पोखरालाई थप सुन्दर बनाउने भिजन मसँग छ: कोइराला ( भिडियो सहित )
11-May-2017

 

सिरोज विजय कोइरालाले स्थानिय निर्वाचनमा पोखरा लेखनाथ महानगरपालिकाको उपमेयर पदमा स्वतन्त्र उमेदवारी दिएका छन् । उनको उम्मेद्वारी अहिले पोखरा लेखनाथ महानगरपालिकामा चर्चाको विषय बनेको छ । कोइरालासँग लिइएको अन्तरवार्तालाई यहाँ सम्पादनसहित प्रस्तुत गरिएको छ ।    

 

उपमेयर  भएर तपाईले बाचा गरेका काम गर्न सम्भव छ ?  

छैन । सहज तरिकाले सम्भव छैन । हाम्रो काम गर्ने सिस्टम हाम्रै राजनितीक दलको दलदलभित्र गाडिएको छ । मलाई प्रष्ट थाहा छ, यस पोखरा लेखनाथ महानगरपालिका र यस शहरमा बस्ने हामी सबैका लागि मैले बुनेका योजना एवम् सपनाहरुको कार्यान्वयन गर्न उपमेयर भएर सहज छैन र पनि सम्भव छ । मैले चुनौतीहरुको अन्दाज पनि गरिसकेको छु, तर तिनै चुनौतीहरुलाई चुनौती दिननै त मैले यो साहस गरेको हुँ । मलाई थाहा छ, उक्लनै नसकिने कुनै त्यस्तो पहाड हुँदैन । बस् स्वयंसँग दृढ इच्छाशक्ति र इमान्दारी हुनुपर्छ । र मेरा योजना तथा सपना त्यति महत्वाकाँक्षी पनि छैनन् तर महत्वपूर्ण छन् ।  

 

मेयरमा किन उमेदवारी नदिनुभएको ? 

यो मेरो एकल निर्णय होइन । मेरो समुहले गरेको निर्णय हो यो । 

 

कतिपय सोध्नुहुन्छ, तपाईले चाहेको मेयर को हो ? 

मैले चाहेको उपमेयर म हुँ । पोख्रेलीहरुको विवेकले चुनेको जुनसुकै मेयरसँग पनि काम गर्न तयार छु । हो, पोखराको नयाँ रुप जो मैले बुनेको छु यो एउटा मेयरले देख्ने र बुन्ने योजना हो । तर उपमेयरले यो सपना देख्नुनै हुँदैन भन्नु गलत हो । यहाँबाट सुन्दर, समृद्ध, स्वस्थ, सुरक्षित र सुव्यवस्थित पोखरा निर्माणको आफ्नो एउटा लामो यात्राको शुरुवात गरेको छु । उपमेयरबाट नै काम गर्न सक्छु भन्ने विश्वास छ, यहि उचित हो भन्ने कुरामा पनि स्पष्ट छु । उपमेयरकै आफ्ना कर्तव्य, दायित्व र अधिकार पनि छन् । तिनको सदुपयोग गरेकै भरमा पनि मैले मेरा योजनाहरुको कार्यान्वयन गर्न सक्छु भन्ने कुरामा म विश्वस्त छु ।  

 

तपाईलाई भोट किन दिने ?  

भोट मात्रै नदिनुस् । पोखरा स्वस्थ,सुन्दर,सुव्यवस्थित,सुरक्षित र समृद्ध हुनुपर्छ भन्ने तपाईलाई पनि लाग्छ भने मात्रै मलाई भोट दिनुहोस् । मैले तपाईहरुसँग मेरा योजनाहरु सार्वजनिक गरेकै छु । तीमध्ये कुनै पनि योजना गलत लाग्छ भने मलाई भोट नदिनुहोस् । यदि तपाई र मेरा सपना साझा छन् भने यसपटक कृपया झन्डा र पार्टी बिर्सिदिनुहोस् । मलाई तँपाईले दिनुभएको हरेक मत खेर नजाने विश्वास दिलाउन चाहन्छु । मलाई भोट दिनुहोस्, किनकि म एक स्वतन्त्र उमेदवार हुँ, जसको दलीय दलदलसँग कुनै चासो छैन । मलाई यसर्थ भोट दिनुहोस् कि मसँग यस पोखरालाई झन् राम्रो पोखरा बनाउने योजना र त्यसको कार्यान्वयन कसरी गर्ने भन्ने दुवै विषयमा म प्रष्ट छु । मलाई भोट हाल्नुस्, किनकि पोखरा र पोख्रेलीको समस्याका बारेमा म स्पष्ट छु । उपमेयर पदमा मलाई भोट नगरिकन अन्य कसैलाई भोट हाल्दा कृपया एकपटक तुलनात्मक अध्ययन पनि गरिदिनुहुनेछ भन्ने आश पनि व्यक्त गर्दछु ।  

