रामहरि श्रेष्ठ प्रकरणमा हामीले धेरैचोटि झूठ बोल्यौं
5-July-2015

महेश बस्नेत, उद्योगमन्त्री

झक्कु सुवेदीसँगको चर्काचर्की थामिएपछि मैले हेल्मेट खोलेँ र मोटरसाइकलको लुकिङ ग्लासमा अड्याएँ ।
म रामहरि श्रेष्ठ परिवारलाई परेको विपत्ति हटाउन साथीहरुसँग थप छलफल गर्न चाहन्थेँ । तर, श्रेष्ठ निवासमा बस्ने माहौल थिएन । हामी कोटेश्वर चोकतिर लाग्यौँ । नजिकै एउटा बस रोकिइरहेको थियो । मैले साथीहरुलाई त्यतै लगेँ ।

बसभित्र पुगुन्जेल मेरो आक्रोश मत्थर हुँदै आइसकेको थियो । रिसको झोँकमा मैले हामीबीच महिलामित्रहरु पनि हुनुहुन्छ भन्ने हेक्का गरेको रहेनछु ।

झक्कुसँगको फोन वार्ताले मात्र मलाई त्यस्तो अवस्थामा पुर्‍याएको भने थिएन । जिल्लाका साथीहरुबाट माओवादी नेता-कार्यकर्ताको धाकधम्कीबारे सुन्नुपरिरहँदा मभित्र सल्केको आगोमा रामहरि अपहरणले घ्यू थप्ने काम गरेको थियो ।

सङ्घर्षको योजना र कमिटीको प्रारुप बनाई हामी बसबाट निस्कियौँ । र, तत्काल जुलुस निकाल्यौँ ।
जुलुसको क्रम दिनहुँ चल्न थाल्यो ।

शुरुशुरुमा जुलुसमा पन्ध्र-बीस जना पनि हुँदैनथ्यौँ । दिन बितेसँगै जुलुसले विस्तार पाउँदै गयो । जुलुस श्रेष्ठ निवासबाट कोटेश्वरको मुख्य सडकमा निस्कुन्जेल निकै लामो भइसकेको हुन्थ्यो ।
त्यही विरोध जुलुसलाई प्रयोग गरेर म रामहरि श्रेष्ठको पक्षमा ठूलो सङ्घर्ष गर्ने अठोटमा पुगेँ । आन्दोलन थालिसकेपछि त्यसलाई टुङ्गोमा पुर्‍याएरै छोड्नुपर्छ भन्नेमा दृढसङ्कल्प थिएँ । शायद केटाकेटीदेखिको मेरो जिद्दी स्वभाव रामहरि प्रकरणमा पनि प्रतिविम्बित भएको थियो ।

त्यही जोशमा मैले सोचिसकेको थिएँ- मर्नैपरे मरूँला, तर डराएर, कोहीसँग दबेर बस्दिनँ ।
म माओवादी र त्यसका नेताहरुको विरोधमा झन्झन् उग्र बन्दै गएँ । यद्यपि माओवादीको विरोधमा बोल्नु मृत्युदण्ड पाउनु जस्तै अवस्था थियो त्यो । माओवादीविरूद्ध बोलेकै निहुँमा त्यसको केही समयअघि माओवादीपीडित सङ्घका गणेश चिलवालको बागबजारमा हत्या भइसकेको थियो ।

जतिबेला हामीले रामहरिको पक्षमा बोल्न थाल्दै थियौँ, त्यति बेला उपत्यकाका चोकचोकमा माओवादी अध्यक्षको मुहारचित्र पेन्ट गरिएको थियो र लेखिएको थियो- नेपालका प्रथम राष्ट्रपति !
प्रत्येक सार्वजनिक सवारी साधनका मजदूरहरुले वाईसीएलको लोगो छापिएका टिसर्ट लगाउँथे ।

टोलटोलमा वाईसीएलका क्याम्प थिए । ती क्याम्पमा जोसुकैलाई लैजाने र पिटपाट पार्ने गरिन्थ्यो । यस्तो प्रोपोगान्डा गरेर प्रचण्डको क्रेज बढेको गलत सन्देश प्रवाह गरिँदै थियो । प्रचण्डरुपी मृगतृष्णा मेचीदेखि महाकालीसम्म फैलाइँदै थियो । सोझासीधा नेपाली माओवादीको विरोधमा चुँ गर्न पनि दकस मान्थे ।

