शाखाले विरोध गरेको थिएन । तर पत्रकार महासंघ कास्की शाखा नेतृत्वले भने अधिवेशन अनिश्चितकालका लागि स्थगित गरेको छ ।

युनियनले विरोधका कार्यक्रम नराख्दा पनि अधिवेशन स्थगित भएपछि कास्कीका पत्रकारहरु आक्रोशित भएका छन् । महासंघ कास्कीमा कुनै विवाद नभएको तथा महासंघको भवनमा तालाबन्दी नभएको र आन्दोलनका कुनै कार्यक्रम नै नभएपनि महासंघ कास्की शाखाका अध्यक्ष रामकृष्ण ज्ञवालीको अकर्मन्यताले अधिवेशन स्थगित भएको आरोप लागेको छ ।

अधिवेशन शुरु हुने समय विहान करीब ९ बजेतिर युनियनका सभापति शिरोमणि वरालले अधिवेशन शुरु नगर्न धम्की दिनुवाहेक कसैले विरोध पनि गरेनन् र त्यसपछि स्वयम् वराल उपस्थित नहुँदा पनि उद्घाटन सत्र शुरु गर्नेतर्फ महासंघ नेतृत्व नलाग्दा उपस्थित पत्रकारहरु निराश भएर घर र्फकन बाध्य भए ।

अधिवेशन स्थगित भएपछि अधिवेशनका लागि केन्द्रीय प्रतिनिधि बनेर पोखरा आएका महासंघका केन्द्रीय अध्यक्ष महेन्द्र विष्ट काठमाडौं फर्केका छन् । विष्ट फर्केलगत्तै महासंघ कास्की शाखाको आकस्मिक बैठक बसेर असहज परिस्थितिको कारण देखाउँदै अनिश्चित कालका लागि बैठक स्थगित गर्ने निर्णय भएको मौखिक सूचना दिइएको थियो । अधिवेशन स्थगित हुनुको कारण खुलाएर सूचना टाँस गर्ने सामान्य परम्परालाई समेत महासंघ कास्की शाखाले लत्याउँदै अधिवेशन स्थगित गर्नुलाई आश्चर्यको रुपमा हेरिएको छ ।

यसैबीच, अचानक अधिवेशन स्थगित गरिएकोप्रति प्रेस चौतारी, प्रेस सेन्टर, प्रेस सोसाइटी र क्रान्तिकारी पत्रकार संगठनले आपत्ति जनाएका छन् । उनीहरुले मंगलबार अपराहृन पत्रकार सम्मेलन गर्दै महासंघ कास्की शाखाको अकर्मन्यता र प्रेस युनियन कास्कीको पराजित मानसिकताका कारण अधिवेशन स्थगित भएको भन्दै दुःख व्यक्त गरेका छन् । साथै उनीहरुले यथाशिघ्र अधिवेशन गर्न माग समेत गरेका छन् ।

महासंघ कास्की शाखाको नेतृत्वका लागि नेकपा एमाले निकट प्रेस चौतारी, नेकपा माओवादी केन्द्र निकट प्रेस सेन्टर, नयाँ शक्ति पार्टी निकट प्रेस सोसाइटी र विप्लव नेतृत्वको नेकपा माओवादी निकट क्रान्तिकारी पत्रकार संगठनको गठबन्धन बनेको छ भने नेपाली कांग्रेस निकट प्रेस युनियन र स्वतन्त्र पत्रकार संघ मिलेर छुट्टै प्यानल बनाएर चुनावी मैदानमा उत्रिएको छ ।

अनलाईनखबर बाट

Write a Comment

Events