त्रिविका क्याम्पसमा तालाबन्दीको त्रास, स्ववियु निर्वाचन अन्योलमा
25-February-2017

फागुन १४, काठमाडौं : स्ववियु निर्वाचनका लागि उम्मेदवार मनोनयन दर्ता गर्ने दिन शनिबार त्रिवि केन्द्रीय क्याम्पस लगायत राजधानीका केही क्याम्पसमा तालाबन्दी गरिएको छ।

विद्यार्थी संगठनले विभिन्न माग राखेर तालाबन्दी गरेका हुन्। त्रिवि केन्द्रीय क्याम्पसका प्रमुख र निर्वाचन आयोगको कार्यालयमा तालाबन्दी गरिएको केन्द्रीय क्याम्पस स्ववियु निर्वाचन समितिका प्रमुख प्रा.डा. लालुप्रसाद पौडेलले जानकारी दिए।

उनले विद्यार्थी संगठनहरुसँग छलफल गरेर प्रक्रिया अगाडि बढाउने बताए। 'हिजो राति प्रिन्सिपल कार्यालय र निर्वाचन समितिको कार्यालयमा तालाबन्दी गरेको भन्ने सूचना आएको छ', उनले भने, 'अहिले विद्यार्थी संगठनहरूसँग छलफल गर्छौं। के समाधान निस्किन्छ भन्न सकिन्न।'

त्रिवि केन्द्रीय क्याम्पस कीर्तिपुरमा ताला लगाउने विद्यार्थी संगठनहरुले विभिन्न ४ बुँदामा असहमति जनाउदै तालाबन्दी गर्नुका साथै स्ववियु निर्वाचन प्रक्रिया अगाडि नबढाउन चेतावनी दिएका छन्।

अनेरास्ववियु, नयाँ शक्ति विद्यार्थी युनियन, समाजवादी विद्यार्थी फोरम, अखिल ( क्रान्तिकारी) विप्लव, मधेसी विद्यार्थी फोरम लगायतका संगठनले जारी गरेको संयुक्त प्रेस विज्ञप्तिमा मतदाता नामावली प्रकाशन, आचारसंहिता उल्लंघन, निर्वाचन कार्यतालिका उल्लंघन र स्ववियुसम्बन्धी नियमावलीमा असहमति रहेको जनाएका छन्। उनीहरूले ४ घण्टाभित्र माग पूरा गर्न माग गरेका छन्।
 

Write a Comment