संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको दुई वर्ष पूरा
18-September-2017


जकसन डटकम
पोखरा, ०३ असोज

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको दुई वर्ष पूरा भएको छ । नेपाली जनताले आफूले चुनेका प्रतिनिधिमार्फत संविधान प्राप्त गर्ने सात दशक लामो चाहनाले २०७२ असोज ३ गते मूर्तरुप पाएको थियो ।

संविधान दिवसकै अवसरमा आज सरकारले काठमाडौंको टुंडिखेलमा विशेष समारोहको आयोजना गर्दै छ । त्यसैगरी संविधान जारी भएको अवसरमा देशभर नै विभिन्न कार्यक्रमसमेत हुँदै छन् । संविधान जारी भएको दुई वर्ष्भित्रै नेपालको संविधान कार्यान्वयनको पहिलो खुड्किलो स्थानीय निर्वाचन सम्पन्न भइसकेको छ ।

प्रदेश र प्रतिनिधीसभा निर्वाचन मंसिर १० र २१ गते दुई चरणमा हुँदैछ । माघ ७ गतेभित्र तीनै तहको निर्वाचन सम्पन्न गर्नुपर्ने संवैधानिक व्यवस्था छ । ६ वटा प्रदेशमा जनप्रतिनिधीले काम सम्हालिसकेका छन् भने प्रदेश नम्बर २ मा जनप्रतिनिधी चयनका लागि मतदान सम्पन्न भइसकेको छ ।

संविधान दिवसलाई राष्ट्रिय पर्वका रुपमा मनाउन सरकारले आज सार्वजनिक बिदासमेत दिएको छ । नेपालको लिखित संविधान मध्ये यो सातौं संविधान हो । यसअघिका सबै संविधान आयोग वा विभिन्न रुपमा निर्माण भए पनि जनताका प्रतिनिधिमार्फत जारी भएको संविधान भने यो नै पहिलो हो ।

नयाँ संविधानले नेपाललाई विश्वमा नै सहभागितामूलक लोकतान्त्रिक देशको परिचय दिएको छ । गणतन्त्र, संघीयता, धर्म्निरपेक्षता, समानुपातिक समावेशीता र सामाजिक न्याय नेपालको संविधानका मूलभूत विशेषता हुन् ।