कास्कीमा निर्वाचन तयारी पूरा
12-May-2017


जकसन डटकम
पोखरा, २९ बैशाख

कास्कीमा यहि बैशाख ३१ गते हुने स्थानिय तहको निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । क्षेत्रीय निर्वाचन कार्यालय कास्कीले पोखरामा शुक्रबार पत्रकार सम्मेलन गरी निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो ।

कास्कीमा १ सय ५० मतदान केन्द्र र २ सय ८८ मतदान स्थल रहेको र यहाँ १ हजार ७ सय २३ कर्मचारी खटाइएको निर्वाचन अधिकारी गंगालाल सुवेदीले जानकारी दिए । उनका अनुसार मतदान सामग्री र मतदान कर्मचारी सबै मतदान केन्द्रमा पुगिसकेका छन् । त्यस्तै सबै मतदान केन्द्रबाट विहीबारदेखी मतदाता परिचय पत्र ब्यबस्थित रुपमा वितरण भइरहेको उनले बताए ।

पत्रकार सम्मेलनमा उपस्थित निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौडेलले छिटपुट घटनाबाहेक प्रदेश नम्बर ४ का सबै ठाउँको निर्वाचन तयारी पूरा भएको बताए । उनले ब्यबस्थित रुपमा मतदान सामग्री, कर्मचारी ब्यबस्थापन र राजनीतिक समझदारीको रुपमा निर्वाचनको तयारी पूरा गरिएको बताए । उनले भने,‘पूर्ण रुपमा त म भन्न सक्दिन, तर निर्वाचनका लागि आवश्यक सबै तयारी भने पूरा भएको छ ।’

मौनअवधी शुरु भइसकेकाले यस अवधीमा चुनाव प्रचारप्रसार गर्न नपाईने भएकाले निर्वाचन आचारसंहिता पालना गर्न उनले राजनीतिक दल तथा तिनका कार्यकर्तालाई आग्रह गरे । उनका अनुसार भाईबर, म्यासेञ्जर, फेसबुक, ट्विटरसहित कुनैपनि तरिकाबाट चुनावको प्रचार गर्न पाईंदैन । उनले चुनावी प्रचारका क्रममा राखिएका झण्डा, पर्चा, पम्प्लेट लगायतका सबै सामग्री जुन पार्टीले राखेको त्यसले झिक्नुपर्ने बताए । उनले नझिकेका प्रचार सामग्रीहरु प्रहरी प्रशासनलाई झिक्न निर्देशन दिएको उनले बताए ।

निर्वाचन आयुक्त पौडेलले निर्वाचन आयोगले कुनैपनि उम्मेद्वारको उम्मेद्वारी रद्ध नहोस् भन्ने चाहेको बताए । यद्वपी आचारसंहितामा अटेर गर्ने, उलंघन गर्ने काम भइरहे कडा रुपमा प्रस्तुत हुनुपर्ने अवस्था आउने चेतावनी दिए । मतदाता अहिले निकै नै सचेत भइसकेको बताउँदै उनले मोटरसाइकल ¥याली गरेर वा रक्सी मासु खुवाएकै भरमा चुनाव नजितिने बताए ।

निर्वाचन आयुक्त पौडेलले मतदान भइरहँदा पनि मतदाता शिक्षा दिन सकिने बताए । मतदाता शिक्षा अभावका कारण मतदान बिग्रिनसक्ने भएकाले निर्वाचन भइरहँदा पनि मतदाता शिक्षा दिन सकिने र मतदाता शिक्षा दिदा निर्वाचन आचारसंहिता उलंघन नहुने स्पष्ट पारे ।

निर्वाचन आयुक्त पौडेलले ३० गते शनिबार हुने भनिएको बन्द खुलाएर मतदाता परिचय पत्र वितरण हुने बताए । बन्द आह्वान कर्तालाई बन्द गरेर बन्द खुलाउने उनले बताए ।

Write a Comment

Events
Random Picks