हामी दिनभर आन्दोलन गर्थ्यौं भने साँझ सभा । युवा नेता गगन थापा, अखिलका साथीहरु, मानव अधिकारकर्मी सुबोध प्याकुरेल, पत्रकार लगायतलाई पनि सभामा बोलाउँथ्यौँ

कतिसम्म भने, गृहिणीले घरभित्र बसेर पनि माओवादीविरूद्ध बोल्न आँट गर्न सक्दैनथे । नेपाली समाजको माओवादी प्रतिरोधी क्षमताको लगभग अन्त्य भइसकेको थियो ।

आमजनतामा मनोबल नभएकैले माओवादीको हेपाइ चुलिएको थियो । म समाजलाई आँटिलो बनाउन चाहन्थेँ ।

त्यसका लागि हाम्रो सङ्गठनलाई अगाडि बढाउनु अत्यावश्यक थियो । साङ्गठनिक रुपमा आन्दोलन गरे मात्र सोचेको कुरा पुग्न सक्थ्यो । साथीहरुसँग यो सोच सेयर गरेँ । सबैजना उत्साहित हुनुभयो । शुरुको दिन मसँग श्रेष्ठ निवास पुगेका ज्ञानकुमार श्रेष्ठ, दामोदर अर्याल, हस्त पण्डित, रामेश्वर श्रेष्ठ लगायतका साथीहरुले मेरो मनोबल बढाउन थाल्नुभयो ।

त्यसपछि मैले श्रेष्ठ परिवारसँग पनि सल्लाह गरेँ । आन्दोलनको कमिटीमा बस्न श्रेष्ठ परिवारका सदस्यहरुलाई आग्रह गरेँ । तर, उनीहरुले अप्ठयारो माने । उपत्यकामा भएका अधिकांश फास्टफुड रेस्टुराँ श्रेष्ठ परिवारले नै सञ्चालन गरिरहेको थियो । आन्दोलनमा एकोहोरिए व्यवसायमा समस्या आउने सम्भावनाका कारण शायद उनीहरु हच्केका थिए । फेरि, उनीहरुलाई आन्दोलनको महत्वबारे त्यति ज्ञान पनि थिएन ।
००००००
एक-दुई दिन गर्दै रामहरि हत्याविरूद्धको आन्दोलन चर्किंदै गयो । आमजनता हाम्रो पक्षमा गोलबद्ध हुँदै गए । त्यसले मेरो आत्मविश्वास बढाउँदै लग्यो । जुन बेला पनि म आन्दोलनकै विषयमा सोचमग्न हुन थालेँ । कुनै पनि आन्दोलनलाई लामो समयसम्म तन्काउन के गर्नुपर्छ भनेर मैले वैश्विक उदाहरणहरुबारे अध्ययन गर्न थालेँ । गुगल गरेर राम्रा साइटमा भेटिएका उपयोगी बुँदाहरुलाई टिपोट गर्दै आन्दोलनमा प्रयोग गर्न थालेँ ।

यो सचेतता यस कारण पनि आवश्यक थियो, एमालेले गरेका विगतका आन्दोलनहरु बीचैमा तुहिने गरेका थिए । लाउडा प्रकरण, मदन-आश्रति हत्या जस्ता महत्वपूर्ण आन्दोलनहरु शुरुआती जोश अन्तिमसम्म कायम हुन नसकेका कारण असफल भएका थिए । या, सम्झौतामै टुङ्गिएका थिए ।
एकातिर हामी कोटेश्वरमा रहेका सबै सङ्घसंस्था, घर, पसल चहारेर आन्दोलनमा समर्थन माग्दै थियौँ भने, अर्कातिर रामहरिकै परिवारजन चाहिँ त्यस्तो मुखर रुपमा अझै अगाडि आइसकेका थिएनन् । आन्दोलनमा एकोहोरिए व्यवसाय लथालिङ्ग हुन सक्ने डर थियो उनीहरुलाई शायद ।

उता, माओवादी नेताहरुले पनि आन्दोलन शुरु भएको केही दिनदेखि नै श्रेष्ठ परिवारलाई धम्की दिन थालेका थिए । “तिमीहरुले आन्दोलन स्थगित गरेनौ भने फेरि त्यही घरमा अर्को नराम्रो काण्ड हुन सक्छ ।”

रामहरिकी श्रीमती रमिलाले माओवादीहरुका धम्की मलाई सुनाउने गर्नुहुन्थ्यो, “यस्तो आन्दोलन गरेर तिमीहरुले हामी जस्तो ठूलो पार्टीको केही लछार्न सक्दैनौ ।”

