आफ्नै पैसाले गाडी किनें’ : प्रियंका कार्की
22-June-2015

नायिका प्रियंका कार्कीका बारेमा अहिले सामाजिक संजाल र केही अनलाइनमा गरिएका विभिन्न खालका टिप्पणीले एउट भ्रमात्मक चर्चा पाइरहेको छ । प्रियंकाले हालै मात्र खरिद गरेको हुन्डाइको टक्सन गाडीको बिषयलाई लिएर विभिन्न खालका नकारात्मक टिप्पणी भैरहेका छन् ।

यूकेमा आयोजना भएको कार्यक्रमबाट पैसा ल्याएर उनले गाडी किनेका खालका चर्चा सामाजिक संजालमा गरिएको छ । हाल परिवारसँग भारतमा रहेकी नायिका कार्कीले यस बिषयमा अनलाइनखबर मार्फत आफ्नो भनाई सार्वजनिक गरेकी छिन् । भुकम्प गएलगतै यूकेमा पुगेर २०  दिनसम्म कार्यक्रम गरेर फर्किएकी प्रियंकाले केही दिन अगाडि मात्र आफूले गाडी किनेको तस्बिर पोष्ट गरेकी थिइन् ।

उनले भूँइचालो आउनुअघि नै आफूले गाडी किनेपनि तत्कालिन समयमा तस्बिर पोष्ट गर्न उपयुक्त नलागेको पनि लेखेकी छिन् । आफै कमाइले गाडी किन्दा उनी खुबै उत्साहित पनि देखिएकी छिन् । नेपाली चलचित्र क्षेत्रमा सर्वाधिक व्यस्त नायिकाले गाडी किन्नु ठूलो कुरा होइन । बर्षमा दर्जन चलचित्र, म्यूजिक भिडियो, विज्ञापनबाट नायिका कार्कीले गाडी किन्न सक्ने क्षमता राख्छिन् । तर, यसलाई लिएर विभिन्न खालका टिप्पणी भैरहेका छन् ।

आखिर, वास्तविक कुरा के हो त, प्रियंकाले अनलाइनखबरमार्फत आफ्नो भनाई यसरी राखेकी छिन् :

हामीले यूकेमा गएर कार्यक्रम गर्दा ठूलो रकम उठ्न सकेन । आयोजक पनि घाटामा नै गएका छन् । यसैले, त्यो कार्यक्रम च्यारेटी जस्तै भएको छ । मैले, गायक शिव परियार र गायिका अञ्जु पन्तले पनि आफ्नै पहलमा केही रकम उठाएका थियौ ।

त्यो पैसा अहिलेसम्म हामीलाई प्राप्त भएको छैन । आयोजकले अझै केही रकम जम्मा गरेर कुनै भुकम्पले प्रभावित स्थानमा पूननिर्माणमा लगाउने बताउनु भएकोछ । अहिले पनि यसका लागि यूकेमा साना-साना कार्यक्रम भैरहेका छन् । ती कार्यक्रमबाट पनि रकम  जम्मा भएपछि एकमुष्ठ रुपमा कुनै स्थानमा पूननिर्माण गरिनेछ । यसैले पनि हामीले अहिले नै यो समाचार बाहिर ल्याउन नचाहेका हौ । हामी सहभागी भएको कार्यक्रमका ३ जना मध्ये एक जना आयोजक गोरखाको वारपाककै हुनुहुन्छ ।

हामी यूके २० दिन बस्यौ भन्ने मात्र हो । हामीले एक रुपैयाँ पनि नलिइकन कार्यक्रम गरेका छौ । अहिले त्यो पैसा नै नायिका प्रियंका कार्कीले हिनामिना गरेर गाडी चढी भन्ने सुन्दा अचम्म लागेको छ । हुनत, म सबै मानिसको मुख थुन्न सक्दिन ।

म यो बर्षभित्र गाडी किन्छु भन्ने सोचमा थिएँ । तर, मेरो बुबाको एकजना साथीलाई अमेरिकाको डीभी पर्‍यो । उहाँले किनेको गाडी बेच्नु पर्ने भयो । मैले २६ लाख पर्ने अर्को कुनै गाडी किन्छु भन्ने सोच बोकेको थिएँ । तर, बुबाको साथीले करिब ४० हजार किलोमिटर चढेको गाडी मैले सस्तोमा पाएँ । मेरो बुबाले पनि त्यो गाडी किन्न आग्रह गर्नुभयो ।

अंकलले पनि तत्काल गाडी बेच्नुपर्ने भएकाले केही सस्तो रकममा दिने भएपछि मैले हुन्डाइको टक्सन गाडी किनेकी हुँ । भुकम्प अगाडि किनेपनि मैले त्यो समयमा तस्बिर सार्वजनिक गर्नु राम्रो ठानिन । यो गाडी किन्न मलाई बुबाले पनि सहयोग गर्नुभएको छ । यसैले मैले यूकेको पैसा ल्याएर गाडी किन्ने भन्ने हल्ला गर्नेहरुलाई मेरो केही भन्नु छैन ।

 http://www.onlinekhabar.com

Events
Random Picks