असार मसान्तभित्र संविधान जारी गर्ने तयारी
9-June-2015

काठमाडौं, २६ जेठ / असार मसान्तमा संविधान जारी गर्नेगरि प्रक्रिया सुरु भएको छ । संविधानको अन्तरवस्तुमा दलहरुबीच भएको सहमतिलाई मंगलबार संविधानसभाको बैठक प्रस्तुत गरेर त्यसलाई सहमति जुटाउन संविधानसभाको राजनीतिक संवाद तथा सहमति समितिमा पठाएको छ ।

संवाद समितिले बिहीबार दिउँसोसम्म सहमति सहितको प्रतिवेदन संविधानसभामा पेश गर्नेछ । संविधानका विवादित विषय संघीयता, शासकीय स्वरुप, निर्वाचन प्रणाली र न्याय प्रणालीका सम्बन्धमा मुख्य चार राजनीतिक शक्तिहरुबीच सोमबार १६ बुँदे सहमति भएको छ । संवैधानिक समितिले दलहरुबीच भएको सहमतिमा आधारित भएर बुधवार नै सहमतिको प्रतिवेदन तयार गर्नेछ ।

बिहीबार बस्ने संविधानसभामा संवैधानिक समितिले सहमतिको प्रतिवेदन पेश गर्नेछ । मस्यौदा तयारका लागि बिहीबार नै मस्यौदा समितिमा पठाइने छ । मस्यौदा समितिका संयोजक कृष्णप्रसाद सिटौलाले १५ दिनको समय माग गरेकाले असार १२ गतेसम्म मस्यौदा तयार भइसक्नेछ ।
संविधानसभा अध्यक्ष सुवास नेम्वाङ मूल विवादमा सहमति भइसकेकोले अब छाटो बाटो (फास्ट ट्रयाक) विधिबाट छिटो संविधान जारी गर्नका लागि तयार हुन र त्यहीअनुसार कामलाई तीब्रता दिन दलहरुलाई आग्रह गरिसकेका छन् ।

नेम्वाङको निर्देशनमा असार मसान्तभित्रै संविधान जारी गर्ने गरी संविधान लेखनको नयाँ तालिकाको तयारी र योजनामा संविधानसभा सचिवालय लागेको छ । नेम्वाङले छोटो बाटोबाट संविधान बनाउने र सबै प्रक्रिया पुरा गर्ने बताए ।

Write a Comment

Events
Random Picks