म रमिलाजीलाई सान्त्वना त दिन्थेँ, तर माओवादी ध्वाँसका कारण आन्दोलन नै तुहिने पो हो कि भन्ने चिन्ताले मलाई सताउँदै थियो । शुरुका दिन रमिलाजी मेरा कुरामा विश्वास गर्नुहुन्नथ्यो । युवा सङ्घकै सदस्य विमलाजीलाई पनि आन्दोलनले उचाइ प्राप्त गर्ला भन्नेमा विश्वास थिएन शायद ।
यसमा शायद मेरो लो प्रोफाइलले काम गरेको थियो । आमजनता भर पर्न सक्ने छवि बनिसकेको थिएन मेरो । युवा भएकाले पनि मेरो सामथ्र्यमाथि प्रश्न उठ्दै थियो । युवा सङ्घकै केही प्रतिनिधिसमेत हाम्रो समर्थनमा हुनुहुन्नथ्यो । यसले पनि समाजमा हामीप्रति शङ्का बढाउँदै थियो ।
तर, मेरो र मेरा केही साथीको विश्वास रौँजति पनि डगमगाएन ।

०००००००
आन्दोलनले एउटा स्वरुप पाउन थालेपछि रामहरि श्रेष्ठको परिवारले पनि हामीलाई पूर्ण रुपमा सहयोग गर्न थाल्यो । श्रेष्ठ परिवारले माओवादी नेताहरुको धम्कीलाई पनि बेवास्ता गर्न थाल्यो ।
ज्ञानकुमारजीले आन्दोलनको नेतृत्वका लागि आवश्यक भूमिका बढाउँदै र निखार्दै लैजानुभयो । रमिलाजीले पनि आफ्ना कुरा राख्न थाल्नुभयो । दिनभर कतिबेला, कोसँग के बोल्ने भन्ने हामी उहाँलाई बिहानै सिकाउँथ्यौँ ।

रामहरि र रमिलाजीका छोराछोरीलाई पनि हामीले धेरै कुरा सिकायौँ । छोरा रोमन सानै भए पनि चलाख थियो । सिकाएका कुरा टपक्क टिप्थ्यो । अनि हामीले आयोजना गरेका सभाहरुमा भन्ने गथ्र्यो, “प्रचण्ड अङ्कल ! मेरो बाबालाई मारेर पैसाले क्षतिपूर्ति दिन्छु भन्नुभयो । म पनि हजुरलाई मारेर हजुरको छोरालाई अङ्कलहरुसँग मागेर पैसा दिन्छु नि, हुन्छ ?”

 

सानो बालकको यस्तो कुराले आमजनताको हृदय नछुने कुरै थिएन । उता, रमिलाजीले पनि छोटो समयमै वाक्कलामा निखार ल्याउनुभयो ।

आन्दोलनका समर्थकहरुको सङ्ख्या बढ्दै थियो । हामीले थप बीस-पच्चीस वटा कमिटी बनायौँ । ती कमिटीका संयोजक र सदस्यहरुले आफ्ना नजिकका दुई-चार जना बोलाउँदा पनि आन्दोलनमा चार-पाँच सय मानिसको उपस्थिति हुन थाल्यो । हाम्रो मनोबल बढ्दै गयो ।

हामी दिनभर आन्दोलन गर्थ्यौं भने साँझ सभा । युवा नेता गगन थापा, अखिलका साथीहरु रामकुमारी झाँक्री, ऐन महर, माधव ढुङ्गेल, कृष्णहरि केसी, मानव अधिकारकर्मी सुबोध प्याकुरेल, पत्रकार लगायतलाई पनि सभामा बोलाउँथ्यौँ । स्थानीय हरि बस्नेत, हीरा पोखरेल, नवराज पराजुलीको पनि हामीलाई साथ थियो ।

आन्दोलन सफल हुँदै जानुको अर्को कारण श्रेष्ठ परिवार र हामीबीचको अघोषित सहकार्य थियो । श्रेष्ठ परिवार अन्यायमा परेको थियो, न्याय चाहन्थ्यो । त्यसैले, आन्दोलनमा थियो । हामी माओवादीको आतङ्क अन्त्य गर्न चाहन्थ्यौँ ! त्यसैले हामी आन्दोलनमा थियौँ । अघोषित भए पनि आन्दोलन भएकाले हामीले एकअर्कालाई ठूलो सहयोग र साथ दिएका थियौँ ।
०००००
माओवादी अध्यक्ष प्रचण्डले आउँदा आउँदै त्यहाँ भावनात्मक कुरा गरे । उनीसँग हितमान शाक्य पनि थिए ।

