घरदैलोमा भोट हाल्न सिकाउँदै थापा ; जन्मगाउँ पुगेर भावुक भए देवराज
14-November-2017

जन्मगाउँ पुगेर भावुक भए देवराज 


‘म जन्मेको ठाउँ यही हो । ५ सय मिटरमाथी मेरो पूरानो घर छ । मसँगै बाल्यकालमा खेलेका साथीहरु यतै छन् । खुब सम्झिन्छु मेरो गाउँ ।’ चुनावी प्रचारका लागि जन्मगाउँ सिमलटुँडा पुगेका काँग्रेसका प्रतिनिधीसभा सदस्य उम्मेदवार देवराज चालिसेले भावुक हुँदै आफ्ना गाउँलेसँग दुखसुख साँटे । विगत सम्झिए र भविष्यबारे चिन्ता गर्न गाउँलेसँग अनुरोध गरे ।  


‘म खेलेको ठाउँ यही हो । बाल्यकाल यहीँ विताएँ । यो माटोको सुगन्ध पनि मलाई थाहा छ, उनले भने–यति नजिकको प्रतिनिधी कहिल्यै पनि पाउनुहुन्न । मन र भावना जोडिएको प्रतिनिधी भएकाले यसपाली मलाई भोट हाल्दिनुहोला ।’ चालिसेले मंगलबार पोखरा १७ को सिमलटुँडामा घरदैलो गरे । ‘जुनसुकै समस्या परेपनि भन्न मिल्छ । त्यति अधिकार तपाईँहरुसँग छ । म प्रतिनिधी होईन तपाईँहरुको भाई छोरो हो, घरदैलोका क्रममा उनले भने–टाढाको प्रतिनिधी होईन नजिकको आफ्नो भाईछोरा खोज्नुपर्ने र रोज्नुपर्ने बेला आयो । त्यसैले रुखमा भोट हाल्दिनुहोला ।’ 


चालिसेले त्यस क्षेत्रमा विद्यमान सबै समस्या समाधान गर्ने प्रतिबद्धता पनि जनाए । यहाँका अधिकांश नागरिकहरु लालपुर्जा विहिन छन् । त्यसैले बल्लबल्ल बनाएका टहरामा खानेपानी र विजुलीका लाईन पनि जोड्न पाएका छैनन् । घरगाउँ डुलेर चालिसेले भने–कोही पनि नागरिक भूमिहिन बन्नुपर्दैन । हाम्रै अध्यक्ष भएको बेला दिएको जमीन हो । जनतालाई लालपुर्जा पनि हामी दिलाउनेछौं । तर भोट हाल्ने बेला आफ्नो भाग्य र भविष्यलाई हेर्नुहोला ।’ 


उनले जनतासँग भएको श्रम र समयलाई उच्चतम उपयोग गर्दै रोजगारी सिर्जनामा आफ्नो जोडवल रहने प्रतिबद्धता जनाए । ‘हाम्रा भोटहरुले सपनाको प्रतिनिधित्व गरोस् । हाम्रा प्रतिनिधी इमान्दार बनुन्, सबैको चाहाना त्यही हुन्छ, उनी थप्छन्–सुखद भविष्यको यात्रा गर्ने प्रतिनिधी छान्ने अधिकार तपाईँको हातमा छ । अधिकार सही ठाउँमा प्रयोग गर्नुस्, भविष्यमा दुख भोग्नुपर्दैन ।’ चालिसेले सोमबार पोखरा ११ फुलवारी र काहुँका विभिन्न क्षेत्रहरुका जनतासँग पनि भेटघाट गरेका थिए । 

घरदैलोमा भोट हाल्न सिकाउँदै थापा


“युवा पलायन रोक्नुपर्छ । कृषिलाई व्यवसायिकरण गर्दै आत्मनिर्भर बनाउनुपर्छ ।” घरदैलो अभियानमा पोखरा महानगरपालिका वडा नं ११ फुलबारी पुगेका नेपाली काँग्रेस प्रतिनिधि सभा क्षेत्र नं २ (प्रदेश) ख सदस्यका उम्मेदवार विन्दुकुमार थापाले भने–“पुरानै अवस्थामा रहँदा आयआर्जन हुन सक्दैन् । आयआर्जन नहुदाँ आत्मनिर्भर बन्न सकिदैन् ।”


रोजगारको लागि युवाहरु विदेशीक्रमलाई रोक्ने तर्फ आफनो उम्मेदवारी भएको उल्लेख गरे । “कृषिलाई व्यावसायिकरण गर्ने काँग्रेसको एजेण्डा हो ।” उनले थपे–“युवापुस्तालाई कृषि उत्पादनको लागि व्यवसायिक तालिम समेत दिनुपर्ने अहिलको आवश्यकता पनि जसले स्वरोजगार बन्न प्रेरित गर्छ ।” उनले सिटिईभिटी मार्फत युवापुस्ताले चाहे अनुसारको आयमुलक तालिम प्रदान गर्दै स्वरोजगार बनाउने उदघोष गरे । 
पश्चिमाञ्चल क्षेत्रीय क्षयरोग केन्द्रबाट आफनो घरदैलो अभियान शुरु गरेका थापाले मनिपाल शिक्षण अस्पतालको परिसरसम्म पुगे । बयोबृद्धादेखि खेतमा काम गरिरहेका सर्वसाधारणसँग रुखमा भोट माग्न व्यस्त बने । प्रत्येक घरभित्र छिरेर भलाकुसारी गरे । उनीसँगै घरदैलोमा पुगेका कार्यकर्ताले रुखमा भोट हाल्ने तरीका सिकाईरहेका थिए । त्यसमा थापा पनि सहभागी थिए । 


“भोट मात्रै माग्ने होईन । फोटोसहितको कागज दिएर हुदैन्, भोट हाल्ने तरीका पनि सिकाउनुपर्छ ।” घरदैलोकै क्रममा फुलबारीका स्थानीय बासिन्दाले भने–“भोट हाल्न नसिकाउँदा चुनावको अर्थै भएन ।” कार्यकर्ताले पनि मतदाता शिक्षाको लागि स्वयंसेविका आउने भन्दै रुखमा भोट हाल्ने तरीका भने सिकाईदिए ।