राप्रपा नेपालद्वारा संघर्षको कार्यक्रम घोषणा
3-July-2015

काठमाडौं, असार १८– राप्रपा नेपालले संविधान निर्माणको क्रममा पार्टीले उठाएका एजेण्डाहरुमा संविधानसभाले बेवास्ता गरेको दाबी गर्दै संघर्षको कार्यक्रम घोषणा गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा चलिरहेको केन्द्रीय कार्यसम्पादन समितिको पूर्ण बैठकले संविधानसभामा प्रतिरोध गर्नेदेखि देशव्यापी संघर्ष गर्नेसम्मको संघर्षको  कार्यक्रमम घोषणा गरेको हो । घोषित कार्यक्रमअनुसार बैठकले तत्कालका लागि संबिधानसभामा पार्टीका सभासदहरुबाट सशक्त प्रतिरोध गर्ने, आषाढ २२ गते देशव्यापि रुपमा बिरोध प्रदर्शन गर्ने तथा श्रावणको पहिलो हप्ता देखि राजधानी केन्द्रित संघर्ष गर्ने कार्यक्रमको तय गरेको सहप्रवक्ता मोहन श्रेष्ठले रातोपाटीलाई जानकारी दिए । बहुमतको आडमा भैरहेको स्वेच्छाचारिताको बिरोध गर्न, सनातन हिन्दुराष्ट्र पुनस्र्थापना गर्न, धर्मनिरपेक्षता खारेज गर्न, धर्मपरिवर्तनलाई मौलिक हकमा राख्न नदिन तथा जनमत संग्रहको माग पुरा गर्न दवाव दिने उदेश्यका साथ राप्रपा नेपाललेसंघर्षको कार्यक्रम संचालन गर्ने निर्णय गरेको श्रेष्ठको भनाई छ । बैठकले संबिधान निर्माणको क्रममा केही सिमित राजनैतिक दलहरुले संबिधानसभालाई रबर स्टायम्पको रुपमा प्रयोग गर्ने, अन्तर्वस्तुहरुमा पर्याप्त छलफल गर्न नदिने, नियमावली निलम्बन गर्ने, संबिधान मिच्ने तथा सर्वोच्च अदालतको अन्तरिम आदेशको अवज्ञा गर्ने जस्ता कार्य भैरहेको ठहर गर्दै पार्टीले विधिसम्मत ढंगबाट दर्ता गरेको प्रस्तावलाई समेत छलफलमा ल्याउन नदिइएको भन्दै आपत्ती प्रकट गरेको छ । यस्तै बैठकले संबिधानमा धर्म निरपेक्षता हटाउने विषयलाई वेवास्ता गरी धर्म परिवर्तन गर्न पाउने बिषयलाई मौलिक हकका रुपमा राखेर धर्म परिवर्तनलाई प्रोत्साहित गर्ने कार्य गरिएको समेत ठहर गरेको छ । मस्यौदा समितिले औपचारिक रुपमा मस्यौदा वारे अन्तिम निर्णय गरि सकेपछि रातरात षडयन्त्र पुर्वक मस्यौदामा हेरफेर गरि स्थानिय निकायको चुनाव संबंधिान जारि भए पछि ६ महिना भित्र व्यवस्थालाई हटाईएको र देशको संबधिान पार्टीगत राजनैतिक वाद वा सिद्धान्तका वारे तटस्थ रहनु पर्नेमा समाजवाद आदि जस्ता केही पार्टीहरुको विवादास्पद बिचारलाई संबिधानको अंग बनाउने गरि थप गरिएकाले पार्टीले विरोध गर्ने श्रेष्ठले जानकारी दिए । यसैबीच अध्यक्ष कमल थापाले बैठकमा पेश गरेको राजनीतिक कार्यपत्रमाथि सदस्यहरुले धारणा राख्ने क्रम जारी राखेका छन् । हालसम्म आफ्नो धारणा राख्ने अधिकांश सदस्यहरुले हिन्दु राष्ट्र, राजतन्त्रलगायत विषयले संविधानमा स्थान पाउनु पर्ने भन्दै त्यसका लागि संघर्ष गर्नुपर्नेमा जोड दिएका थिए । थापाको कार्यापत्रमा भूकम्पबाट पिडित भएकाहरुको उद्धार, राहत र पुनस्र्थापनामा सरकारी प्रयास प्रभावकारी हुन नसकेको, संविधानसभामा पार्टीले राखेको फरक मतको सम्मान नभएको, अदालतमा राजनीति हाबी भएको, संविधानको मस्यौदा कुनै निश्चित बैचारिक सिद्धान्त वा दर्शनको धरातलमा खडा भएर तयार नभएको लगायतका विषय उल्लेख गरिएको छ । यस्तो अवस्थामा आगामि दिनका लागि पार्टीको बैचारिक, राजनैतिक एवं सांगठानिक कार्यदिशा प्रभावकारी बनाउने विषयमा कार्यपत्रमा थापाले जोड दिएको बताइएको छ । बैठक भोलिसम्म चल्ने राप्रपा नेपालले जनाएको छ । 

copy http://www.ratopati.com/2015/07/03/244937.html

Write a Comment