स्थानीय तहको संख्या ७ सय ३८ पुग्दै, कार्यदलले आज प्रतिवेदन बुझाउने
5-March-2017

फागुन २२, काठमाडौं : स्थानीय तह पुनर्संरचना अयोगको प्रतिवेदन पुनरावलोकन गर्न बनेको कार्यदलले आइतबार (आज) सरकारलाई प्रतिवेदन बुझाउने तयारी गरेको छ। संघीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डे संयोजक रहेको कार्यदलले दिउँसो प्रधानमन्त्री कार्यालय सिंहदरबार पुगेर प्रतिवेदन बुझाउने तयारी गरेको हो।

प्रतिवेदन आइतबार नै मन्त्रिपरिषद् बैठकमा पेस हुनेछ। बैठक साँझ ५ बजेका लागि बोलाइएको छ। कार्यदलले २, ४ र ७ नम्बर प्रदेशका १० जिल्लामा १९ वटा स्थानीय तह थप्ने गरी मस्यौदा तयार पारेको जनाएको छ।

प्रदेश नम्बर २ का ८ जिल्ला तथा प्रदेश नम्बर ४ र ७ का १-१ जिल्लामा स्थानीय तह थप गर्न कार्यदलको सुझाव छ। यसअघि स्थानीय तह पुनर्संरचना आयोगले ७ सय १९ स्थानीय तह बनाएको थियो। कार्यदलले थपेपछि स्थानीय तहको संख्या ७ सय ३८ पुग्नेछ।

मधेसी मोर्चालाई सहमतिमा ल्याउन पनि सरकारले स्थानीय तहको संख्या बढाउन खोजेको हो। खोटाङ र नुवाकोट जिल्लाका स्थानीयले गरेको आन्दोलनलाई सम्बोधन गर्न जिम्मा भने मन्त्रिपरिषद्लाई नै दिने कार्यदलको तयारी छ।
 

Write a Comment