कास्कीमा ३८ हजार मतदाताले गरे नाम दर्ता
19-August-2017


उमा आलेमगर
पोखरा, ०३ भदौँ


कास्कीमा करिब ३८ हजार ५ सय जनाले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । आसन्न प्रदेश र प्रतिनिधिसभाको निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले साउन १ देखि शुरु गरेको मतदाता नामावली संकलन अभियान अन्तर्गत शनिबार अन्तिम दिनसम्म करिब ३८ हजार ५ सय जनाले नाम दर्ता गराएको क्षेत्रीय निर्वाचन अधिकारी गंगालाल सुवेदीले जानकारी दिए ।  

जसमध्ये करिब २० हजार महिला र १८ हजार पुरुषले नाम दर्ता गराएको सुवेदीले बताए । यो आँकडालाई हेर्दा पुरुषको भन्दा महिलाको २ हजार बढी रहेको छ । शनिबार मात्र १ हजार ९ सय ७ जनाले नाम दर्ता गराएको निर्वाचन कार्यालय पोखराले जनाएको छ । मतादाताको अन्तिम नामावली संकलनको काम जारी रहेको र अन्तिम नामावली संख्या भोलिसम्ममा मात्र सार्वजनिक गरिने सुवेदीले बताए ।

कुल नाम दर्ता भएकामध्ये विभिन्न जिल्लाबाट पोखरामा आई विभिन्न व्यवसाय र पेशा गरेका पाँच हजार ६ सय ६३ जनाले पनि नाम दर्ता गराएका छन् । बुढाबुढी, अपांग, विदेशबाट घर फर्केका र नाम दर्ता गर्न छूट भएका मतदाताले विशेष चासोका साथ मतदाता नामावलीमा नाम दर्ता गराएका थिए । 

मतदाता नामावलीमा नाम दर्ता गर्ने क्रम शनिबारबाट सकिएको निर्वाचन कार्यालय पोखराले जनाएको छ । एक महानगर र चार गाउँपालिका रहेको कास्कीमा दुई लाख २४ हजार ८११ मतदाता संख्या रहेको छ ।