केहीपछि उनले भने, “ल, यी पाँच कुरामध्ये बीस लाख दिइहाल्छौँ । शहीद भन्ने, न्यायिक आयोग गठन गर्ने भन्नेमा नलागौँ ।”

प्रचण्डका यस्ता कुरा सुन्दा मलाई आश्चर्य लाग्यो । एउटा पार्टीसँग त्यति धेरै रकम होला भन्ने मैले सोचेको पनि थिइनँ । तर, अन्य कुरामा सहमति नभएपछि हामी त्यो दिन वार्ताबाट हिँडयौँ ।

माओवादी अध्यक्ष प्रचण्डलाई मैले नजिकबाट देखेको त्यही पहिलो थियो । उनको वाक्पटुता र चतुरे स्वभाव देखेर म छक्क परेँ । वार्तामा बस्दा पहिले अर्को समूहमाथि ‘इमोसनल एटयाक’ गर्दा रहेछन् उनी ।
००००
माओवादी शान्ति प्रक्रियामा आइसकेपछि ऊविरूद्ध गरिएको पहिलो आन्दोलन थियो यो । हामीले त्यसलाई संस्थागत गर्न खोजेका थियौँ । त्यसैले, आन्दोलन बीचैमा रोकेनौँ । हाम्रो आन्दोलनले एउटा बाटो देखाइसकेको थियो । आमजनताले माओवादीविरूद्ध पनि आवाज उठाउन सकिन्छ भन्ने बुझ्न थालेका थिए ।

त्यसमाथि माओवादीमा एउटा समूह थियो, जो नेतृत्वप्रति सन्तुष्ट थिएन । त्यस्ता मानिसहरु हाम्रो सम्पर्कमा आउन थाले । उनीहरुले माओवादीलाई परास्त गर्न हामीलाई विभिन्न सूचना दिन थाले । वाईसीएलको क्याम्पमै रहेका केही युवा हामीप्रति आकषिर्त भइसकेका थिए । उनीहरु युवा सङ्घमा आउन चाहन्थे, तर हामीले रोक्यौँ । हामीलाई युवा सङ्घलाई अझ सशक्त रुपमा बचाउनका लागि उनीहरु वाईसीएलमै भएको ठीक थियो । उनीहरु वाईसीएलमै हुँदा हामीले निकै महफ्वपूर्ण गोप्य सूचना पाइरहन सम्भव हुन्थ्यो ।

फेरि, रामहरि हत्याविरूद्ध गरेको आन्दोलनका कारण माओवादी एमालेप्रति बढी नै आक्रोशित भयो । वाईसीएलले युवा सङ्घका कार्यकर्ता तथा समर्थकलाई आक्रमण त गरिरहेकै थियो, आन्दोलनपछि त्यो झन् बढ्न थाल्यो । माओवादी कार्यकर्ताका जघन्य आक्रमणबारे देशभरका साथीहरुले सुनाउँदा आङ नै जिरिङ्ङ हुन्थ्यो ।

रामहरि हत्याविरुद्धको आन्दोलनमा हामीले एक किसिमको सफलता पाए पनि हाम्रो नेतृत्व अझै पनि माओवादीसँग डराइरहेको थियो । नेतृत्वलाई माओवादीविरूद्ध आन्दोलन गर्न सकिएला भन्ने लागेकै थिएन । युवा सङ्घको नेतृत्व यो विषयमा झन् गम्भीर थियो । युवा सङ्घका नेताहरुले त्यस्ता कार्यक्रम तत्कालै रोक्नुपर्ने र राजनीतिक निकास खोज्नुपर्ने भन्न थाल्नुभएको थियो ।

हामीमाथि अर्को दबाव पनि थियो । माओवादी र एमालेको संयुक्त सरकार भएकाले एमालेका नेताहरु आन्दोलन रोकियोस् भन्ने चाहनुहुन्थ्यो । उहाँहरु पनि माओवादीविरूद्धको आन्दोलनमा हामीले सफलता पाउनै नसकिने धारणा राख्नुहुन्थ्यो ।