 

पोखराका प्रमुख ३ समस्या भनिदिनुस न ?  

हामी यस्तो शहरमा छौं जसको सम्भावना प्रचुर छ र समस्याहरुको चांग लागेको छ । नम्बर एकमा सोध्नुहुन्छ भने शुद्ध पिउने पानी हाम्रो एक नम्बर समस्या हो, जसले वर्षौंदेखी हाम्रो र हाम्रा बालबालिकाहरुको  स्वास्थ्यमा प्रतिकुल  प्रभाव पारिरहेको छ । हामी खानेपानी होइन खोलाको पानी पिइरहेका छौं । नं २, सुन्दर शहर योजनाका अभावमा हावी भैरहेको अव्यवस्थित शहरीकरण जसले यस शहरलाई अव्यवस्थित, असुरक्षित एवं कुरुप बनाउँदै लगिरहेको छ । नम्बर ३, यहाँ शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाई एवम् आवास हरेक चीजमा समस्या छ । हर एक समस्याको समाधान पनि  छ । कानून लेखिएर मात्रै हुँदैन यसको  कार्यान्वयन पनि हुन जरुरी छ । 

 

तपाई हाम्रा सडकमा छरपस्ट खम्बा एवम तारहरुलाई व्यवस्थित बनाउछु भनेर सपना बाँडिरहनुभएको छ ।यो काम नगरपालिकाको काम हो र ?  

यो समस्याले साँच्चिकै पोखराको सुन्दरतालाई चुनौती दिएको छ । आफू बस्ने शहर कस्तो बनाउने, कस्तो शहरमा बस्ने भन्ने रोजाई हामी नगरवासीहरुकै रोजाई हो । तपाईहरुले चाहनुभयो भने यो सम्भव छ । म तपाईहरुकै मतको आवाज हो । यो काममा हाम्रा स्थानिय प्रतिनिधिहरुमार्फत सम्बन्धित संस्थाहरुसँग आजसम्म पहल गरिएको छैन । यो बहसको विषय नै हुन पाएको छैन । र यो विल्कुल तपाई हाम्रो चाहनामा भर पर्ने विषय  हो ।हामी नगरबासीको समस्या समाधान गर्नका लागि, हाम्रा चाहनाहरुको सम्बोधन हुनका लागि कहिलेसम्म कसको मुख ताकेर बसिरहने ?  

 

तपाईलाई काँग्रेसको असन्तुष्ट पक्षले बागि उमेदवारी दिन लगाएको भन्ने आरोप छ नि ?

यो सरासर गलत हो । मैले कहिल्यै कांग्रेसको कुनै पनि आन्तरिक निर्वाचनमा सहभागिता जनाएको छैन । र कांग्रेसले प्रतिनिधित्व गरेको कुनै पनि निर्वाचनमा मैले उमेदवारको रुपमा कहिल्यै पनि प्रतिनिधित्व गरेको छैन । कांग्रेस पार्टीले मतदाताहरुमा भ्रम फैलाउन मलाई बागिको रुपमा प्रस्तुत गरेको छ । यसमा सबै नगरबासीलाई सजग र स्पष्ट रहन म अनुरोध गर्दछु । राजनितीक रुपमा कांग्रेससँग मात्रै होइन अन्य कुनै पनि पार्टीसँग मेरो राजनितीक साँठगाँठ छैन । म पार्टीविहिन पोखरा लेखनाथ महानगरपालिकाको स्वतन्त्र नागरिक उमेदवार हुँ ।  

 

तपाई पत्रकार पनि हो । एक आध्यात्मिक व्यक्ति पनि हो । एउटा पत्रकारले र अध्यात्ममा लागेको व्यक्तिले राजनीति गर्न हुन्छ ?  

