भरतपुर महानगरको प्रमुखमा माओवादीकी रेणु दाहाल २ सय ३ मतअन्तरले विजयी
5-August-2017


जकसन डटकम
चितवन, २१ साउन २१

चितवनको भरतपुर महानगरपालिकाको प्रमुख पदमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहाल विजयी भएकी छन् । शनिबार राति घोषित मतपरिणामअनुसार प्रमुखमा विजयी दाहालले ४३ हजार १२७ मत प्राप्त गरेकी छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका प्रमुख पदका उम्मेदवार देवी ज्ञवालीले ४२ हजार ९२४ मत ल्याएका छन् । माओवादीकी दाहालले एमालेका ज्ञवालीलाई २०३ मतअन्तरले पराजित गरेकी हुन् ।

यस्तै, भरतपुर महानगरको उपप्रमुखमा नेपाली कांग्रेसकी उम्मेदवार पार्वती शाह ४७ हजार १९७ मत ल्याएर विजयी भइन् भने उनका निकटतम् प्रतिद्वन्द्वी एमालेकी दिव्या शर्मा आचार्य आचार्यले ३९ हजार ५२५ मत पाएकी छन् ।

भरतपुरमा नेपाली कांग्रेस र माओवादी केन्द्रको गठबन्धन थियो भने एमाले एकलरुपमा चुनावी मैदानमा उत्रिएको थियो । पहिलो चरणको स्थानीय तह निर्वाचनअन्तर्गत् भरतपुर महानगरमा गत वैशाख ३१ गते मतदान सम्पन्न भएको थियो । भरतपुरमा २९ ओटा वडा रहेकोमा वडा नम्बर–१९ मा मतगणनाकाक्रममा मतपत्र च्यातेपछि शुक्रबार पुनः मतदान भएको थियो ।

Events
Random Picks