निर्वाचन आयोगद्वारा एमालेसहित पाँचवटा दैनिक पत्रिकालाई स्पष्टीकरण पेश गर्न निर्देशन (हेर्नुस: विज्ञप्ति सहित)
28-November-2017

निर्वाचन आयोगद्वारा एमालेसहित पाँचवटा दैनिक पत्रिकालाई स्पष्टीकरण पेश गर्न निर्देशन (हेर्नुस: विज्ञप्ति सहित)

 

काठमाडौं – निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनका सन्दर्भमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)  लगायत पाँचवटा दैनिक पत्रिकालाई २४ घण्टा भित्र स्पष्टिकरण पेश गर्न निर्देशन गरेको छ ।

आयोगका अनुसार निर्वाचन आचारसंहिता विपरित कान्तिपुर, अन्नपूर्ण पोष्ट, नयाँ पत्रिका,  नागरिक र राजधानी दैनिकलगायतका पत्रिकामा पार्टी अध्यक्ष के.पी. शर्मा ओलीको तस्वीरसहित पार्टीको निर्वाचन चिन्हमा मतदान गरौं भनी विज्ञापन प्रकाशित गरेकोले २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न नकेपा एमालेलाई निर्देशन दिएको  जनाएको छ । 

आयोगद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘आसन्न प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनको सन्दर्भमा निर्वाचन आयोगबाट लागू गरिएको निर्वाचन आचारसंहिता, २०७२ को दफा ५ को खण्ड (ख१) को उपखण्ड (२) विपरित मिति २०७४।०८।१२ गतेका कान्तिपुर, अन्नपूर्ण पोष्ट, नयाँ पत्रिका, नागरिक र राजधानी दैनिक लगायतका पत्रिकामा तहाँ पार्टीका अध्यक्ष श्री के.पी. शर्मा ओलीज्यूको तस्वीरसहित पार्टीको निर्वाचन चिन्हमा मतदान गरौं भनी विज्ञापन प्रकाशित भएको विषयमा आयोगको ध्यानाकर्षण भएको छ । उक्त कार्य निर्वाचन आचारसंहिता विपरित भएको देखिँदा यहाँलाई कारवाही हुनु पर्ने हो, होइन ? पत्र प्राप्त भएको मितिले २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्नुहुन अनुरोध छ ।’

पाँचवटा दैनिक पत्रिकालाई स्पष्टीकरण पेश गर्न निर्देशन

निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनका सन्दर्भमा निर्वाचन आचारसंहिता विपरित कान्तिपुर, नागरिक, अन्नपूर्ण पोष्ट, नयाँ पत्रिका र राजधानी दैनिकले नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष के.पी. शर्मा ओलीको तस्वीरसहित उक्त पार्टीको निर्वाचन चिन्हमा मतदान गरौं भनी विज्ञापन प्रकाशित गरेको विषयमा २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न ती दैनिक पत्रिकाहरुलाई निर्देशन दिएको जनाएको छ । 

Soyrce : Ratopati.com 

Write a Comment