एमालेद्धारा अन्नपूर्ण गाउपालिकामा विभिन्न योजना प्रस्तुत, रिङ रोडदेखि हाइड्रो पावरसम्म
10-May-2017


जकसन डटकम
पोखरा, २७ वैशाख ।
अन्नपूर्ण गाउँपालिकामा नेकपा एमालेले विभिन्न योजनाहरु सार्वजनिक गरेको छ । जसमा रिङ रोड देखि हाइड्रो पावर सम्मका योजना रहेका छन् । समृद्ध अन्नपूर्ण गाउँपालिका निर्माणका लागि ढिकुरपोखरी, सल्यान, दाङसिङ, घान्द्रुक, लुम्ले हँुदै रिङ रोड निर्माण एमालेको तर्फबाट अध्यक्षका उम्मेदवार विष्णु केसीले बताए । लामो र छोटो ट्रेकिङ रुटहरुको आवश्यक अध्ययन गरी विभिन्न ठाउँमा व्यावसायिक रुपमा भ्युटावर निर्माण गर्ने केसीले प्रतिबद्धता व्यक्त गरेका छन् ।

विश्वको पर्यटकी गन्तव्य स्थल रहेको अन्नपूर्ण गाउँपालिकामा रहेका सार्वजनिक वनजंगलहरुको संरक्षण गर्ने र नेपालमा नै ‘हनीहन्टिङ’ भनेर चिनिने घान्द्रुक र लान्द्रुकमा आवश्यक पुर्वाधारहरुको निर्माण गर्ने केसीले बताएका छन् । पर्यटकहरुलाई लक्षित गरेर पर्यटन व्यवसाय सञ्चालन गर्न प्रोत्साहन गर्दै विभिन्न स्थानहरुमा मोबाइल टावर राख्न पहल गर्ने र गाउँमा हाइ स्पिड इन्टरनेट सञ्चालन गर्ने उनको प्रतिबद्धता छ ।

विद्युत नपुगेका छुम्रुङ, ठुलाखर्क र सल्यानका केही भागहरु माथ्री फेज लाइन बिस्तार गर्दै दाङसिङको भुरुङदीखोला, लुम्लेको धोतीखोला र सल्यानको रतीखोलाबाट लघु जलविद्युत आयोजना सञ्चालन गर्ने केसीले बताए । गाउँपालिकाका विभिन्न वडाहरुमा खानेपानी आयोजना सञ्चालन गरी एक घर एक धाराको अभियान सञ्चालन गर्ने उनको प्रतिबद्धता छ ।

अन्नपूर्ण गाउँपालिकाको आर्थिक समृद्धि, पर्यटनको विकास र उद्यमशीलता अभिबृद्धि गर्ने आफ्नो योजनालाई सफल पार्न सूर्य चिन्हमा मतदान गर्न उनले अपिल गरेका छन् । ‘अहिले गरेका सबै प्रतिबद्धता पुरा गर्नेछु,’उनले भने, ‘मेरो सबै योजना पुरा गर्न सूर्य चिन्हमा मतदान गरी विजयी गराइदिनुहोला ।’

Write a Comment

Events
Random Picks