म कुनै राजनितीक व्यक्तित्व होइन । र मैले राजनीति गर्ने उद्देश्यले उमेदवारी दिएको पनि होइन । म यो शहरको जिम्मेवार नागरिक हुँ । यो शहरको सुन्दर भविष्य बनाउन मैले उमेदवारी दिएको हुँ । 

तपाईलाई सुकुम्बासीहरुले आफ्नो समस्याको समाधानको आशको रुपमा हेरेका छन् । खासमा के गर्न खोज्नुभएको हो ?  

मेरो स्पष्ट योजना छ । म उहाँहरुलाई प्रेम र सम्मान गर्छु । हाम्रो शहरमा कुनै पनि सुकुम्बासीको बास हुनु हुँदैन । हरेकको व्यवस्थित बसोबास हुनुपर्छ । हाम्रो समुहले व्यवस्थित वस्तीको डिजाइन गरिसकेको छ ।  

 

यहाँको यातायातलाई कसरी हेर्नुभएको छ ?  

हाम्रो महानगरपालिकामा म्युनिसिपल बस एवं ट्राम चलाउन अत्यावश्यक छ । हाम्रो शहरको हरेक सडकमा यात्रु एवं साइकल यात्रीका लागि उचित व्यवस्था गर्न पनि उत्तिकै जरुरी छ । यहाँको ट्राफिक व्यवस्थापन भद्रगोल छ जसलाई वैज्ञानिक रुपमा सुधार गर्न आवश्यक छ । \


पोखराको पर्यटनमा नयाँ गर्छु भनिरहनु भएको छ । खासमा तपाईले गर्न खोजेको नयाँ चाहि के हो ?  

नम्बर एक, पोखरा पर्यटनको अथाह सम्भावना भएको शहर हो । तर यहाँको पर्यटनको हब मानिने लेकसाइड नै रातको ११ बजे बन्द हुन्छ । यसलाई २४ घण्टा नै खुलाउनु पर्नेछ । नम्बर दुई, यहाँको पर्यटन एक ठाउँ केन्द्रित भएको छ । तर यसको फैलावट सम्भव छ । हाम्रो शहरमा नेपालको सम्पूर्ण पर्यटन थेग्ने गरि पुर्वाधारहरुको निर्माण गर्न जरुरी छ । अध्यात्म र योग यहाँको पर्यटनसँग जोड्नैपर्छ । यहि मेरो नयाँ कुरा हो । र म स्वयंले यसका लागि आफ्नो तर्फबाट काम शुरु गरिसकेको छु । यहाँ साहसिक पर्यटन प्रवद्र्धन जति हुनु पर्ने हो, त्यति भएकै छैन जो गर्नै पर्ने छ । पर्यटन प्रवद्र्धन गरि कोही पनि बेरोजगार रहन नपर्ने काम गर्न सम्भव छ । खेलकुद पर्यटन पोखराका लागि यति लोभलाग्दो सम्भावना बोकेको चीज होकि सम्झँदा मात्रै पनि रहरलाग्दो लाग्छ । एउटा होइन आधा दर्जन अन्तराष्ट्रिय स्तरको फुटबल एवं क्रिकेट मैदान बनाउन आवश्यक छ । यहाँको प्राकृतिक सौन्दर्यको उचित प्रयोग त्यतिबेला हुन्छ ।  

 

स्वस्थ पोखरा मुख्य एजेन्डा भनिरहनुभएको छ । के हो त्यो ?  

एउटा पानी हो । अर्को हरेक वडामा नियमित योगशिविर हो । र अर्को फोहोरको उचित व्यवस्थापन हो ।  हाम्रो समाजमा यतिबेला लामो समयदेखि सामाजिक काम कर्तव्यप्रति डरलाग्दो वितृष्णा भाइरल भएको छ ।  

छलफल डट कम बाट 

Write a Comment

Events
Random Picks