आज चार नगरपालिकासहित २ सय ८३ तहमा उम्मेदवारी दर्ता
1-May-2017

काठमाडौं, बैशाख १९

स्थानीय तहको निर्वाचनअन्तर्गत पहिलो चरणका लागि आज उम्मेदवारी मनोनयन दर्ता हुँदैछ । निर्वाचन आयोगले आज १० बजेदेखि ५ बजेसम्मका लागि उम्मेदवारी मनोनयन दर्ताको समय तोकेको छ । दलहरुले अधिकांश स्थानीय तहमा उम्मेदवारसमेत टुंग्याइसकेका छन् भने बाँकीको आजै टुंगो लगाएर दर्ता गर्ने तयारी गरेका छन् ।

देशभरका कूल ७ सय ४४ स्थानीय तहमध्ये पहिलो चरणमा वैशाख ३१ गते प्रदेश नम्बर ३, ४ र ६ का ३४ जिल्लाका २ सय ८३ स्थानीय तहमा निर्वाचन हुँदैछ । बाँकी ४ प्रदेशमा स्थानीय तहमा दोस्रो चरणमा अर्थात् आगामी जेठ ३१ गते निर्वाचन हुने छ । दोस्रो चरणका लागि जेठ १९ गतेबाट चुनावी कार्यक्रम तोकिएको छ । दोस्रो चरणमा मधे दुई दुई प्रदेशमा पर्ने नवलपरासी र रुकुमसहित ४३ जिल्लामा निर्वाचन हुने छ । तराईका २० जिल्लामध्ये चितवनमा मात्र पहिलो चरणमा निर्वाचन हुने छ ।

काठमाडौं, ललितपुर, पोखरा–लेखनाथ र भरतपुर महानगरपालिकामा पहिलो चरणमै निर्वाचन हुँदैछ । अन्य ९३ नगरपालिकामा पनि पहिलो चरणमा निर्वाचन हुने छ । निर्वाचन आयोगले पहिलो चरणमा ७ हजार मतदान केन्द्रमा मतदान हुने जनाएको छ । देशभर १८ हजार ५ सय ७२ मतदान केन्द्र तोकिएको छ ।

त्यस्तै, १ करोड ४० लाख ५४ हजार ४ सय ८२ मतदातामध्ये ५० लाखले पहिलो चरणमा मतदान गर्ने छन् । यसैबीच प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले स्थानीय तह निर्वाचनका लागि आज हुने उम्मेदवारी मनोनयनमा उत्साहपूर्वक सहभागी हुन सबै राजनीतिक दल र उम्मेदवारलाई आह्वान गरेका छन् । उनले मनोनयनपछि निर्वाचनका बारेमा उठेका सबै आशंका आफैं हटेर जाने बताएका छन् ।

अनलाईखबर डटकमबाट

Write a Comment

Events
Random Picks