नेतृत्वको एउटा पक्षले भने हामीलाई प्रोत्साहन गरिरहेकै थियो । त्यसमा अग्र पङ्क्तिमा हुनुहुन्थ्यो कमरेड केपी ओली । हामी भेट्न जाँदा उहाँ आफ्नो युवावस्थाका किस्सा सुनाउनुहुन्थ्यो । विभिन्न जेलमा पाएका चरम यातनाका कथाहरु भन्नुहुन्थ्यो । ती कथा सुनेपछि हामीमा अझ जोश पलाउँथ्यो ।

यी दुई धारणाका कारण बिस्तारै युवा सङ्घमा पनि दुई कित्ता हुन थाल्यो । एक थरी साथीहरु हाम्रो पक्षमा हुनुहुन्थ्यो भने अर्का थरी विपक्षमा ।

०००००

ज्ञानकुमारजी अन्तर्वार्तामा अत्यन्त व्यस्त हुन थाल्नुभयो । दुई-चार वटा रेडियोले एकै पटक फोन गर्न थाले । त्यस्तो हुँदा अन्तर्वार्तामा मैले र दामोदर अर्यालले बोल्ने गर्‍यौँ, ज्ञानकुमारजी भएर

हामीले ज्ञानकुमारजीलाई रामहरिको आफ्नै दाजु भनेर एउटा झूट बोलेका थियौँ । तर, त्यो झूट समयको आवश्यकता थियो । आमजनतालाई माओवादी ज्यादतीविरूद्ध त्यति बेला सडकमा नल्याएको भए शायद हामीले धेरै पछिसम्म पनि झन् धेरै समस्या भोग्नुपर्ने थियो ।

त्यति मात्र हैन, हामीले त्यो आन्दोलनलाई सफल बनाउन अरु दर्जनौँ झूट बोलेका थियौँ । देशका विभिन्न रेडियो ज्ञानकुमारजीसँग अन्तर्वार्ता लिन फोन गर्थे । ज्ञानकुमारजी अन्तर्वार्तामा अत्यन्त व्यस्त हुन थाल्नुभयो । दुई-चार वटा रेडियोले एकै पटक फोन गर्न थाले । त्यस्तो हुँदा अन्तर्वार्तामा मैले र दामोदर अर्यालले बोल्ने गर्‍यौँ, ज्ञानकुमारजी भएर ।

ज्ञानकुमारजी र म दुवैले एकसाथ दुइटा रेडियोमा पनि एउटै मानिस भएर अन्तर्वार्ता दियौँ । त्यतिबेला आमजनताले मलाई चिनेका थिएनन् । पार्टीका काममा धेरै नदेखिएकाले मेरो अनुहार कसैले हेक्का राखेको थिएन । त्यसको फाइदा हामीले त्यति बेला उठायौँ ।

हो, हामीले यस्ता विषयमा जे गरेका थियौँ, ती कुरा कुनै पनि अर्थमा पाच्य थिएनन् । तर, त्यो समयको माग थियो । हामीले यस्तो आइडिया नलगाएको भए शायद वाईसीएल क्याम्पहरु अरु दर्जनौँ ठाउँमा स्थापित हुने थिए । अरु विभिन्न ठाउँमा माओवादीले झन् धेरै धम्की दिने थियो ।

त्यो आन्दोलनपछि समस्या लिएर युवा सङ्घमा आउने मानिसको सङ्ख्या बढ्दै गयो । काङ्ग्रेसले पनि त्यति बेला चुपचाप माओवादीको आतङ्क सहनुपरेको थियो । विभिन्न जिल्लाबाट काङ्ग्रेसका मानिसहरु पनि त्यस्ता समस्या लिएर हामीकहाँ आउन थाले । युवा सङ्घ त्यस्ता सबै समस्यालाई सम्बोधन गर्न सक्ने स्थितिमा पुगिसकेको थिएन ।

तर, यसले पार्टीभित्र एउटा विशेष बहस शुरु गर्‍यो । युवा सङ्घभित्रै पनि यस्तो विषयबारे झन् धेरै चर्चा हुन थाल्यो । माओवादी आतङ्क र ज्यादतीलाई जसरी हुन्छ अन्त्य गर्नुपर्ने आवाज उठ्न थाल्यो । त्यसका लागि सैनिक संरचनाका साथ नयाँ कुरा गर्ने कि भन्ने बहस पनि शुरु भयो ।

http://www.onlinekhabar.com/

Write a Comment

Events
Random Picks