निर्वाचन पर्यवेक्षणको गुणस्तरीयतामा जोड
14-March-2017

काठमाडौँं, चैत १   ।  निर्वाचन आयोगका प्रमुख आयुक्त डा. अयोधीप्रसाद यादवले ७४४ स्थानीय तहका छ हजार ६८० वडाबाट जनप्रतिनिधि निर्वाचित हुने बताउनुभएको छ । 

उहाँले हरेक वडाबाट महिला, दलित, सीमान्तकृतको प्रतिनिधित्व हुने व्यवस्था गरिएकाले पर्यवेक्षण गर्ने संस्थाले पनि पर्यवेक्षकको छनोट गर्दा समावेशी पक्षलाई ध्यान दिन आग्रह गर्नुभयो ।  

निर्वाचन आयोगले ‘स्थानीय तह निर्वाचन २०७४ को पर्यवेक्षण निर्देशिका’ सम्बन्धमा निर्वाचन पर्यवेक्षण गर्दै आएका सरोकारवाला संस्थाहरूका प्रमुख तथा प्रतिनिधिसँगको अन्तरक्रिया कार्यक्रमलाई सोमबार सम्बोधन गर्नु हुँदै यस्तो आग्रह गर्नुभएको हो ।  

आयुक्त डा. यादवले स्थानीय निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र विश्वसनीय बनाउन सहयोगीको भूमिका निर्वाह गर्न पर्यवेक्षण गर्ने संस्थाका प्रतिनिधिसँग आग्रह गर्नुभयो ।  उहाँले विगतको अनुभवलाई आधार मानेर स्थानीय तह निर्वाचनको पर्यवेक्षणको गुणस्तरीयतामा जोड दिनुभयो ।  

अन्तत्र्रिmयामा आयोगका उपसचिव मुकुन्द शर्माले ‘स्थानीय तह निर्वाचन पर्यवेक्षणसम्बन्धी नीति निर्देशिका र आचारसंहिताका प्रस्तावित व्यवस्था’ विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । 

त्यसपछि पर्यवेक्षणसँग सरोकार राख्ने संस्थाका प्रमुख तथा प्रतिनिधिले आयोगले पर्यवेक्षकको उमेर २१ र शैक्षिक योग्यता प्लस टु वा सो सरह हुने प्रस्ताव राखेकामा त्यसलाई घटाउन र सातवटै प्रदेशका कम्तीमा एक सय वटा मतदान स्थलको पर्यवेक्षण गर्नुपर्ने प्रस्तावलाई सरलीकृत गर्न सुझाव दिनुभयो । 

साथै, उहाँहरूले पर्यवेक्षक संस्थाहरूले लेखा परीक्षणको प्रतिवेदन आयोगलाई दिने व्यवस्था गरिनुपर्ने, शहरी क्षेत्रका मतदानस्थलमा जन्ती आएजस्तो पर्यवेक्षकहरू आएर मतदान अधिकृतलाई नै हैरानी पार्ने गरेको तर दुर्गम क्षेत्रमा कसैको उपस्थिति नहुने गरेको विगतको अनुभव रहेकाले यसतर्फ आयोगको ध्यान पुगोस् भन्ने सुझाव दिनुभयो ।

Write a Comment