कास्कीका उम्मेदवार गाउँ केन्द्रित, ‘विकासको लहर’ ल्याउने आश्वासन
27-November-2017


जकसन डटकम
पोखरा, ११ मंसिर

मंसिरमा २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको रौनक शहरभन्दा गाउँ केन्द्रित भएको छ । कास्कीमा दलहरु निर्वाचनको परिणाम आफ्नो पक्षमा पार्ने कसरतमा गाउँका मतदाता रिझाउन जुटेका छन् । मतदाता रिझाउन कास्कीका उम्मेदवार गाउँ केन्द्रित भएका हुन् । सडक, खानेपानी, शिक्षा, स्वास्थ्य र पर्यटकीय स्थल बनाउने प्रतिबद्धताका साथ उम्मेदवारहरु मतदातासमक्ष मतको याचना गरिरहेका छन् ।

मतदाता भने जनताका समस्या क्षणभरमै समाधान गरिदिने ‘गुलिया’ आश्वासनभन्दा विकास गर्ने नेताको खोजीमा छन् । उम्मेदवारहरु सिक्लेस, पार्चे, सिल्दुजुरे, घान्द्रुक, धम्पुसलगायत पर्यटकीय केन्द्रका साथै अति विकट क्षेत्रमा पुगेर मतदातासँग भोट मागिरहेका छन् । गाउँमा पुग्ने सडक संजाल निकै दयनीय भए पनि निर्वाचन जित्ने अभिलाषाले उनीहरुलाई दूरदराजका गाउँमा र्डोयाइरहेको छ । उमेरले पाका भएका मतदातासामु उम्मेदवारले उनीहरुसँग आशीर्वाद दिनुहोस्, तपाईको वृद्धभत्ता दोब्बर बढाउनेदेखि घरमै उपलब्ध गराउने र विकासको लहर ल्याउँछौ भन्दै आश्वासन बाँडिरहेका छन् ।

यता मतदाता भने कुन दलको कुन उम्मेदवारलाई भोट दिने भन्ने अन्यौलमा छन् । जुन दलका उम्मेदवार गएपनि मतदाता उनीहरुको पछि देखिन्छन् । मीठा भाषण सुन्छन्, नाचगानमा रमाउँछन् र सबैलाई जीतको शुभकामना दिएर फूलमालासहित बिदाइ गर्छन् ।

यसैक्रममा नेपाली काँग्रेसबाट कास्की १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार तथा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री रहेका यज्ञबहादुर थापा संविधान कार्यान्वयन र लोकतन्त्रको रक्षाका लागि काँग्रेसको जित जरुरी रहेको बताउँछन् ।

नेकपा एमाले कास्की क्षेत्र २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रवीन्द्र अधिकारी पनि स्थायी सरकारसँगै विकासका लागि वामगठबन्धनको जित आवश्यक रहेको दावी गर्छन् । कास्कीमा प्रतिनिधिसभाको ३ र प्रदेशसभाको ६ सीटका लागि ९५ जना उम्मेदवार चुनावी मैदानमा छन् । यद्यपि, मुख्य प्रतिस्पर्धा भने काँग्रेस र वाम गठबन्धनबीच नै हुने देखिन्छ ।

Write a Comment

Events