निर्वाचनले समस्या समाधान नगर्ने वैद्य माओवादीको ठहर
24-February-2017

फागुन १३, काठमाडौं : मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले निर्वाचनले जनताका समस्या समाधान गर्न नसक्ने बताएको छ। सरकारले निर्वाचन घोषणा गरेपछि आधिकारीक धारणा सार्वजनिक गर्दै पार्टीको केन्द्रीय आयोजक समितिले निर्वाचनबाट जनता समस्या समाधान हुन नसक्ने जनाएको छ।

'वर्तमान पश्‍चगामी राज्यसत्ता र संसदीय व्यवस्था अन्र्तगत गरिने संविधान संशोधन र हुने निर्वाचनद्वारा जनताका राष्ट्रियता, जनतन्त्र तथा जनजीविकाका समस्याहरुको समाधान हुन सक्तैन र त्यसनिम्ति नयाँ जनवादी राज्यसत्ताको स्थापना अनिवार्य रुपमा आवश्यक छ भन्नेबारे पार्टीको दृष्टिकोण तथा धारणा स्पष्ट रहिआएको छ,' अध्यक्ष मोहन बैद्यको हतास्क्षर रहेको विज्ञप्तिमा भनिएको छ,

'स्थानीय निर्वाचनको मिति घोषणा गरिएपनि वर्तमान राज्यसत्ता र व्यवस्थाका पक्षधर राजनीतिक दलहरुका बिच पैदा हुँदै आएका अन्तर्विरोध तथा विवाद र अन्य विविध जतिलताका कारण सो निर्वाचन हुने नहुने अझै स्पष्ट भइनसकेको हाम्रो ठहर छ।' पार्टीले निर्वाचनमा सहभागि हुने वा नहुने भन्‍नेबारे केही स्पष्ट गरेको छैन्।

'संसदीय निर्वाचन बहिष्कार र उपयोग सम्बन्धी प्रश्न राजनीतिक कार्यनीतिको विषय भएकोमा पार्टी स्पष्ट नै रहिआएको छ। यसबारे परिस्थितिको ठोस अध्ययन गरी उपयुक्त समयमा पार्टीको आधिकारिक निकायद्वारा ठोस निर्णय लिइने छ,' विज्ञप्तिमा भनिएको छ।  
 

Write a Comment

Events
Random Picks