सेवाग्राहीले पाएको झञ्झटको अन्त्य पहिलो काम भएको मेयरमा निर्वाचन जिसीको भनाई
26-May-2017


उमा आलेमगर
पोखरा, १२ जेठ

देशकै सबैभन्दा ठूलो पोखरा लेखनाथ महानगरपालिकाका नवनिर्वाचित मेयर मानबहादुर जिसीले महानगरपालिकामा हुने गरेको झञ्झटको अन्त्य आफ्नो पहिलो प्राथमिकता भएको बताए । त्यसको अनुभुति पदबहाली भएको भोलिपल्टैदेखी महशुष गराउने दाबी गरे ।

बिजयी भएपछि पत्रकारसँग कुरा गर्दै जिसीले सडक मर्मतसम्भार आफ्नो दोश्रो प्राथमिकता भएको बताएका हुन् । जिसीले आफूले मत माग्ने क्रममा जारी गरेको घोषणा पत्र र बोल्दा घोषणा गरेको २४ घण्टा भित्र सडक मर्मत गर्ने कुरा पदबहाली भएको दुई चार दिनमै लागु गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले स्पिड रिपेयर टिम बनाएर सडक मर्मत सम्भार शुरु गर्ने र २४ घण्टामै रिपेयर गरिसक्ने दाबी गरे ।

जिसीले पोखरामा भएको भद्रगोल पार्किङ्ग ब्यबस्थापन चुस्त बनाउनु आफ्नो तेश्रो प्राथमिकता भएको बताए । त्यस्तै, नाला ब्यबस्थापन पनि आफ्नो प्राथमिकतामा रहेको उनको भनाई छ ।

जिसीले आफूले घोषणा पत्रमा ५ वर्षमा ५ मुख्य काम उल्लेख गरेको बताउँदै भने, ‘म मैले बोलेका र घोषणापत्रमा उल्लेख गरेका कुरा पूरा गर्न लागि पर्छु, प्रविधी मैत्री सेवाग्राही, युवा उद्यमीहरुको सहर, स्वच्छ खानेपानी, स्वस्थ समाज र दिगो विकासको पूर्वाधार मेरो प्राथमिकता हो ।’

जिसीले सडक, खोलानाला र तालको मापदण्ड तोकेर त्यस वरपर बनेका संरचना हटाउने घोषणा गरे । बेथितिको पराकाष्ठा भएको बताउँदै भने, ‘अब पनि नगरे पछि आउने पुस्ताले सराप्ने छन्, अब म बिस्तृत अध्ययन गरेर ५० देखी १०० वर्षसम्म थेग्नेगरी मापदण्ड तोकेर त्यसको कार्यान्वयन गर्छु ।’

Write a Comment