एउटै गाउँपालिकाका दुई उम्मेदवार बलबहादुर र हेमकुमार, प्रतिस्पर्धा रोचक
15-November-2017


जकसन डटकम
सोलुखुम्बु, ३० कात्तिक

सोलुखुम्बबाट प्रतिनिधिसभा चुनावमा नेचासल्यान गाउँपालिकाका नेताबिच कडा प्रतिस्पर्धा हुने देखिएको छ । कांग्रेसका उम्मेदवार बलबहादुर केसी र वाम गठबन्धनका उम्मेदवार हेमकुमार राई दुवै नेचासल्यान गाउँपालिकाका हुन् । बलबहादुर नेचासल्यान गाउँपालिका–२ का बासिन्दा हुनुहुन्छ भने हेमकुमार नेचासल्यान–४ का बासिन्दा हुनुहुन्छ । एउटै गाउँपालिकाबाट दुई नेता प्रतिनिधिसभाको प्रतिस्पर्धामा रहेकाले मतदाता समेत अन्यौलमा परेका छन् । कांग्रेस केन्द्रीय सदस्य बलबहादुर केसीलाई हराउन वाम गठबन्धनलाई सकश पर्ने एक थरीको विश्लेषण छ भने जिल्लामा वाम गठबन्धन बलियो भएकाले वाम गठबन्धनकै सम्भावना बलियो रहेको अर्को थरीका व्यक्तिहरुको आँकलन छ । 

जिल्लाका लागि पुरानो अनुहारका रुपमा परिचित बलबहादुरसगँको प्रतिस्पर्धामा गठबन्धनबाट नौलो अनुहारलाई अघि सार्नुले पनि चुनाव थप रोचक हुने देखिएको छ । पटक पटक सोलुखुम्बुबाट विजयी भई मन्त्री समेत बनिसकेका  केसीसँग हेमकुमार राईको प्रतिस्पर्धाले टोलटोलदेखि मेलापातमा समेत चर्चा पाएको छ । वाम गठबन्धन र नेपाली कांग्रेसबिच हुने प्रतिस्पर्धालाई मतदाताले चासोको रुपमा लिएका छन् । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा सोलुखुम्बुबाट ६९ हजार ४ सय ११ मतदाताले आफ्नो मताधिकार प्रयोग गर्दैछन् ।

तर स्थानीय तहको चुनावलाई आधार मान्ने हो भने कांग्रेस नेता बलबहादुर भन्दा गठबन्धनका उम्मेदवार हेमकुमार ८ हजार ९८१ मतले अगाडि देखिनु हुन्छ । जिल्लाको आठवटा स्थानीय तहमा एमाले र माओवादी केन्द्रले २१ हजार ६९९ मत प्राप्त गरेका छन् भने कांग्रेसको मत १२ हजार ७१८ मात्र छ । यद्यपी पटक पटक सोलुखुम्बुबाट विजयी हुँदै आएका केसीलाई पराजित गर्न हेमकुमारलाई पनि फलामको चिउरा चपाउनु सरह देखिन्छ । 

Write a Comment

Events
Random Picks