निर्वाचन आयोगमा ८१ दल दर्ता
2-March-2017

फाल्गुण १९ काठमाडौं । निर्वाचन आयोग नेपालमा ८१ वटा राजनीतिक दलले दल दर्ताका लागि निवेदन दिएका छन् । आयोगले संविधाको धारा २ सय ७१ बमोजिम राजनीतिक दल दर्ताका लागि फागुन १८ गतेसम्म दिएको समयमा ८१ वटा दलले निवेदन दिएका हुन् । 
तीमध्ये ७ वटा दलले जिल्लामा दल दर्ता गराएका छैनन् । संघीय सरचनाअनुरूप स्थानीय तहमा जिल्लामा पनि राजनीतिक दलले दल दर्ता गराउनुपर्ने प्रावधान छ । तर ८१ मध्ये ७ वटा दलले जिल्लामा छुटेको भन्दै केन्द्रीय कार्यालयमा मात्रै निवेदन दिएको प्रवक्ता सूर्य प्रसाद शर्माले जानकारी दिए । 
निर्वाचनका लागि दलहरुलाई दिईने चुनाव चिन्हको सवालमा भने संविधानसभाको निर्वाचनमा भाग लिएका दलले समानुपातिक तर्फ प्राप्त गरेको मतको आधारमा र अन्यका हकमा स्थानीय तह निर्वाचन ऐन अनुसार प्राप्त हुने पनि प्रवक्ता शर्माले जानकारी दिए । 
बुधबार देखि निर्वाचन आचार संहिता लागु भईसकेकाले अनुगमनका लागि आयोगले केन्द्रका अलावा जिल्ला स्तरमा पनि अनुगमन संयन्त्र निर्माण गर्ने तयारी गरेको छ । स्थानीय तहको निर्वाचनको मिति नजिकिदै गईरहेका बेला आयोग मतदाता नामावलि अद्यावधि र त्रुटी हटाउने देखि ऐन अनुसारको नियमावलि, निर्देशिका, कार्यविधि बनाउने काममा व्यस्त बनेको छ ।
स्थानीय तहको निर्वाचन २०७४ बैशाख ३१ गते गर्ने भनि मिति घोषणा भएपनि निर्वाचनका लागि आवश्यक केही ऐन अझै बन्न सकेका छैनन् । 

Write a Comment

Events
Random Picks